राती करिब एघार बजेको हुँदो हो, घरको तल्लो तलामा बाँधिएका याक, चौरी, झोँपाका घाँटीमा बाँधिएका घण्टी बज्न थाले।
चार दिनसम्मको हिडाइले थिलोथिलो भएकी ल्हाक्पालाई यो आवाजले बिथोलेन। साँझ खाएको रक्सीले काका पनि मस्त निद्रामा थिए। आमा र पेमा भने यतिबेलासम्म पनि जागै थिए।
पुर्ने नजिकिदै थियो। सफा आकासबाट झरेको जून कुताङमा निस्फिक्री सयर गरिरहेको थियो।
आँगनमा केही चित्र लामो छाया बनाएर सल्बलाउन थाल्यो। खस्याकखुसुक, कल्याङमल्याङ, धद्याङधुदुङ आवाज माथिल्लो तलासम्म आयो। फेरि बन्द भयो।
आँगनबाट माथिल्लो तला जोड्न भर्याङको पुल थियो। एकैछिनमा चटक्चटक् भर्याङ बज्यो। घरक्क ढोला खुल्यो। पेमा लग्लग काँप्दै आमातिर लपक्क टाँसिई।
माथिल्लो तलाको अँगेनुनेर काका सुतेका थिए। उनको आडैमा पेमाका आमा छोरी सुतेका थिए। सबैभन्दा छेउमा ल्हाक्पा थिई।
पहिले कहिलेकहीँ बहिनी पेमासँग काकाको घरमा सुत्न आउँदा पनि यसरी नै ओछ्यान मिलाइएको हुन्थ्यो।
ल्हाक्पा सपना पनि देख्न नसक्ने गरी गहिरो निद्रामा थिई।
छ जना लाठेहरुले घर घेरा हालिसकेको उसले थाहा पाउन सकिन। एक, दुई गर्दै पाँच जना ठिटाहरु घरभित्र छिरेको पनि पत्तो पाइन। एक्कासी आवाज आयो, उठ ल्हाक्पा। अनि सुरु भयो होहल्ला। पेमा आमाको खोकिलामा लपक्कै थिई, थरथर काँपिरहेकी थिई। जिब्रो भित्र दबिसकेको थियो।
बोलाउँदासम्म थाहा नपाएकी ल्हाक्पाको ज्यानमा जब कसैको हात पर्यो, झसंग भएर व्युँझी। जुरुक्क उठी। आँखा खुल्न मानिरहेको थिएन। वरिपरि नचिनेका युवाहरु तैनाथ थिए । के हुँदै छ यहाँ, को हुन् यिनीहरु केही बुझ्न सकिन।
‘हामी तिमीलाई लिन आएको’ एउटाले भन्यो।
‘लौ हिड छिटो’ अर्कोले भन्यो।
‘ओई, समातेर तान् न किन ढिलो गरिरहेको ?’ आँगनबाट आवाज आयो।
ल्हाक्पा केही सोच्न, केही बोल्न नसक्ने अबस्थामा थिई।
एक्कासी दुई जनाले दुईहात समातेर जुरुक्क उठाए। अर्को एकजनाले दुवै खुट्टा क¥यापकुरुप पारेर समात्यो। अरु दुई जनाले काँध हाले। उ मडारिन थाली। हात, खुट्टा ठिटाहरुको नियन्त्रणमा थियो। तैपनि सकेको बल गरेर उफ्रिई, बटारिई। साइकल चलाउँदा झै खुट्टा तान्ने र खुम्च्याउने गरी। हात पनि तान्ने र खुम्च्याउने गरी। कपाल भत्किएर आफैलाई अल्झाइरहेको थियो । जोडबलले ठिटाहरु एकतिछ लतारिए र भुइँभरि पसारिए।
घरभित्र धेरैबेर ठूलै लडाईँ भयो। होचो र साँगुरो घर। भाँडाकुँडा गल्र्यामगुर्लुम, ओछ्यानका लुगा लतारपतार भए। जताततै ठोकिएर टाउको, ज्यान जताततै दुख्न थाल्यो । फेरि पहिले झैँ समातेर नियन्त्रणमा लिए।
काका, काकी, बहिनी ओछ्यानबाटै तमासा हेरिरहेको उसले देखी । काका, मलाई बचाउनू, लौ न काकी मलाई बचाउनू, पेमा, आऊ न बचाऊ भन्दै चित्कार्दै थिई।
‘ओई, नसकिने भयो। डोरी ले ले’ एउटा करायो।
डोरी लिएर अर्को आयो। उसको दुवै खुट्टा डोरीले टनटनी बाँधियो। हात पनि डोरीकै नियन्त्रणमा। अब चल्मलाउन नसक्ने भई। धेरैबेरको लडाइँले ल्हाक्पा थाकिसकेकी पनि थिई।
उसलाई आँगनमा झार्दा भर्याङबाट धन्नै सबैजना गल्र्यामगुर्लुम लडेका।
आमा र बुबाको नाममा चिच्याई। काका र काकीलाई बोलाउँदै चिच्याई। दाइ र भाउजूलाई बोलाउँदै चिच्याई। तर उसलाई बचाउन कोही आएन। उसलाई सान्त्वना दिन कोही देखा परेन। उसको चित्कार सबैले सुनेका थिए। तर सहायता दिन कोही जुटेनन्।
उ परिबार हुँदाहुँदै पनि एक्लो बनी, गाउँले छँदाछँदै पनि निरिह बनी, साथीहरुको माझमा असहाय बनी।
जिब्रो छोटो भएर घाँटीतिरै दबिए जस्तो भयो। ह्वाँह्वाँ आवाज मात्र आयो। केहीबेरमा एउटी अबोला नारीको चित्कार कुताङबाट बिलायो।
मध्यरातमा कुताङ जागै थियो। के भइरहेको थियो भनेर सबै जानकार थिए। तर एउटी चिच्याइरहेकीलाई बचाउन, गुहार मागिरहेकीलाई साथ दिन ल्हाक्पाको आँखाअघि एकजना पनि देखा परेन।
गाउँलेले बुझेका थिए आज पनि कुताङमा त्यही भयो, जुन हिजो, अस्ति र सँधै भइरहेको थियो, भोलि पनि भइरहन्छ।
उसले सम्झी, यो गाउँका घरघरमा हिजोका दिनमा यसरी नै लुटेर ल्याएका आमा, हजुरआमाहरु छन्। कुनै घरमा यस्तै पिडा ताजा छ, कुनै घरमा बासी। यो घटना आफूलाई मात्र होइन, भनेर एउटा मनले चित्त बुझाइरहेको थियो, भने अर्को मनले पैत्रिक घर बनाउने सपना। इजराइलको कमाइ, काठमाडौँमा एउटा राम्रो घडेरी किन्ने, बिजनेस गर्ने योजना थियो। दोस्रो कुराले उनको मनमा शान्ति दिएन।
गाउँका दिदीबहिनी, साथीहरुले यसरी नै गुहार माग्दा उसले पनि मद्धत गरेकी थिइन। मद्धत गर्नुपर्छ भनेर उसलाई बाआमा, दाजुभाइ, दिदीबहिनीले पनि सिकाएका थिएनन्। साथीसंगीले पनि यसरी अपहरण हुनेलाई बचाउनु पर्छ भनेर योजना बनाएका थिएनन्। त्यसैले आफूलाई दुख पर्दा कोही आएनन् भन्ने उसले महशुस गरी।
युवाहरु भने विजय उत्सव मनाइरहेका थिए। अट्टहास हाँसिरहेका थिए, कराइरहेका थिए। यो गाउँकी केटीलाई हामीले लग्यौँ भनेर गाउँले सबैलाई थाहा दिदै थिए। मस्त निद्रामा परेको मौका छोपेर एउटा युवतीको जिन्दगीमाथि धावा बोलिएको थियो। नचाहेको, नचिनेको मान्छेले उसलाई लुट्दै थियो। उसको स्वतन्त्रता जबर्जस्ती खोसिँदै थियो। हातखुट्टा बाँधिएर ऊ चुपचाप सहिरहेकी थिई।
यो उमेरसम्म आउँदा यस्ता थुप्रै घटना उसले देखेकी थिई। सँधै अरुलाई परेको घटनामा जिब्रो मात्र टोक्थी। यस्तो बेला कसरी बच्ने भनेर सोच्ने उसको उमेर भएको थिएन। त्यतिबेला साथीहरु जस्तै उ पनि अरुलाई मात्र परेको हो, आफूलाई त नपर्ला भन्ने सोच्थी।
. . .
इजराइलमा पाँच बर्ष बस्दा ल्हाक्पाले धेरै कुरा बुझिसकेकी थिई। नेपालमा महिला राष्ट्रपति, महिला प्रधान न्यायधीश भएको उसले फेसबुक हेरेर थाहा पाएकी थिई। नयाँ संविधान बनेको, चुनाव भएर जनप्रतिनिधि आएकोे थाहा पाएकी थिई। बिभिन्न आन्दोलनले महिलाको हक र अधिकार धेरै माथि उठिसकेको पनि युटुव हेरेर बुझेकी थिई। कञ्चनपुरकी निर्मला पन्तको बिषयमा उठेका कुरा पनि युटुवमा अघाउञ्जेल सुनेकी थिई।
चार घण्टाको बाटो बोकेर उसलाई क्य्राक पुर्याए। यो अवधिमा उसले सबै घटनासँग कुताङको यो घटनालाई जोडेर हेरी।
त्यहाँ उसलाई एउटा कोठामा राखे र बाहिरबाट चुकुल लगाइदिए। एकछिनपछि ढोका खुल्यो। एउटी बुढीमान्छे देखा परिन् र जाडो छेक्न बख्खु दिइन्। राम्रोसित सुत्न भनिन्। जाने बेला उनले ‘फुर्बुतेन्जिङ र फुर्बुका २५ बर्षका दाजु छेवाङ तेञ्जिङको श्रीमती बन्नुुपर्ने’ सन्देश सुनाएर गइन्।
. . .
कोठामा उसले बिगतका धेरै घटना सम्झिई। सोनाम बुठी इजराइल जानु अघिको उसको साथी हो। उ कुनै एकजना केटालाई मन पराउँथी। घट्टमा गहुँ पिस्न जाँदा सोनामलाई अर्कै केटाले यसरी नै तानेर लगेका थिए। ठिटाहरुको कडा पहरा छिचोलेर थुनामा राखेको घरबाट आधा रातमा भागेकी थिई। तर रातभर पहरा दिन बसेका लाठेहरुले फेरि समातेर घरमा थुनेका थिए।
फेरि अर्को घटना उसको दिमाग बिगार्न आयो।
घर परिबारले इन्कार गर्दागर्दै फुर्बु साङ्मोलाई एउटा समूहले यसरी नै तानेको थियो। बुबा, आमा, दाइ, भाइ सबैले प्रतिकार गरेका थिए। करिब डेढघण्टाको भिडन्तपछि बल्लतल्ल परिबारले बचाएका ल्हाक्पाले आफ्नै आँखाअघि देखेकी थिई।
उसले सोची, ‘यहाँ मेरा लागि लडिदिने कोही भएनन्।’
मेलामा काम गर्दागर्दै टसी दिकीलाई त्यसरी नै तानेर लगेको घटना पनि सम्झी। केहीदिन कोठामा थुनेर राखे। तर बिहेका लागि मञ्जुर भइन। बुबा आमाले पनि रक्सी पोम स्वीकार गरेनन्। आखिरिमा माइती पक्ष गले। रक्सी खाइदिए। टसी नमान्दा नमान्दै पनि मन नपरेको मान्छेको श्रीमती बन्न बाध्य भएकी थिई।
काठमाडौं पढ्न गएका १३, १४ बर्षे किशोरीहरु विदाका बेला घर आउन डराउने गरेको पनि उसले सम्झिई ।
गाउँभरि यस्ता दर्दनाक घटना थिए । त्यो रात यस्ता धेरै घटनाले उनको ज्यानमा काँडा उमार्यो। झिमिक्क निद्रा लागेन। अहिलेसम्म कसैले पनि यो चलन हटाउने प्रयास नगरेकोमा दुख लाग्यो।
उसलाई तानेर लगे। अस्वीकार गर्न पनि पाउँथी। त्यसका लागि माइतीको समर्थन चाहिन्थ्यो। तर उसको माइती थिएनन्। काकाको खलकले ठेकी पोम स्वीकार गरिसकेका थिए। त्यसैले कुनै प्रतिकार र प्रतिवाद नगरेको उनसले सहजै बुझी।
१५ बर्षकी मेन्दोक डोल्मालाई बिहीको मेला हेर्दाहेर्दै राती एक बजे एउटा ३० बर्षे केटाले तान्यो। सँगै बसेका दिदीबहिनीहरुले जति तान्दा पनि उसलाई छुटाउन सकेनन्। अन्ततः त्यो रात उसलाई क्वाक पुर्याएका थिए। यथासक्य डेम्बा(गरगहना) दिएका थिए।
केही दिन बसेर उ माइत फर्किई। फेरि घर जान मानिन। उसका माइतीले बोर्जा (चेली फिर्ता गर्दा तिर्नुपर्ने धनदौलत) तिरेर फिर्ता गरेका थिए।
यो सम्झनाले उसमा अल्लि आशा पल्हायो । अनुहारमा अल्लिक चमक आयो। लामो सास फेरी।
. . .
उसले सम्झी आफ्नो घर। ढुंगैढुंगा खापेर बनाइएको बाजेको पालाको घर भूइँचालोले भत्कियो। घरका, परका सबैको भागाभाग भयो। बाजे, बज्यै र घरको तल्लो तलामा बाँधेका बस्तुभाउ चेपिएर मरे।
घर भत्किँदा उ लामा १८ बर्षकी थिई।
जहान धेरै भएकाहरुले भत्केको ढुङ्गा र काठ जुटाएर चार, पाँच महिनामा घर उभ्याउन थाले।
घरकी एक्ली छोरी थिई ल्हाक्पा। छोरा पाउने चाहना हुँदाहुदै उनका बा आमा ५० बर्ष कटेका थिए। उसलाई लाग्यो, दाजुभाइ भएका भए यही ढुंगा, र काठले मेरो पनि घर उभ्याउँथे। गाई चराउन जाँदा पाखा पखेरामा पनि उ यही सोच्थी। दाजुभाइ नभएर के भो, आफूले पैसा कमाएर बाआमालाई दिन सकेको भए पनि एकबर्षसम्म पालमुनि बस्नु पर्दैनथ्यो।
पैसा कमाउन छोरी बाहिर जाने चलन स्यारमा थिएन। काठमाडौंसम्मचाहिँ कोहीकोही पुगेका थिए। गाउँ आएकी आनीसँग मेसो मिलाएर उ काठमाडौँ पुगी। एक महिनाको काठमाडौँ बसाइमा उसले विदेश जाने प्रक्रिया बुझ्ने मौका पाइन्। इजराइलका लागि ख्यालख्यालमै निवेदन दिएकी थिइन्। संयोगले भिसा आयो भनेर आस्याङ सेरापलाई फोन आयो।
यतिबेलासम्म पनि उसलाई जाने कि नजाने दोमन थियो। आस्याङले जानुपर्छ भनेर आड दिन्थे। हुँदैन भनेर आनी बिरोधमा थिइन्।
दोधारै दोधारमा सेरापले सापटी खोजेर इजराइल जाने खर्च जुटाइदिए।
जहाजले काठमाडौंलाई एकफन्को मार्दा उत्तरपश्चिम पुगेपछि झुलुक्क मनास्लु हिमाल देखी। आँखा पोलेर आँशु चुहियो। जहाज फेरि मनास्लुलाई उत्तर पार्दै उँड्यो। कुताङ भोट देखुञ्जेल उसले सम्झिई ‘त्यस भेगमा पढालेखा पनि न्यून छन्। नपढेपछि सरकारी सेवामा जागिर पाउने कसरी? वैदेशिक रोजगारीमा जाने पनि यहाँ न पुरुष थिए, न महिला।’
सबैभन्दा दुख उसलाई बुबाआमालाई एकफेर पनि खबर नगरेकोमा थियो। खबर गर्ने पनि कसरी? उसको गाउँमा मोबाइल सेवा थिएन। छोरी जहाज चढेको बारे बुबाआमाले सुइँकोसम्म पाएनन्।
उ उँडेको एक महिनापछि काठमाडौंबाट गाउँ आएका छिमेकीले सुनाएका थिए, छोरीको खबर।
. . .
ल्हाक्पा राती सँधै सम्झन्थी, आफ्नो गाउँ, भत्किएको घर, पालभित्र फलेक ओछ्याएर सुतेका बुबाआमा अनि देख्थी घर बनाउने सपना। जुन सपनाले डोहोर्याएको थियो, इजरायलको बाटो।
घर बनाउन पुग्ने कमाइ उसँग भइसकेको थियो। यस्तै आनन्द सम्झेर हरेक रात मिठो निद्रा लाग्थ्यो। दुख एउटै थियो ‘आमाबुबासंग अहिलेसम्म सम्पर्क हुन सकेन।’
एकदिन आधा महिनाको तलबले एउटा मोबाइल किनी। मालिकका छोराछोरीले त्यही मोबाइलले फोटो खिचेर एकैछिनमा उसको फेसबुक एकाउण्ट खोलिदिए।
भने, ‘तिम्रो गाउँ, तिम्रो साथीसंगी, आफन्त सबै यहाँ भेटिन्छन्।’
‘छिरिङ साङ्मो’, उसले आमाको नाम भनी।
ल्हाक्पालाई दङ्ग पार्ने धोकोले उनीहरुले सर्च इञ्जिनमा धेरै खोजे। धेरै छिरिङ साङ्मोहरु आए। धर्मशाला पढ्न भनेर गएकी सानो हुँदाको साथी छिरिङ साङ्मो पनि देखिई। तर आमा देखिइनन्।
‘कुन्साङ दोर्जे’, अब बाबाको नाम भनी।
धेरै कुन्साङ दोर्जे देखा परे। तिब्बतका होलान्। भुटानका होलान्। सामागाउँ, ल्हो, छेकम्पार, चुम्चेततिरका पनि होलान् । तर बुबा देखिएनन्।
वनमा बस्तु चराउन हिडेका ‘पेम्बारेता’, ‘आङ्वा’, ‘तेञ्जिन’ कोही पनि फेसबुकमा भेटिन।
‘तिमीहरुले झुक्याएका रहेछौं।’
‘भेटिन्छ। साँच्चै भेटिन्छ।’
‘खै त ?’
‘खै कुन्नि ?’ अरुहरु भेटिए, कुताङकैचाहिँ किन भेटिएनन्? उसले अब आफैसँग धेरै प्रश्न गरी।
खेल्दाखेल्दै उ आफैले फेसबुक चलाउन जान्ने भई।
फेसबुकमा उसलाई नचिनेका धेरैले साथी बनाए। कुताङका पनि कोहीकोही भेटिए तर धेरै पहिले कुताङ छाडेर सहरमा बसेकाहरु मात्रै।
धेरैजनाले गाउँको फोटो पठाए। मनास्लु हिमाल, बूढीगण्डकी, सेराङ, रिपुम, पुङ्गेन, राजेन, म्हु गुम्बाहरु, कालताल, वीरेन्द्रतालका फोटाहरु पठाए। भोटे लामा भाषाका म्युजिक भिडियोका लिङ्कहरु पठाए।
कत्तिले त निद्रा बिथोल्ने गरी रातभरि रातभरि माया प्रेमका कुराहरु पनि गरे।
अचेल उसलाई एक्लो महशुस हुनै छोड्यो।
. . .
हिमालपारिको बस्ती हो कुताङ। वुद्धको पञ्चशील पालना गर्ने सुन्दर र शान्त गाउँ। तिब्बती संस्कार, संस्कृति, भाषा, भेषभूषा पनि तिब्बती नै। उसलाई भूकम्पअघिको कुताङ नै आँखामा आइरहन्छ। पर्खाल लगाएको जस्तो ढुङ्गाको गाह्रो, काठका सानासाना फल्याकको छानो। दुई तले घर। सबै घरको आँगनमा भर्याङ । भुइँतलामा बस्तुभाउ, माथिल्लो तलामा मान्छे बस्ने।
उसको घर ठूलो पहाडको फेदमा थियो। घरभित्र मात्र समथर। आँगन पनि भीर। आँगनमुनिको बारी पनि भीर। ‘भूकम्प आउनु एक महिनाअघि बाँदर आएर पल्लो घरको लुनाको छ महिनाको बच्चा तानेर लग्यो’ अचानक उनले घटना सम्झिइन् ‘लुना र लोप्साङ सल्लेपीर थुपार्न गएका थिए। पल्लो घरको सोनामले देखेर बाँदरको हातबाट छुटाएर ल्यायो। काठमाडौं बस्ने धावा ग्याल्जेनले उपचार गर्न लग्यो र तीन महिना उपचार गरेपछि बल्लतल्ल बचाएर ल्याए। अहिले पनि त्यो बच्चाको टाउकोमा कपाल उम्रिएको छैन। ठूलो चोट देखिन्छ। उपचार खर्च पनि विदेशीले दिएका रे!
नत्र ........’
. . .
कुन्साङ छोरीसंग फोनमा बोल्ने धोकोले काठमाडौं हानिए।
बहिनी, ज्वाइँको डेरामा पुगेकै साँझ ल्हाक्पासँग भिडियो कुराकानी भयो। नौलो रुपरंगमा छोरीलाई देखेर कुन्साङको मन श्रृङ्गी हिमालको हिउँजस्तै धरधरी पग्लियो। घामपानीले डढेको बुबाको मुहार देख्नेबित्तिकै ल्हाक्पा पनि सम्हालिन सकिनन्।
‘हामीलाई खबरै नगरी किन गइस्?’
‘घर बनाउन।’
‘तैले बनाउनु पथ्र्यो त?’
‘नत्र तपाइँहरुले बनाउन सक्ने छाँटकाटै देखिन।’
‘अनि तँ छोरी। अर्काको घरमा जाने बेला भइसकेको मान्छे।’
‘जहाँ गए पनि बुबा आमालाई कति दिन पालमा राख्ने त?’
‘किन खबर नगरी गएकी त?’
‘खबर गर्ने मन नभएको कहाँ हो र? तर कसरी खबर गरुँ, फोन छैन। उँडेर जान नसकिने रहेछ।’
‘काम कस्तो छ? कमाइ कति छ?’
‘काम पनि कमाइ पनि धेरै राम्रो छ। मेरो बारेमा कुनै चिन्ता नलिनू। बरु मलाई रातदिन तपाइँहरुकै चिन्ता छ।’
आज कुन्साङ र ल्हाक्पा दुवैको मन कपास जस्तो भयो। कमाइ राम्रै भएकाले छ महिनाभित्र घर बनाउने पैसा पठाउने खबरले कुन्साङ फुरुङ भए। एकहप्ता काठमाडौं बसेर उनी फर्किए।
. . .
पाँच वर्षको विदेश बसाइपछि ल्हाक्पा करोडको मालिक बनेर काठमाडौं फिरेकी थिई। इजराइल छोडेदेखि ट्रान्जिटको, टिआइएको, अनि मामालाई पछिल्लो भर्सनको आइफोन, फुपूलाई कपडा र खानेकुरा उपहार दिएको फोटो पनि फेसबुकमा अपलोड गरी।
काठमाडौंमा दुई दिन मात्र बसी।
‘गाउँ पुगेर म फर्किहाल्छु है?’ उनले फुपूसित भनेकी थिइन्। ‘यसपालि दुई महिनाको छुट्टी छ। एक महिनाजति गाउँ बसेर फर्किन्छु। गाउँमा एउटा सानोतिनो घर बनाउँछु अनि बाँकी पैसा काठमाडौंतिर जग्गामा हालिराख्यो भने पछि भाउ बढ्ला कि?’ कि बिजनेश गरेर काठमाडौंमै बसुँ भनेर पनि फुपू र मामासँग सुझाव मागेकी थिई।
. . .
पाँच वर्षपछिको गोरखा बजार, आरुघाट, माछाखोला, फिलिमसम्मको फोटो पनि फेसबुकमा अपलोड गरी।
गाउँ जति नजिक आउँथ्यो, त्यति मन भारी हुँदै थियो । साथीसंगी सम्झेर रमाउँथी, घर सम्झेर मन धर्किन्थ्यो।
आफूलाई भेटेर फर्केका बुबा पाँच बर्षदेखि घर नपुगेको शोक छँदै थियो। एक बर्षअघि आमा मुटु दुख्ने व्यथाको उपचार नपाएर विदा भएको जलन थियो।
‘घर जङ्गल भइसकेको हुनसक्छ’ मनमनै योजना बनाई, ‘पहिलो दिन काकाको घरमा बस्छु। सजिलो नभए कतै आश्रय लिनुपर्ला।’
झमक्कै साथ परिसकेको थियो। उ काकाको घरको आँगनमा पुग्नु र एक हुल अपरिचित मान्छे घरबाट बाहिरिनु एकैचोटि भएको थियो।
उ काकाको घरमा पुग्दा सामान्य औपचारिकता बाहेक खासै कोही पनि रोमाञ्चित देखिएनन्। किन उनीहरु स्तब्ध भए भन्ने उसले बुझ्न सकिन। पाँच वर्षपछि आएकी चेली देखेर सबै गमक्क पर्लान् भन्ने उसलाई लागेको थिएन।
आफ्नो पैत्रिक घर भएकोतर्फ हेरेकीचाहिँ थिई तर अँध्यारो पर्दाले घरको भग्न अवशेष देख्न दिएन।
जति अँध्यारो हुन्छ, उति चर्को आवाजमा रातलाई तर्साउँदै गण्डकी सुसाइरहेको थियो।
बारीको काममा गएकाले अहिले सुत्ने, भोलि कुरा गर्ने काकाले सुझाव दिए । सबैले त्यसै गरे ।
त्यसपछिको घटना दोहोर्याएर उसले सम्झन सकिन।
. . .
रातभर झिमिक्कै आँखा लागेन। मिर्मिरे उज्यालो हुँदा उही बोर्जा तिर्ने म्हेन्दोक डोल्मालाई सम्झी। उ उसको मिल्ने साथी थिई। उसको सम्झनाले ल्हाक्पामा केही राहत मिल्यो।
भोलिपल्ट उसले डेम्बा स्वीकार गरी। दुवै जनालाई पति पनि स्वीकार गरी।
एकदिन, दुईदिन गर्दै सबैसँग राम्रो सम्बन्ध सुधार गरी । घरायसी कामहरुमा सामेल भई।
‘झोलामा घर बनाउन भनेर ल्याएको धेरै पैसा छ, लिएर आउँछु’, सासुको सुझाव मागी।
‘हुन्छ। बरु कहिले फर्किन्छौ?’
‘एकदुई दिन बसेर।’
त्यसदिन उ काकाको घरमा नगई सोझै म्हेन्दोक डोल्माको घरमा बास बस्न गई।
(gorkhasamachar@gmail.com)