भनिन्छ, उखान झुटो कैहिल्यै हुँदैन। मेरो गाउँघर तिर पनि एउटा बिना चल्तिको उखान छ- 'डर लागेर घर आउनु, घर भित्रै डरलागे कहाँ जानु?'
महाकाली हामीहरुको बीचमा छ। हामी, हाम्रो घरभन्दा पारिपट्टीको महाकाली किनारमा हिन्दुस्तानका प्रहरी, बीचमा महाकाली, घर तिरको महाकाली किनारमा नेपाल प्रहरी अनि बल्ल मेरो घर।
उफ्! जम्माजम्मी आधा किलोमिटरको बीचमा पनि यति धेरै व्यवधान आफ्नो घर पुग्न। ओफ्नो देशमा पैला टेक्न पूलमै आइयो तर काँडेतार बीच पूलमा। नेपाल प्रहरीको डन्डा हामीलाई सुरक्षाका खातिर हैन, त्यो काँडेतार ननाघ्ने उर्दीका खातिर हो।
कोरोना कहरसँगै घर सम्झेर हिन्दुस्तान छोड्ने निधोसँगै हिन्दुस्तानकै महाकाली किनारमा आईपुगेको आज १० औँ दिन। घर सम्झेर आउन खोज्दा नेपालबाटै बाटो थुनिदिएपछि रन्थनिएको पनि १० औँ दिन। कोरोनाको डरसँगै भारतीय पुलिसको डर छलि आयो, नेपालबाटै घर आउन नपाइने उर्दी।
यो कोरोनाको डरभन्दा पनि, यी पराई देशका प्रहरीभन्दा पनि ओफ्नो देश आफ्नो घर आउन नदिने सरकार, काँडेतारका रखवाला पुलिस प्रशासन बढी डर लाग्दा छन्। साँची पारि घरबाट नै डर आइरहेछ। त्यही भएर हाम्रो गाउँठाउँको बिना चल्तिको उखान झुटो साबित हुँदैछ कि भन्ने हुँदै छ।
म परिवर्तन बुढाथोकी। खासमा मेरो बा समय बढाथोकी उर्फ भुतपूर्व क्रान्तिकारी कम्रेड, समयको कुरा मान्ने हो भने क्रान्तिकारीको जात हुँदैन त्यसैले म परिवर्तन। काठमान्डौँबाट बिना खबर भारत भासिएको तीन दिन अगाडि ठ्याक्कै तीन महिना भयो।
कोरोना कहर सुरुसँगै फेरि आफ्नै घर सम्झेर महाकाली नदी किनारमा। घर बहुत विकट जिल्लाको बहुत विकट गाउँ। सुन्नुहुन्छ, महाकालीको विदेशी किनारपट्टि रहेको परिवर्तन र समयको कहानी?
गाउँमा अचेल विकास नामधारी काम अनेक आईरहन्छन्। हिजो मात्र पातल खोलाको पानी गाउँसम्म ल्याउने खानेपानी आयोजनाको समिति गठन गर्न भेला बोलाइयो। अध्यक्ष को हुने भन्नेमा रस्साकस्सी चल्यो।
कम्रेड समय बोले- '१० वर्षे जनयुद्द र हजारौँ सहिदहरुको महान् बलिदानपछि मात्र यसरी गाउँ-गाउँमा विकास आयोजना आउन थालेका छन्। यसमा मात्र श्रमिक वर्गको अपनत्व हुनुपर्छ। त्यसैले नेकपा माओवादीको तर्फबाट अध्यक्ष हुनपर्छ।
गाउँमा सबैभन्दा सिनियर माओवादी म भएकोले यो आयोजनाको अध्यक्ष म हुन्छु।'
कम्रेड समयको कुरा सिक्न नपाउँदै नेकपा एमालेका गाउँ कमिटि इन्चार्ज हरिबोल बुढाथोकी बोले- '१० वर्षे युद्धको हवला दिएर गाउँको विकास योजनामा गिद्धे नजर नलगाए हुन्छ। अहिले योजना मन्त्री हाम्रो पार्टीको भएकोले हाम्रै हार गुहारमा यो योजना आएको हो।
नेकपा एमाले बाहेक अरु पार्टीको मान्छे अध्यक्ष हुने कुरा नचिताए हुन्छ कसैले।'
समय कम्रेड फेरि गर्जे- 'बरु त्यो मोती लाटोलाई अध्यक्ष बनाइन्छ, अरु पार्टीको मान्छेलाई नेतृत्व गर्न दिन सकिन्न।'
यसै बीचमा कम्रेड समय र हरिबोल बुढाथोकी बीच हात हालाहाल भयो। समिति गठन नगरी सबै घर फर्के।
बेलुकाको ९ बज्यो। समय कम्रेड कागुनाको भात रातो सिमीसँग तेस्रो गाँस हाल्ने तयारीमा थिए। रेडियो नेपालले हतार-हतार मुख्य समाचार भन्यो। नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकता। कम्रेडलाई पत्यार लागेन समाचार विस्तारमा सुन्न भात खाना छोडिदिए।
त्यो एक मिनेटको समय एक घन्टा जस्तो लाग्यो। दुई पार्टीबीच एकता, साठ्ठी चालिसको भागवन्डाअनुसार। समाचार विस्तारमै आयो। हिजोसम्ममा पूराका पूरा पार्टीको मान्छे एकैछिनको समाचारले चालिसको हिस्सेदारी दिएर नयाँ पार्टीमा विलय गराईदियो।
दिउँसोको खानेपानी समितिको खिचलो याद आयो। हिँडेर पाँच मिनेटमा पुगिने हरिबोल बुढाथोकीको घर गए। कम्रेड हरिबोल बाहिर आउन पर्यो, समयले डाँको लगाए। हरिबोल निस्के खुशी अनुहारमा।
पार्टी एकता भएकोमा दुवैले शुभकामना आदान प्रदान गरे। अंगालो हाले एक आपसमा। अनि हरिबोलको निमन्त्रणामा समय कम्रेड नि भित्र पसे। पार्टी एकताको खुशियालीमा अरु छ/सात जना भेला भए। राति दुई बजेसम्म दारु पार्टी चल्यो।
बीच-बीचमा समय कम्रेडले महान १० वर्षीय क्रान्तिको कुरा उठाए। हरिबोलले कसरी फेरि कम्युनिष्ट आन्दोलनलाई एमालेले बचायो भन्ने कुराको ठूलै सैद्धान्तिक दस्ता पेश गरे। यसरी दिउँसो खानेपानी समितिको फेरि कुरा उठ्यो।
हरिबोल बोले- 'अब पार्टी एकता भईसकेपछि हामीबीचबाटै कोही राम्रो मान्छेलाई आयोजनाको नेतृत्व दिनुपर्छ।'
समय कम्रेड थकित सुरिलो स्वरमा बोले- 'पार्टी एकतापश्चात हामी पूर्व-माओवादी ४० प्रतिशतमा छौँ। गाउँमा यसरी नेतृत्व दिन सक्ने तपाई मात्र एउटा हुनुहुन्छ, हरीबोल जी तपाईनै आयोजनाको अध्यक्ष हुनुहोस्। उसैमा अब त हामी एउटै पार्टीका मान्छे।'
यसरी समय कम्रेड उर्फ म परिवर्तन बुढेथोकीको बाले समयसँगै सयबाट ४० मा स्खलित र क्रान्तिकारी आवेगलाई सम्झौतावादको फेर समातेर अवसरको समर्पण गर्ने कामको श्री गणेश गरे या भनुँ गराइए। यो त भयो वर्तमान चल्तिको कुरा।
खासमा कुरो सुरुबाट सुरु गर्दा राम्रो। जब म तीन/चार क्लासमा गाउँको स्कूलमा जान्थेँ, सरहरु सुरु-सुरुमा ढाडे बिरालोको आँखाले हेर्थे। भन्थे- 'जसको बा-बुर्जुवा शिक्षा भनेर हामीलाई धम्काउँदै हिन्छ, उसका छोराछोरी किन पढ्न आउँदा हुन्? जानु नि क्रान्ति गर्न बासँगै देश परिवर्तनको लागि।'
साँझ घर आएर बालाई सोध्थेँ- बा यो बुर्जुवा शिक्षा भनेको के हो? बा हर्षित हुँदै भन्थे- 'देखिस् बुढी, क्रान्तिकारीको छोरो होनी। बुर्जुवा शिक्षा बारे जान्न खोज्दै छ।'
अनि जुँगामा ताउ लगाउँदै बा भन्थे- 'जुन शिक्षा पढेर जीवनमा कहिल्यै काम आउँदैन, जुन शिक्षा पुँजीवादी, सामन्तवादीक चिन्तनले ग्रस्त छ, त्यस्तो शिक्षा बुर्जुवा शिक्षा हो। क्रान्ति सफल भएपछि हामी वैज्ञानिक समाजवादी शिक्षा लागु गर्छौँ।'
बाले अन्तमा वादी वा वाद जोडेर कुरा नगर्नु, जेलेवी नखाको बाहुन भेट्टाउनु सरह हुन्थ्यो। पछि बा क्रान्ति चर्कदै गाछ हामी जितको नजिक छौँ भन्नु हुन्थ्यो। पर्देशी पर्वमा मात्र घर फर्के झैँ बा वर्षमा दुई/तीन चोटी मात्र आउनु हुन्थ्यो। पार्टीको काम भनेर कैहिले एकै दिनमा त कहिले तीन/चार दिनमा गैहाल्नु हुन्थ्यो।
पछि सबै माओवादी भए गाउँमा। मलाई यस्तै लाग्थ्यो, यो संसारभरी कम्रेड होलान्, यस्तै देश र जनताको लागि लड्दैछौँ भन्ने तमाम बाहरु युद्धमा होलान्। गाउँमा हेर्दाहेर्दै दुई/चार घरका मान्छे हराए। हल्ला सुनिन्थ्यो हराएका घरका मान्छे माओवादी होइनन् भन्ने।
यसैमा एक दिन बा घरमा आउनु भयो। 'गाउँबाट विस्थापितहरु शोषकहरु हुन्, सामन्ति र भ्रष्टचारी हुन्। यिनीहरुलाई पार्टीले उच्च निगरानीमा राखेको छ' बाले आफ्ना खास साथीहरुसँग ठिक एघार बजे खास मिटिङ गर्नुभयो।
म सुत्न सकिराखेको थिइन पार्टीको खास मिटिङको हल्लाले। बाले एउटा रातो कपडाले बेरिएको रातो डायरी निकाल्नु भयो। सबैलाई ध्यान दिएर सुन्न भनेपछि डायरी पढ्दै भन्न थाल्नुभयो- 'यो हाम्रो जिल्लामा पार्टीको हिटलिस्टमा रहेका सामन्ति दलालहरुको नामावली हो। यिनीहरु अहिले सदरमुकाम तथा राजधानी तिर शरण लिरहेका छन्।
साथीहरु हो, यिनीहरुको निगरानी कडासँग गर्नुहोस्। कुनै सुराख केही मिले पार्टीको हाई कमाण्डलाई खबर गरिहाल्नु होस्।'
बाले ऊच्चारण गरेका नामहरुमा माथिल्ला घरे हरिबोल हुढाथोकीको पनि थियो।
भोलिपल्ट पार्टीको कामले बा हिड्न थाल्नु भयो। रोटी खाने समयमा मैले सोधे- 'बा, तपाईहरु कोसँग युद्ध गर्दै हुनुहुन्छ? यो युद्द सकिएपछि के-के हुन्छ?'
बाले मेरो कपालमा हात राख्दै भन्नु भयो- 'छोरा तिमी बुझ्ने त भा छैनौ, तैपनि सुन। खासमा हामी देशको आमूल परिवर्तनका लागि सामन्ति राज्य सत्तासँग लड्दैछौँ। राज्य सत्ता कब्जा गर्नका लागि हामीले भाडाका टट्टु, राज्य सत्ताका नोकर सेना, प्रहरीसँग लड्नु पर्छ।
जब हामी यो क्रान्ति सफल पार्नेछौँ, हामी सबै बराबर हुनेछौँ, देशको शासन सत्ता हामी गरीबहरुको हातमा हुनेछ। अहिले यत्ति बुझ।'
मैले बुझे जस्तो गरि टाउको हल्लाएँ। खासमा खास कुरो केही गुदीमा छिरेन।
पछि माओवादी शान्त राजनीतिमा आयो। सँगै बा पनि सधैँका लागि घर फर्किनु भयो। बाले क्रान्ति सफल बनाउनु भयो/भएन मैले सोधिनँ, बाले मलाई भन्नु भएन। संविधान सभाबाट संविधान बन्यो।
संविधान बनेको दिन बा एकदम खुशी हुनुहुन्थ्यो। खुसी हुँदाको दिन गाउँमा चाइनिज रक्सीको पार्टी हुन्छ। त्यो दिन बाले एक्लै खुशियाली मनाउनु भयो।
त्यसको केही समयपछि मैलै यसइई पास गरेँ गाउँकै बुर्जुवा शिक्षा पढाई हुने स्कुलबाट। गाउँघरमा प्रविधिक शिक्षा पढ्नेको ठूलै लहर चलेको थियो। म पनि त्यस्तै केही पढ्न केही थान हजारका नोट बोकेर राजधानी पुगेँ।
राजधानीमै भएका गाउँका दाइहरुको सहयोगमा १८ महिने प्राविधिक विषय पढ्न थालेँ। राजधानीले औकात देखाईदियो। महिनाको कोठा भाडा, कलेज आउने-जाने गाडी भाडा, खाने सबै खर्च धान्न मलाई मुस्किल हुँदै थियो।
अन्तिम किस्ता स्वरुप कलेज फि तिर्न ताकेता आउन थाल्यो। घरमा फोन राम्ररी नलाग्ने। मुस्किलले फोन लागेको बेला बाले दश/पन्ध्र हजार सम्मको मात्र कुरो गरे। कलेजमा ८० हजार तिर्न थियो। पैसा नतिरेपछि फाइनल परीक्षा दिन पाइएन।
राजधानीमा क्रान्तिकारीको सरकार भएको बेला दूरदराज गाउँको क्रान्तिकारीको छोरा पैसा तिर्न नसकेपछि अन्तिम परीक्षाबाट बिमुख भयो। सायद मेरा बा र यी राजधानीमा भएका क्रान्तिबाजहरुको रंग नमिल्ने रहेछ क्यार, यात बाले विद्रोह गरेको बुर्झुवा शिक्षाको शिकार भए म।
आमालाई पैसा पठाईदिनु भन्दा मलिन हुँदै भन्नु हुन्थ्यो- 'कहाँबाट ल्याउने छोरा। पहिला गाई-गोरु पाल्थ्यौँ, बेचेर पैसा हुन्थ्यो। तेरो बा पार्टीमा लागेदेखि म एक्लैले नसकेर पाल्न छोडियो। आजभोलि खेत जोत्न नि अर्काको हल माग्न पर्छ। देखिहालिस् तेरो बाको १० वर्षे दौडधुप, अनि फेरि खाली हात घर फर्केको क्रान्ति। त्यतै कतै कोहीसँग मिला अहिलेलाई।'
आमाले भनेका त्यतै कतैका कोही भेटिने कुरै थिएन। जति हारगुहार गर्दा पनि कलेजले परीक्षामा सामेल हुन दिएन। पढ्ने मक्सद लियर राजधानी बसेको, त्यही मक्सद तुहिएपछि के गरेर बस्ने? घरमा परीक्षा दिन नपाएको कुरा भनेको थिइनँ।
त्यसैमा सशस्त्र प्रहरीको भर्ती खुल्यो। पिछडिएको, जनजाती, खुल्ला के-के हुन् के-के कोटामा टन्नै खुल्यो।
परिवर्तन बुढाथोकीले मन परिवर्तन गर्यो। हुन नसकेको १८ महिने प्राविधिकबाट नेपाल सरकारको सशस्त्र प्रहरी हुने। परिवर्तनले परीक्षाको फर्म भर्यो, हलचोक स्वयम्भुमा। खासमा यो आफैमा एउटा ऐतिहासिक सहासिक निर्यण थियो।
म मेरा बाले जसका विरुद्ध १० वर्ष युद्ध गरे, त्यही बन्न खोज्दै थिए। बाकै शब्दमा भन्नु पर्दा कथित सामन्ति सरकारको भाडाका टट्टु वा नोकर बन्न खोज्दै थिए। मेरा बाको ठिक विरोधी जत्थाको हिस्सेदार बन्ने कुचेष्ठा थियो त्यो।
परीक्षाको किसिमअनुसार मैले फजिकल दिएँ। दुई सय मिटर दौडमा पाचौँ, १६ सय दौडमा दोस्रो, चिन अपमा चाहिनेभन्दा मस्थै, पुस अपमा इस्ट्रकटर बहुत खुश हुनेगरी। फिजिकल टेष्ट सबैमा ऊत्कृष्ट रेजा सहित पास भए। लिखित परीक्षामा पनि दुई सयभित्र पास। मेडिकल स्वस्थ्य परीक्षणमा पनि बिना झन्झट पास भए। अब मौखिक मात्र बाँकी रह्यो।
अघिल्ला परिक्षामा राम्रै गरेकोले आफैलाई पनि नेपालको सशस्त्र प्रहरी भइन्छ कि भन्ने विश्वास लाग्न थाल्यो। राति सपना देख्दा पनि कहिलेकाही प्रहरीको चुस्तामा देख्न थाले आफैलाई। इन्टरभ्युको डर लाग्न थाल्यो।
भनसुन चल्छ भन्ने साथीहरुको सर्कलमा गाईगुई चल्यो। मेरो भनसुन गर्ने कोही थिएन राजधानीमा। १० वर्ष युद्धमा होमिएका, त्यसपछि पनि पार्टी-पार्टी भन्दै गाउँमा गलो सुकाईरहेका मेरा बाको याद आयो। सशस्त्र प्रहरी हुन लागेको कुरा बालाई फोन गरी डराई- डराई भने।
यो पनि भने- 'अब मौखिक परीक्षा ‘इन्टरभ्यु’ मात्र बाँकी छ। भनसुन गरे झन् राम्रो हुन्थ्यो। सशस्त्र प्रहरी हुन पाए राम्रै हुन्थ्यो। घरमा एउटा भय पनि सरकारी जागिरे हुन्थेँ।'
मैले अप्रत्यक्ष रुपमा बाले कोही चिनेका छन भने भनसुन गरिदिनु भन्ने नै थियो। एकछिन केही बोल्नु भएन।
सानो स्वरमा 'तेरो पढाइ के हुँदैछ?' भनेर सोध्नु भयो। मैले राम्रै चलिराछ भन्ने भान पार्ने गरी उत्तर दिएँ। अन्तमा 'प्रहरी भइस् भने त राम्रै हुन्थ्यो। घर चलाउन सजिलो हुँदो हो। तैले के-के सोध्छन् राम्रो तयारी गरेस्। म नेताहरुसँग कुरा गरौँला' अलि खुशी हुँदै बाले भन्नुभयो।
बाको बोलीको लवजमा केही खुशी केही उत्साह मिसिएको मैले प्रष्ट थाहा पाएँ। राति सुत्दा बाले नेतालाई भनौला भनेको कुरा कानमा धेरै बेरसम्म गुन्जिरह्यो। जागिरे भइन्छ होला भन्ने झन् बढी आश लाग्न थाल्यो। मेरो जागिरे हुने आशभन्दा बाको उत्साह बयान गरी नसक्नु थियो।
कुनै बेला भाडाका नोकर भनेर जसका बिरुद्द लडे, छोरो त्यही बन्न खोज्दा उत्साहित हुनु समय कम्रेडको समय अन्तरकालमा क्रान्तिकारी गुणमा तीन सय ६० डिग्रीको टर्न थियो। जे होस्, बाको ढाडस सुनेर म झन् उत्साहित भएँ।
बाले दुई दिन पछाडि फोन गर्नु भयो। तयारी कस्तो चल्दैछ भनेर सोधे। अलिअलि भनेँ। अनि सिधै भन्नुभयो- 'मैले (नेताको नाम लिदै) सँग फोनमा कुरा गरेको छु, उहाँले केही हुन्छ भने बुझौला भनेका छन्। मैले जसरी पनि कुरा गर्न पर्यो हजुर भनेको छु। हरिबोलसँग पनि नेताहरुसँग कुरा गर्दिन भनेको छु। उहाँ नि लागि परेकै छन्। चिन्ता नलिएस्।' यस्तै यस्तै कुरा भयो।
बाले ज-जसको नाम लिनु भएको थियो, तिनीहरु कुनै बेला बाको लाल डायरीमा पार्टीको हिट लिस्टमा भएकाहरु थिए। क्रान्ताकारी हुनुभन्दा अगाडि पनि बा केही काम पर्दा यसरी नै गाउँका ठूलाबडाको नाम लिनु हुन्थ्यो।
१० वर्षे क्रान्ति पश्चात पनि कम्रेड समय तलबाट माथि पुकार्नेमै रहेको तथ्य बुझेँ मैले। कुनै समय सबै समान बनाउन सरकार गरिबहरुको हातमा ल्याउन मार्क्स, लेलिन, माओका प्रसंग जोडी लामेतान सैद्धान्तिक संश्लेषण गर्ने कम्रेड समय आफ्नो छोरोलाई सरकारी जागिरका लागि सकेसम्मको दलबल लगाईरहेका थिए।
त्यो पनि जसका विरुद्ध १० वर्ष बिगुल फुकेर सकेसम्मको खरो क्रान्तिकारी बन्न खज्यो, उनीहरुकै सामुन्ने अर्तनाद गिरिरहेको थियो। क्रान्तिकारी भएदेखि बामा धेरै कुरा परिवर्तन भएका थिए। पहिलाको गोठाले सन्तबिर बुढाथोकी, कम्रेड समय भएको थियो।
गाउँका मुखिया नचिन्ने सन्तविरले भलै उनीहरुले नचिने पनि प्रायःजसो कम्युनिष्ट पार्टीका देश-विदेशी नेताहरुलाई चिन्ने कम्रेड समय भएको थियो। भेडा चरिचरनको ज्ञानले मात्र दिमाग भारी बनाउने सन्तविर विश्व कम्युनिष्टको घोषण पत्रको पूरा पाठ कण्ठस्थ पारेको कम्रेड समय भएको थियो।
सबैभन्दा बढी, हलो जोताईको मात्र कहानी भएको सन्तविर बुढाथोकीबाट १० वर्षे जनयुद्धको गौरवमय इतिहास भएको जिउँदो इतिहास भएको कम्रेड समय भएको थियो। तर बिडम्बना भौतिक जिन्दगीमा भने सन्तविर बुढाथोकी र कम्रेड समयमा केही फरक थिएन। बरु उ क्रान्तिकारी हुँदा बिर्सेका ज्ञान सीप फेरि सिक्ने मनसायमा थियो। जस्तै भेडा पाल्न, हलो बनाउन आदि इत्यादी।
परिवर्तन बुढाथोकी उर्फ मैले सशस्त्र प्रहरीको फाइनल इन्टरभ्यु दिएँ। बहुत डराई-डराई कनि-कनि थोरै बोलेर इन्टरभ्यु सकाएँ। एक हप्तामा परीक्षाफल आयो। हलचोक कार्यलयको सूचना पार्टीमा चार चोटी माथिबाट तल, चार चोटी तलबाट माथि पढ्दा पनि परिवर्तन बुढाथोकी भन्ने नाम थिएन।
एक महिना अगाडि १८ महिने प्राविधिक हुनबाट वञ्चित परिवर्तनले सशस्त्र पहरी हुन मन परिवर्तन गरेपनि फेरि असफल भयो। फेरि अरु केही हुन मन परिवर्तन गर्नुपर्ने भयो। अब राजधानी बसिरहने केही कारण थिएन। भएका भाडाकुडा, ग्यास बेचेर घर फर्किने निर्यणमा पुगेँ।
कलंकीबाट सुर्खेतको गाडी चढेँ। कोहलपुर पुगुन्जेलसम्म रित्तो-रित्तो घर फर्किन मन मानेन। परिवर्तनले मन परिवर्तन गरेर रुपडिहा हुँदै इन्डिया छिर्ने निर्णयमा पुग्यो। घरमा सुईको समेत थिएन सशस्त्र प्रहरी बन्नै लागेको छोरो इन्डिया कुल्ली बन्न हिडेको कुरा।
कोरोना कहरसँगै आईपुगे महाकालीको विदेशतिरको किनारमा। आएको छैठौ दिनमा बासँग कुरा गरेँ।
सबै कुरा सुनेपश्चात एउटा निष्कर्ष निकाल्दै बाले भन्नुभयो- 'म कम्रेड समय भएर फेरि सन्तविर हुनु र तँ प्राविधिक हुन राजधानी छिरेर फेरि घर फर्किनुमा केही फरक रहेनछ छोरा, व्यर्थ जवानी र जिन्दगीको खराबी।'
त्यसपछि मैले मोबाइल अफ गरिदिएँ। साँझ बाको फिलिप्स रेडियोले समाचार वाचन गर्यो- 'घर आउनलाई महाकाली पारीका नेपालीले पौडी खेलेर नदी पार गरे।'