चार दिन लामो नयाँ वर्षको छुट्टीले साथीभाइहरु उत्साहित थिए। कोही सिँगापुरको भ्रमण गर्न तम्तयार थिए। रिङ्गेटसँग डलर साट्न भ्याइसकेका थिए। हामी पहिल्यै गएर आइसकेका थियौँ। त्यति चासो भएन। केही अन्यन्त्र यात्रा तय गर्दै थिए। कोठामा बस्ने भनेका भर्खर आएका नयाँ-नयाँ साथीहरु मात्र हो। अरु त सबै बाटो लाग्छन्।
मिल्ने साथीले यसपाली १० तला जाने भनेर प्रस्ताव राख्यो। मैले १० तला भनेको हामी बस्ने नजिकैको सहर सेन्टर मार्केट निरको स्काई टावर होला सोचेर अन्जानमा सहमती जनाए।
अर्को साथीले पनि ओके गर्यो। उ पहिल्यै गइसकेको रहेछ। टावर चढ्ने रहर पहिलादेखि नै थियो। नेपालमा धरहरा चढ्ने चाहना हुँदाहुँदै पनि धरहरा चढ्ने अवसर मिलेन। धरहरा भूकम्पले भत्किएपछि धेरै पश्चाताप भयो। चढ्न पर्ने रहेछ, रहर कायम थियो। मन खट्किरह्यो।
यस्तो अवसर गुमायो भने फेरि पनि पुछुतो लाग्छ भनेर १० तला चढ्ने निर्णय गरेँ।
हामीले अनलाइनबाट ट्याक्सी बोलायौँ। ट्याक्सी मोबाइलमा लोकेशन हेर्दाहेर्दै अगाडि आएर टक्क रोकियो।
हामी जाने लोकेशन उसलाई राम्ररी थाहा थियो। तैपनि मान्छे गज्जबको रहेछ। प्रसंग निकाल्यो। एकै पटक धेरै प्रश्नहरु गर्यो। विरलै यस्ता मानिसहरुसँग संयोगले भेट हुन्छ। नत्र प्रायः ठुस्स पर्ने स्वभावका मुस्कुराउँदा पनि पैसा लाग्ने ब्यहोरा देखाउँछन ट्याक्सी ड्राइभरहरु।
रमाइलो पारामा कुरा गर्दै हामीलाई १० तला भवन पुर्यायो। ट्याक्सीबाट झर्नु अगाडि भाडा दियौँ। भवनको गेटमा छाडेर उ अर्को टिपको लागि कुद्यो। इन्जोए लट भन्दै उ फर्कियो। मान्छे धेरै रमाइलो रहेछ। साथीहरु गफिदै हिडे। म उनीहरुको पछि लागे।
केही चहलपहल छैन, खुब रमाइलो हुन्छ भन्थे साथीहरु। त्यहाँबाट त पूरै सहर देखिन्छ भन्ने सुनेको थिए। चाबी लागेको रहेछ। ढकढक हानेपछि भित्रबाट मानिस फुत्त निस्क्यो।
चाबी खोल्दियो, हामी लिफ्ट चढ्दै गर्दा उसले फेरि बन्द गर्यो। यतिबेला मेरो मन चसक्क भयो। मनमा चिसो पस्यो, भन्न केही सकिनँ तर आएको गन्धले रुघा लाग्ला जस्तो भयो। कस्तो नमिठो गन्ध आइरहेको थियो। वास्ता नगरी हामीसँगै अन्य धेरै भिजिटरहरु लिफ्टमा चढ्यौँ।
लिफ्ट चढेपछि साथीहरुले कहाँ ल्याए जस्तो महशुस भयो। केही बोलिनँ। अब आइपुगिसकेका थियौँ, बोल्नुको कुनै अर्थ थिएन।
लिफ्टमा १० तलाका लागि साथीले दबायो। लिफ्ट घुचुक्क गर्यो र हामी १० तलामा पुग्यौँ। लिफ्टको ढोका खुल्यो ।
साथीहरु अगाडि हिँडे। अझ उत्साहित भए। म पनि पछि लागे गेट रहेछ। भित्र छिर्ने बित्तिकै महिलाहरुले खुब स्वागत गरे। यतिबेलासम्म हामी कहाँ आएको म अनविज्ञ थिए।
जब दुई जना साथीहरु सोफामा गएर बसे महिलाहरु तिथरविथर भएर बसेका थिए। काउन्टरबाट के बोलेको थियो मालिकले भाषा बुझिनँ। सबै महिलाहरु आर्मीको पर्यट खेल्न लाइन बसेझैँ खडा भए। केटाहरुले राम्ररी घोत्लिदै हेरे र औँलाले देखाए। एक एक गर्दै रोजे।
छान्न पाइने नियम हुँदो रहेछ। १० तले पुरानो घरको माथि महिलाको जवानी व्यापार! म झसंग भएँ। दैव बाच्न पर्ने रहेछ अनेक देखिने रच। लाजसरम केही छैन गाठे।
साथीहरु बानी परेका रहेछन्। कुनै नौलो हैन भन्दै छान्न थाले। मेरा आँखा तिरमिरायो। धत् स्काई टावर भनेक यहि हो? मलाई रिस पनि उठ्यो, पोखेँ। सँगै गएको साथी हतारमा एउटी महिला लिएर कोठा पस्यो।
कोठाहरु लहरै थिए। स्कूलमा ट्वाइलेटहरु त्यस्तै हुन्थ्यो- महिला र पुरुषका ढोकाहरु नि त्यस्तै लहरै छिरे।
१० तलाको खुब चर्चा हुन्थ्यो, यस्तो पो रहेछ चर्तिकला। यति पुरानो घरको १० तलामाथि यस्तो धन्दा हुन्छ भनेर कल्पना समेत गरेको थिइनँ। खुलेआमा शरीर बेचेको देखेँ। यो मेरो जिवनको पहिलो घटना हो। लाचार भई टुलटुलु हेरिरहेँ।
मनमा प्रश्नहरु निरन्तर उब्जियो। बहुत दुख लाग्यो। साथीहरु उत्साहित देख्छु तर म निरास छु। मैले यस्तो दृष्य देख्न पर्ला भनेर कल्पना समेत गरेको थिइनँ। संयोग आज साथीहरुको लहलहैमा आइपुगेँ।
मलाई सुनिता दनुवार दिदीको याद आयो। मैले पढेको थिए, कोठीमा आएको ग्राहकले आमा बनाई फर्कियो। अब म के बनाउँ।
साथीहरु रुपरंग हेरेर राम्री राम्री सुन्दरीहरु छान्दै थिए। परिचित अपरिचित मानिसहरुको भीड थियो। मानिसहरु एकैछिनमा सबै कोठा पसेँ। केही महिलाहरु कसैको नजरमा परेनन्, उनीहरु केही उमेर ढल्केका थिए।
उनीहरु बिक्रि भएनन्, कसैले किन्न चाहेनन्। म निकैबेर रेष्ट रुममा बसिरहेँ, नजान पनि पाइदो रहेछ। मलाई अनिवार्य जान पर्ने हो कि भन्ने डर लागेको थियो। तर त्यो परेन। केही छिन अगाडिको कोलाहल बजार सुनसान भयो। म सोफामा बसिरहेँ। एउटी महिला आएर तान्न थालिन्।
पिलिज् जाउ भनेर सुमसुम्याउन थालिन्। म अटेर भईरहेँ। केही जिज्ञासा राखेँ- डिभोर्सवाली रहिछिन् किन यो पेशामा आवद्ध भएको? फिलिपिन्सहरु यहाँ आउने जति सबै सम्बन्ध बिग्रेकाहरु हुन र? यसको जवाफ पाइनँ। उ केहीछिन बसेर रिसाउँदै उठेर गई। मेरो प्रश्नहरुले उसलाई भगायो।
कुनै प्रश्नको उत्तर दिन पर्ने हैन। ग्राहकले मन पराउँछ कि नाई भन्ने उनीहरुको एउटै तनाव थियो। साच्चै मैले यस अगाडि यति राम्री महिलाहरु देखेकै थिइनँ। कसरी उनीहरु सजिलै बेच्न सक्छन्। आफ्नो यति सुन्दर शरीर कसरी सुम्पिन सक्छन् अचेत अवस्थामा आएका बेसुर जड्याहरुलाई?
म सोचिरहेँ पटक-पटक फरक पात्र आउदै मलाई टेक इन्जोए भन्दै अनुरोध गर्दै गए। सुमसुम्याए। म डेग चलिन कस्तो जब्बर मान्छे रहेछ। खित्खिताउँदै केही भने उनीहरुकै भाषामा। गाली दिएकी त्यो मेसो पाइन मैले।
म थोडी उनीहरुलाई किन्न गएक हुँ? मेरो इच्छा पटक्कै थिएन। म त स्काई टावर चढ्न गएको हुँ सिटीको भ्यू हेर्न गएको हुँ तर स्काई टावर त्यो हैन रहेछ।
मोबाइल निकालेँ। क्लिक गर्नु पर्यो भनेर सोचेँ। फेरि लफडा होला भनि मौन रहेँ। आँट आएन थाहाँ पाए भने बर्बाद, मोबाइल खल्तीमा कोचेँ।
साथीहरु मुस्कुराउँदै असिनपसिन भएर कति नमिठो गन्ध लिएर आए। 'मज्जा आयो। धत् तपाई त हिजडा नै हो कि के हो? जानोस् फेरि यस्तो अवसर नआउन सक्छ। इन्जोए गर्नुस्,' उनीहरुले भने।
मैले ठिक छ तपाईहरु रमाउनुस् फेरि-फेरि आउला भनेर जवाफ फर्काए।
मलाई उसको त्यो वचनले नमिठोसँग घोच्यो। तर जवाफ दिन उचित ठानिन। सबैक इच्छा तथा आकांक्षाहरु मेल खादैन।
जानोस्! साथीले अन्तिमसम्म कर गर्दै थियो। नाई भयो, मुड छैन। पिलिज जबरजस्ती नगर्नुस् न ईच्छाको कुरा हो नि यार भनेँ।
पुरानो घरको रहस्यमय कथा फेला पारेपछि मलाई कुनै एउटा खतरनाक मिसनको नजिक पुगेको आभास भयो।
दिनमा त उज्यालो छदै छ, रातमा अझ धपक्क बल्ने यो सहरभित्रको कालो कर्तुत, कालो धन्दा यसरी मौलाएको देखेँ। मलाई त्यहाँ बस्न कठिन भईरहेको थियो। मनमा एक किसिमको पीडा भईरहेको थियो। शरीर बेच्ने प्रतिश्पर्धा बहुत चलेको फस्टाएको रहेछ।
मानिस यो अवस्थामा किन पुग्छ? बजारको सामान जस्तै तौली-तौली छानी-छानी किनिरहेका छन्। बाध्यता होलाकी रहर? यसको जवाफ मैले पाउनेवाला थिइनँ। मसँग रुष्ट भईसकेका थिए। मैले प्रश्न मात्र गरे झिनो आशमा उनीहरु मध्ये केहिले जवाफ दिए तर मैले उनीहरुसँग प्रताव अस्विकार गरेपछि जुरुक्क उठेर हिडे।
यो प्रश्न र जवाफ दिने ठाउँ हैन रहेछ। म स्वयमले महशुस गरेँ।
नयाँ पाहुनाको आगमन हुँदा बहुत स्वागत गर्ने संस्कार देखेँ। व्यापारको उत्कृष्ट पलिसी यही रहेछ।
बाहिर छतमा निस्किएँ। १० तला माथिबाट तल मानवनिर्मित सहरलाई परिक्रमा गरेको एउटा नदी देखियो। यो नदीको पानीमा पानीको मात्राभन्दा आँसु, विर्य र रगत बग्दो हो, मनमनै सोचेँ।
शरीर बेच्ने काम सहज छदै छैन। म अनुमान गर्छु के म मेरो शरीरको अंग सजिलै अरुलाई बेच्न सक्छु? प्रश्न आफैँसँग गरे- अहँ मरे सक्दिन। उसो भए हामीले उनीहररुमा देखेको खुसी, त्यो मुस्कान यथार्थ थियो त?
एउटा डिभोर्सवालीको कुरा सुन्ने वित्तिकै जति व्यस्थ मस्त छ, त्योभन्दा कयौँ गुणा संघर्ष र पीडा छ भन्ने लाग्यो। नदीमा डुङ्गा चलिरहेको छ। पानीको छाल छल्किन्छ, राम्रो देखिन्छ दृष्य तर पानी असाध्यै धमिलो छ।
त्यो बगेको नदीको पानी र १० तलाको जवानी उस्तै छ। दृष्य रौनक छ, पानी धमिलो छ, बहुत फोहोर छ। यता मस्त जवानी सुन्दर देखिन्छ तर जीवन अन्धकार छ। एउटी महिलाले शरीर बेचेर कहिलेसम्म जिवन धान्न सक्छिन्?
आफूलाई मेन्टेन गर्छिन। जति नै मेन्टेन गरे पनि एउटा निश्चित उमेर पुगेपछि मानिस अलग्गै देखिन्छन्। अघि भर्खर देखेको शरीर नबिकेपछि निराश भएका महिलाको पीडा महशुस गरेँ।
स्काई टावर हेर्न गएको म सुन्दरीहरुको जवानी देखेर निराश भई फर्किए। फर्किने क्रममा समाजसेवी कहलिएका मित्रहरु देखेँ। अहो बाहिर खुब आदर्श छाट्थे। १० तला विशेष भिभिआइपी खर्च गर्न सक्ने मात्र जाने रहेछन्।
जम्काभेटमा कहलिएका समाजसेवी निलो/कालो भए। तर उसले अलिकति अप्ठ्यारो पनि मानेनन्। सोधे- 'कस्तो लाग्यो माल?'
सबैजना सँगै थियौँ। म गइनँ भनेपछि उसको शीर निहुरियो। हामी गफिदै अगाडि बढ्यौँ।
उसको काम साधारण थियो तर सामाजिक काममा लागेको भएर खुब समाजसेवी भएको थियो। एकदम खुसी देखिन्थ्यो। केही समयपछि काम गर्ने क्रममा उसको हात मेसिनले काटिएछ।
फेरि म निशब्द भए। मैले उसलाई १० तलामा भेटेको दिन सम्झिए- कति रोमान्टिक मुडमा भेटेको थिएँ। उसको हात देखेर म दुखी थिएँ।
दाहिने हातको पाता नै लुच्छिएर मेसिनले लगेछ। दुर्घटना अपत्यारीलो थियो। चलिरहेको मेसिनमा एउटा फलामको टुक्रो पसेछ त्यसलाई निकाल्न खोज्दा हातमा लगाएको ग्लोब बेरिएर गयो।
काट्ने केही थिएन। कसैले देखेन। कोही मान्छे नजिक भएको भए बरु हातको पाखुरा निर काटेर निकाल्न सजिलो हुन्थ्यो। तर च्याप्दै गयो मेसिन घुम्दै गयो।
जतिसम्म जाने ठाउँ थियो पातासम्म सबै च्यापियो। सिँगो मेसिनले शरिर तान्यो। शरीरले हात। निकै बेरपछिको तानातानमा पात्ता चुडियो। बहुत डरलाग्दो गरि दाहिने हात चुड्डियो।
यदि पाता नचुडिएको भए ज्यान पनि चेपिन सक्थ्यो।
हात चुडिएपछि पनि उ दुखाई नै नभए जसरी पंखाको छेउमा गएर उभिएको दृष्य साथीहरुले देखेछन्। ताकी उसलाई भएको केही छैन। एउटा चुडिएको हात अर्को हातले बोकेर उभिएको देख्दा साथीहरु चकित परेछन्।
एम्बुलेन्समा हतारमा अस्पताल दौडाए। रगत निकै बगेकोले यस्तै भन्न सकिने अवस्था थिएन।
हप्ता १० दिनपछि अस्पतालबाट उसको डिस्चार्ज भएछ।
अन्ततः उसले एउटा हात गुमायो। जब म उसलाई भेट्न गए। उसले उही १० तलाको भेटमा गरेको गफ जस्तै गरि गर्यो। मलाई बहुत दुख लाग्यो उसको त्यो अवस्था देखेर। हामीले उसलाई सहयोग पनि गर्यौँ।
म डराए तर उ कति शाहसी निडर निर्भिक थियो। उसलाई आफ्नो हात गुमाएको भन्ने अलिकति पनि महशुस नै थिएन। दुई महिनादेखि डाक्टरको सल्लाह बमोजिम आराम गरिरहेको थियो।
एउटा हातले नै उ साईकल चलाएर हिडिरहेको देख्दा उसको शाहस देखेर म चकित भए। पछि फेरि उसले मजाक गर्यो- १० तला फेरि जाने होइन। उसको अवस्था त्यति नाजुक छ तैपनी उ १० तलाको सम्झना गर्दैछ।
यो धनसम्पत्ति र सेक्सले मानिस कहिले भरिपूर्ण नहुँदो रहेछ। केटालाई नारी र केटीलाई सारी कहिल्य धेर नहुने रहेछ। उसँगको केहीछिनको बसाईमा मिठास कुराकानी भयो। तर उसको पीडाको जो विषयको कारण भेट्न गएको थिए।
त्यो एउटा हात गुमेको विषयमा उसलाई कुनै मतलब नै थिएन। उसको केही भएको छैन, हात पनि अरु कसैको काटेको हो जस्तो महशुस गरायो। मानिस त्यति धेरै धैर्यवान जब्बर हुँदा रहेछन्। जस्तोसुकै पीडामा पनि मुस्कुराएर बाच्ने कला हुँदो रहेछ। निकै बेरपछि म छुटे अन्तमा उसले १० तलासम्म लगिदिनु पर्यो भन्ने अनुरोध गर्यो।
समय मिलाएर लगिदिउँला भन्दै म मेरो कोठा फर्किए...