खुशी लागिरहेको थियो, अब दोहोरो कुराकानी हुने भयो।
'तिमीसँग मेरो त्यस्तो कुनै सम्बन्ध छैन म यो हुँ भन्नलाई, तर केही खास कुरा गर्न मन छ भेटेर।'
'कस्तो कुरा?'
भेट्ने मौका देउ, सबै भन्नेछु।
'हेल्लो मिस्टर! तपाईंले भेट्न चाहँदैमा एभाइलेबल भैदिने केटी सोच्नु भएको छ कि क्या हो? चिन्नु न जान्नु, भेटौँ रे!'
आई एम सरी! तर तिम्रो दैनिक काममा बाधा नपर्ने गरी बोलाएको स्थानमा जुनसुकै बेला आउन रेडी छु। मैले फ्रड गरेको नठान, म तिमीले जसरी सोचेकी छौ, त्यस्तो मान्छे पनि होइन।
सिन भयो तर रिप्लाई आएन।
रातको ८ बजेको थियो, फेरि म्यासेज गरेँ।
खाना खायौ त?
'एस, एन्ड यू?'
छैन, अब बेला हुनै लाग्यो।
'ए, ए!'
मसँग भेट्नै मात्र पनि किन यत्रो डर के तिमीलाई। हुन त प्रायः केटी मान्छेको न त आँट हुन्छ, न त हिम्मत नै। हे, हे!
'ओ मिस्टर! मुख समालेर बोल्नुहोस है! चिन्नु न जान्नुको मान्छेलाई म किन भेट्नु?'
बोलेको छैन मिस, टाइप गरेको हुँ। यानिवे, यति ढिप्पी गरेको छु, पक्कै पनि केही काम भएरै कर गरेको छु, एकपटक भेट्दैमा बिग्रिने पनि केही हैन। मौका देउ तिमीले भनेको ठाउँमा जति बेला भन्छौ त्यती बेलै आउँछु म।
आशावादी थिएँ, अब त पक्कै पोजेटिभ रेस्पोन्स आउला भनेर। तर मेरो अनुरोधको जवाफ नै आएन। म्यासेज हेरेर पनि रिप्लाई नगरी सुम्निमा अफलाइन भैसकेकी थिई।
आज शनिबारको दिन पूर्वाञ्चल क्याम्पस, धरानबाट इन्जिनियरिङ गरेका सिनियर-जुनियरहरुको पुल्चोक क्याम्पस परिसरमा भेटघाट र हालखबर आदनप्रदानको कार्यक्रम थियो। जुनियरहरुलाई काम दिलाउन आवश्यक सहयोग र प्रोफेस्नल सम्बन्धलाई प्रगाढ एवम् सामुहिक एकता कायम राख्नलाई बेलाबेलामा उक्त प्रकारको कार्यक्रम गरिन्थ्यो। बिहानको खाना खाएर केही बेर आराम गरी सहभागी हुन त्यसतर्फ लागेँ।
कार्यक्रममा सहभागी भएर फर्किदा साँझको करिब ६ बजेको थियो। फ्रेस भईसकेपछि फेसबुक खोलेँ, सुम्निमालाई अनलाइन देखिनँ। न्युज फिड स्क्रोल गरेर समय बिताउँदै गर्दा केहीबेरपछि उनलाई अनलाइन देखायो।
म्यासेज गरेँ- 'हरायौ त!'
अझैँ रिप्लाई आएन।
एक्सक्युज मि मिस! धेरै फल फल्ने वृक्ष अहमताले नुहिएको पक्कै होइन भाउ खोज्ने तिनीहरु नै हुन् जोसगँ प्रेम र स्नेह होइन केबल घमण्ड भारी हुन्छ। मात्रै एकपटक तिमीसँग भेट्ने मौका देउ त भन्या हुँ नि।
उताबाट बल्ल जवाफ आयो-
'मिस्टर! मेरो पनि आफ्नै व्यस्तता हुन्छ। आज छुट्टिको दिन, म साथीहरुसँग थिएँ। म जस्ती छु ठिक छु। तपाईंले सोचेजस्तो घमण्डी पनि छैन म।'
सुम्निमा! मैले सोधेको कुराको जवाफ त देउ।
'लेट मि थिन्क फर ए ह्वाईल।'
सिन भएको करिब २० मिनेटपछि आएको रिप्लाई थियो।
दिदीले खाना खान बोलाउनु भयो। केहीबेरमा खाना खाईसकेपछि फेसबुक लगइन गरेँ।
'ओके भोलि दिउँसो साढे १ बजेतिर त्रीचन्द्र क्याम्पस एरिया आसपास भेटौँला। म अनलाइन नै हुन्छु, आएर म्यासेज गर्नुहोला।'
'होइन, मोबाइल हेर्दै मस्किराको छस त, के भो तलाई?' छेवैमा भएकी दिदीले जिस्काउँदै थिई।
हास्दै त्यस्तो केही हैन भनेँ।
उनको त्यो रिप्लाईले मन्द मुस्कान दिलाएको थियो।
करिब १ बजेतिर रत्नपार्क जाने गाडी चढेर केहीबेर हिडिँ त्रिचन्द्र क्याम्पस छेउ पुगेपछि फेसबुक अन गरेँ।
म कलेज नजिकै छु, आर यु फ्री नाउ?
'त्यता कतै बस्दै गर्नुस् , म ५ देखि १० मिनेटमा आईपुग्छु।'
घन्टाघर छेउमा रहेको एउटा रेस्टुरेन्टमा छिरेँ। एक हातले पानी पिउदै अर्को हातले मोबाइल चलाउदै उनको म्यासेजको पर्खाइमा थिएँ।
'हजुर कहाँ हो?' म्यासेज आयो।
आफू रहेको रेस्टुरेन्टमा बोलाएँ।
उ कति बेला आउली भनेर रेस्टुरेन्टको ढोकातर्फ नजर लगाईरहेको थिएँ।
फेसबुकमा मात्रै देखेको मुहार सुम्निमा.....ढोकाबाट प्रवेश गर्दै थिई। देख्नासाथ चिन्न समय लागेन।
मिलेको जिउडाल, गहुँ गोरो वर्ण, कसैसँग नलजाउने, नडराउने सुन्दर मुहार भएकी आँटिली एउटी नारी। पहिलो पटक उनलाई देख्दा यो मस्तिष्कले उनी बारे यही धारणा बनाईरहेको थियो।
हेल्लो! सुम्निमा। बसिरहेको कुर्सीबाट उठेर हात हल्लाउँदै उनलाई आफूतर्फ आउन इसारा गर्दै थिएँ।
'ओ.....आर यू उज्वल?' मेरो सामुन्ने रहेको कुर्सीमा बस्दै सोधी।
एस, आएम।
उसको लागि मैले भरेर राखिदिएको ग्लासको पानी पिउँदै मतर्फ नियाल्दै भनी- 'आई एम सरी! तर मेरो जिस्किने बानी छ। मान्छे कालो भएपनि नाम चै उज्वल रहेछ है। कति राम्रो नाम।'
न कुनै डर न कुनै संकोच, गलल हास्दै भेट्नासाथ जिस्काईरहेकी थिई। बाहिरी रुप झट्ट हेरेर उसको प्रकृति जुन रुपले आँकलन गरेको थिएँ, नभन्दै त्यही पुष्टि भैरहेको थियो। सबैसँग सजिलै खुल्न सक्ने निडर व्यक्तित्व।
मिस एक्चुअल्ली उज्वलको अर्थ कालोको उल्टो गोरो पनि होइन, रंग जस्तो भएनी यसको अर्थ चमकपन हो, फिक्कापनको बिपरित हो। संगत गर्दै जाउ, उज्वल शब्दकोषको अर्थमा जस्तै उज्वल नै छ। हे, हे।
उसको मजाकलाई मजाककै शैलीमा दरो झापु हानेको थिएँ।
'माइन्ड नगर्नु होला। म कसैसँग नि डराउदिन, मनमा लागेको कुरा खोलिहाल्छु। अलि चञ्चल खाल्की नि छु। सामान्य केटी जस्तो लजाउने बानी पनि छैन मेरो। अलिअली घमण्डी पनि छु, फेसबुकमा कुरा गर्दै थाहा पाउनु भयो होला।'
ड्याट्स गुड! तिमीलाई शब्दको अर्थ प्रष्ट्याएको हुँ, यस्तो कुरामा नि माइन्ड गर्ने हुन्छ र?
'उम... बल्ल बुझे नि त। अनि के हो खास अनि महत्त्वपूर्ण कुरा चाहिँ?'
हतार के छ र? बल्लतल्ल तिमीसँग भेट्न पाइएको छ। आरामसँग कुरा गरौंला नि।
यत्तिकैमा महिला वेटर अर्डर स्लिप लिएर आईपुगिन्। मौसम पानी पर्ला जस्तो धुम्म चिसो-चिसो थियो। उनको चोइसअनुसार त्यहाँ पाइने स्पेशल चिकेन पिज्जा र मेरो लागि क्यापेचिनो र उनको लागि अमेरिकानो अर्डर गर्यौँ।
अनि आजको क्लास सकिएको हो?
'होइन ब्रेक टाईममा आएकी हुँ, अझै दुई वटा पिरियड त बाँकी नै छ तर जान्न म, मेरो लागि छुट्टी हो अब।'
फुपुको घरमा बस्दै आएकी र उहाँकी छोरीको जन्मदिन भएकोले किनमेलको लागि समय मिलाउनलाई क्लास छोड्नु परेको थाहा पाएँ। एकअर्काको रुचि, घर, पढाई र अन्य वर्तमान अवस्था बारे कुरा साटासाट् भयो।
सुम्निमाको घर बुटवल रहेछ, शान्ती चोक एरिया। प्लस टु उतै तिलोत्तमा स्कुलबाट गरेको र आफ्नो लक्ष्य ईन्जिनियर बन्ने भएतापनि सोचेअनुरुप नहुँदा बिएस्सीमा भर्ना भएको कुरा बताइन्। उनको रुचि नयाँ ठाउँ घुम्ने, फिल्म हेर्ने, साथिहरुसँग घुलमिल हुने, रमाउने रहेछ।
'अझै विशेष रुचि भन्नुपर्दा विभिन्न समुदायको नयाँ-नयाँ खानाको स्वाद थाहा पाउनमा छ। म अलि बढी खन्चुवा छु नि,' हास्दै भनी।
ओहो! हजुरको र मेरो बानी एउटै रहेछ, म पनि खानामा विशेष रुचि राख्छु। म झन् एकदमै खन्चुवा छु।
'सबै रुचि, चाहनाहरु त पूरा गर्दै गएँ, तर ईन्जिनियर बन्ने चाहना अधुरै रह्यो। काठमाडौ आएर पिईएमा क्लास त लिएँ तर इन्ट्रान्सको नजिता सोचेअनुरुप भएन,' केही निराश भावमा भन्दै थिई।
आफ्ना सम्पूर्ण कुराहरु बताईरहँदा मैले आफुले अनुशरण गरेको फिल्ड ईन्जिनियरिङ हो भन्न तत्काल उपयुक्त ठानिँन। अन्य सबै सत्य बताएता पनि पढाई भर्खरै बिएस्सी सकेर अब एमएस्सि गर्ने तयारीमा रहेको सुनाएँ।
'लु अब कम टु दि मेन पोइन्ट! के हो खास कुरा चै?' उसले प्रसंग मोडी।
तिम्रो बोइफ्रेण्ड छ कि छैन?
'सरी! यो प्रश्नको उत्तर दिन आवश्यक ठान्दिन म,' सटिक प्रतिक्रिया थियो।
एक्चुअल्ली प्रष्ट कुरा भन्नुपर्दा म प्रशन्नको एकदमै नजिकको साथी हुँ, जो तिमीसँगै अध्ययन गर्छ। तिम्रो बारेमा जति प्रशंसा गर्थ्यो, त्योभन्दा झनै राम्री रहिछौ। फुलहरुको बगैंचामा गुलाफ त जसलाई पनि मन परिहाल्छ नि।
'अरे वाह! प्रशन्नको पो साथी! साथीको फ्रेन्डलिस्ट हेर्यो अनि जो मनपर्छ एड गरेर लाइन हान्न थाल्यो। अनि के-के काम छ भन्दै भेट्ने बहाना बनायो है!' आश्चर्यचकित मुद्रामा आक्रोश पोख्दै थिई।
नाई-नाई, कुरा त्यस्तो होइन।
'अनि भन्न के खोजेको? के हो त खास कुरा?' रिसाउँदै प्रश्न गरी।
यहि भन्न खोजेको हो कि तिमीलाई प्रशन्नले एकदमै मन पराउँछ। एकतर्फी चाहनामा डुबेर होला व्यक्त गर्न सकेको छैन। म मेरो साथीलाई राम्रोसँग बुझ्दछु। उसको हृदयमा तिमी प्रतिको प्रेम ईश्वरजसरी ससम्मान आदर र हार्दिकतापूर्वक सजिएको छ।
उसको विशुद्ध निस्वार्थ प्रेमलाई पूर्णता दिलाउँन मेरो तर्फबाट सक्ने सहयोग गर्न आवश्यक ठानेर तिमीलाई भेट्न खोजेको हुँ। मैले जति मेरो साथीलाई सायदै कसैले बुझेको होला। यो एकतर्फी प्रेमको सागरबाट जसरी हुन्छ उसलाई मुक्त गराउनु छ। उसको तिमीप्रतिको प्रेमलाई एउटा सार्थक रुप दिने नदिने तिम्रै हातमा छ। आगे तिम्रो मर्जी।
'मिस्टर उज्वल! कसैको साचो प्रेमको खिल्ली उडाएको नठान्नु होला, म पनि आदर गर्छु कसैको निश्चल भावनालाई। तर सरी कसैप्रति दया देखाएर भित्रैबाट फिलिङ्स नआईकन माया बस्न सक्दैन। प्रशन्न मात्रै होइन क्लासका सम्पूर्ण केटाहरू केवल मेरा साथी मात्रै हुन्। हेर्दा जस्तो देखिएतापनि प्रेमको मामलामा सिरिएस छु, प्रेम एउटैसँग होस् जोसँग सम्पूर्ण जीवन समर्पण गर्न सकियोस्।
इम्याचुअर फ्यान्टा टाइप लभमा मलाई कुनै इन्ट्रेस्टनै छैन महोदय। प्रशन्न आफैमा सही नै छन् तर मेरा लागि न त एउटा साथीभन्दा माथि छन् न त हुनेनै छन्। मेरो स्पष्ट धारणा यहि हो।'
के भन्नु, के नभन्नु अलमल्ल परेँ, उनको जवाफले निशब्द बनायो।
साढे ३ बजिसकेको थियो, बाहिर पानी पर्दै थियो। पानी तत्काल रोक्किने छाँटकाँट थिएन। उनलाई किनमेलका लागि अबेर हुन थालेकोले निस्कनै पर्ने बाध्यता पनि थियो।
'के हो मिस्टर! हिजोआज मौसम यस्तो छ, छाता बोकेर हिड्नुपर्छ नि। अब कसरी पुर्याउनु दुई जनालाई यो सानो लेडिज छाताले?,' म सँग रिसाउँदै थिई।
एउटै छातामा दुई जना गाडी चढ्ने ठाउँसम्म पुग्नुपर्ने थियो। छाता ओढाउने जिम्मेवारी सुम्पिदै मेरो हातमा थमाई।
रुझाउने खालको दर्के झरी थियो। सानो छाताले दुई जनालाई पुर्याउन हम्मेहम्मे थियो। आफू भिजे पनि उनलाई नभिजाओस भन्ने लाग्यो।
'मिस्टर! पूरै पखालिएर घर पुग्ने विचार छ कि क्या हो? मेरो मात्र पीर नमान्नुस्, आफ्नो ज्यानलाई पनि जोगाउनुस्,' छाताको बिड पक्रेको मेरो हातमा समाउँदै छातालाई मतर्फ ढल्काएर हास्दैँ भनि, 'बल्ल बराबर भयो।'
अझै नजिक बनायो उनको बराबरको प्रस्ताबले। हो बराबर, उनी र म बराबर...महिला र पुरुष बराबर...।
बराबर भिज्ने अनि बराबर जोगिने...।
त्यो हातको स्पर्श जसले बराबरको निम्तो दियो र नजिक बनायो। निश्चल पोखरीको बीचमा एउटा सानो ढुंगा फ्याक्दा तरंगहरु चारैतिर फैलिए जस्तो। ढुंगा सानो छ, ठूलो पोखरीको सानो भागमा स्पर्श दिदा पूरै पोखरीमा तरंग फैलिन्छ, त्यसैगरी उनको स्पर्शले तरंगित बनाएको थियो, ताप दिएपछि पानी तातिन बाध्य भए जसरी।
१० मिनेट जतिको त्यो आभाष गोधुली साँझको अन्तिम किरण जस्तै थियो, अझैँ हेरुँ-हेरुँ लाग्दा लाग्दै पूर्णरुपमा सूर्य अस्ताए जस्तै।
उनलाई कोटेश्वर जानुपर्ने थियो अनि मलाई सिनामंगल। बस स्ट्याण्ड पुगेपछि बिदाईको हात हल्लाउँदै बेग्लाबेग्लै बसमा चढी छुट्टियौँ।
प्रकृतिको नियम न हो, आखिरमा खहरे र खोल्साहरुले खोज्ने भनेकै नदी हो र नदीले खोज्ने भनेकै सागर। कता-कता भौतारिएको आफ्नो चाहना कोही भेटिएर अड्किए जस्तो भान भयो।
हो, बगैंचाहरु बीचमा आफूलाई मनपर्ने फूल भेटे जस्तो। सुन्दरता, निडरता र धैर्यताले भरिपूर्ण नारी... सुम्निमा। उनीसँगको त्यो भेट र उनको बारेमा सोच्दा सोच्दै कति चाडै सिनामंगल आईपुगेँ, पत्तै भएन।
म झस्किएँ, ओहो! सुम्निमा त एकदमै प्रिय मेरो साथीको विशुद्ध प्रेमको प्रतिमूर्ति पो हो त। हैन यो के सोच्दै छु म। उसको रोजाईलाई खोस्न खोजिरहेछु, म यो के गरिरहेछु।
बेलुकीको खाना खाईसकेर ओछ्यानमा पल्टिरहेको थिएँ। सुम्निमा, प्रशन्न र एलिना बाहेक अन्य कुनै कुरा सोच्न सकेको थिएन यो मनले। न त घटनाले सोचेअनुरुपको मोड लिएको थियो न त यो दिलले। मस्तिष्क र दिलको अन्तर्द्वन्द चलिरह्यो। शारीरिक सास्ती नभएपनि थकान महशुस भैरहेको थियो।
सबैका चाहाना र रहर उस्तै त हुन नि। जसरी एलिना प्रशन्नप्रति एकाग्र छे, उसकै यादमा प्रताडित छे, त्यसैगरी प्रशन्न एलिनासँगको सम्बन्धलाई पूर्णबिराम लगाउँदै सुम्निमासँगको एकोहोरो प्रेममा लिप्त छ। पुरानो आफ्नो सम्बन्धबाट टाढा हुँदै छ, एक स्वार्थी प्रेमीको ट्याग भिरेर।
अनि उज्वल अब रह्यो तेरो चाहनाको कुरा, तेरो हृदयको कुरा। तैले जस्तो नारीलाई आदर्श ठान्थिस, त्यही गुण भएकी फेला पारेको छस्। मरुभूमिमा कोसौँ लामो यात्रा तय गरिरहेको एउटा फिरन्तेले प्यास मेट्न पानी भेटे जस्तो। तैले कसैको सम्बन्धलाई तोडेर आफ्नो सम्बन्ध जोड्न खोज्दै छैनस्, न त तेरो दिलले गलत गर्दै छ, न त दिमागले।
प्रशन्न र एलिनाको सम्बन्ध पहिला जस्तै बनाउन कोशिस गरेको तँ उल्टै सुम्निमासँग प्रशन्नको नयाँ सम्बन्ध स्थापित गर्न लागि परेको छस्। ठिकै छ एउटा असल मित्रको मनको विशुद्ध प्रेमलाई सार्थक बनाउन लागि त परिस् तर सुम्निमामा उप्रति कत्ति पनि रुचि नै छैन। तर तँ निष्पक्ष छस् उज्वल। अब आफ्नो अन्तर्रमनको भावनालाई उजागर गर। चाहानाको शिखर नजिक छस्, चुम्ने कोशिस गर।
एक्कासी निन्द्राबाट बिउझिएँ।
ओहो! कस्तो सपना हो यो। प्यास लागेकाले छेउमा रहेको बोतलको पानी पिएँ।
त्यो सपनी अनि त्यो प्यासले सुम्निमा प्रतिको तिर्सनालाई बिम्बित गरेको थियो।
समय हेरेँ। मध्यरातको २ बजेको रहेछ।
कस्तो संयोग फेसबुक खोल्दा च्याट हेडमा लगातार सुम्निमा, एलिना र प्रशन्नको म्यासेज देखापर्यो।
'हेल्लो ईन्जिनियर साब! आफ्नो पढाईप्रति हिनताबोध छ कि क्या हो, कि वितृष्णा जागेर हो वास्तविकता लुकाएको?'
लुकाएको कुरा कतिनै बेर टिक्ने रहेछ र, सुम्निमाले मैले नखोलेको कुराको यथार्थता थाहा पाईसकेकी थिई। अचम्म लाग्यो! न त मैले आफ्नो प्रोफाइलमा पढाई खुल्ने खालका जानकारी राखेको थिएँ, न त प्रशन्नसँग उसले कुरा गरेपनि प्रशन्नले मलाई नसोधी मेरो बारे कुरा खोल्ने चान्सनै थियो।
म ट्याग भएको एउटा पुरानो पोस्टमा सुम्निमाले कमेन्ट गरेको नोटोफिकेशन देखा पर्यो। ईन्जिनियरिङ फाईनल सेमेस्टरको परीक्षा सकिएको अन्तिम दिन धरान, स्विमिङ पुलमा गरिएको फेयरवेल पार्टीको ग्रुप फोटो रहेछ। पुरानो फोटो हेरेर उसले थाहा पाएकी रहिछ।
कमेन्टमा मलाई मेन्सन गर्दै लेखेकी थिई- 'कङ्ग्र्याचुलेसन्स ईन्जिनियर साब! उज्वल अधिकारी।'
'उज्वल! के छ? के हुँदैछ यार? सुम्निमासँग कुरा गरिस् त?' एक हप्तापछि प्रशन्नले गरेको म्यासेज थियो।
रातको सभा ११ बजे पठाएको एलिनाको म्यासेज पढेर स्तब्ध भएँ।
'सम्झी-सम्झी ती पलहरुलाई
जलन हुन्छ मुटुभरी,
हृदयको तस्वीरलाई
मेटाउ मैले कसो गरी?
प्रेमको कुनै बात हुँदैन
नतड्पेको कुनै रात हुँदैन।'
अझैँ पनि उसलाई बल्झाईरहेको थियो प्रशन्नको यादले।
सबैको म्यासेज हेरेँपनि तत्काल सुम्निमाको म्यासेजको मात्र रिप्लाई गरेर अफ भएँ।
यी पनि :
जुकरवर्ग लभ
जुकरवर्ग लभ- भाग २