दादा म हजुरलाई भेट्न चाहन्छु।
शुक्रबार बेलुकी फेसबुकमा आउनासाथ एउटा म्यासेज देखा पर्यो। साढे ११ बजिसकेको थियो। यति बेलासम्म अन थिई एलिना।
अँ ....भन बुनु, के पर्यो त्यस्तो?
दादा, भेटेरै भन्छु सबै कुरा।
सुन्नुन, भोलि दिउँसो २ बजेतिर भेटौँन। हजुर फुर्सद नै हुनुहुन्छ होला नि?
शनिबारको दिन म जुन टाइम पनि फुर्सदमा हुन्थेँ, त्यही कुरा उनलाई बताएँ।
इटहरीको चिन्तन चौतारीमा उ कुरेर बसिरहेकी थिई। म पुग्नासाथ दुई कप कफिको अर्डर गरी।
खै, कुराका बाट सुरु गरुँ.....। आजकाल स-साना कुराले पनि धेरै ठूलो तनाव दिने गरेको छ दादा मलाई। च्याट बक्समा देखिने ग्रीन कलर मेरो आँखाको लागि एलर्जी भएको छ। जबजब फेसबुकमा आउछु तबतब मेरो मन अमिलिन्छ...।
तैपनि नआई रहन मनले मान्दैन। सायद यसैलाई भन्छन् फेसबुकको नशा। पहिले कतिबेला अन आउँ अनि उसित धित मरुन्जेल कुरा गरुँ जस्तो हुन्थ्यो। तर अचेल ठिक उल्टो भएको छ।
कसैले म्यासेज गरे भने पनि टाइप गर्न ह्याङ लाग्छ। त्यसैले आफ्ना नजिकका हरुलाई पनि रिप्लाई दिन्न।
उनको यो परिवर्तन प्रति जिज्ञासा राखेँ। उ बोल्दै गई....
उसको व्यवहारदेखि प्रताडित छु दादा म। पहिले उसले देखाउने व्यवहार र अहिलेको व्यवहारमा आकाश जमिनको फरक छ। हामी नमुना थियौं निश्चल प्रेमको दुनियाँमा। पन्ख फिजाई खुला आकाशमा डुल्थ्यौँ स्वतन्त्र प्रेमको महशुस गर्दै।
म उ प्रति समर्पित थिएँ अनि उ म प्रति। ती दिनहरू अब रहेनन् दादा। मलाई विशाल प्रेमको सागरमा डुबाएर उ बिलिन भयो। म निस्सासिँदै छु प्रेमको सास फेर्न नपाएर। कति कोशिस गर्दै छु बाच्नलाई। तर प्रेम श्वास बिना अब रहन्न होला यो दुनियाँमा।
उ भन्ने गर्थ्यो, समय परिवर्तनशील छ एलिना, यदि तिम्रो मन नि परिवर्तित भयो भने के गर्नु? सायद त्यस दिन म रहन्न यस संसारमा। म सधैंभरी तिमी सँगै रहन चाहन्छु।
उसको बोलिमा कति मिठास् थियो।
मबाट कदापी त्यस्तो हुने छैन प्रशन्न। प्रेमको दुनियाँमा परिवर्तित बन्न सिकेकी छैन मैले। बरु उल्टा नहोस् तिम्रो भनाई, यहि कामना गर्छु।
नभन्दै, जे नसोचेको त्यही भयो। उ आफ्ना वाचामा उल्टो बनेर निस्कियो।
उ बोल्दै थिई, म एकतमास उनलाई हेरिरहेको थिएँ। साँच्चै, उ इनोसेन्ट थिई। म उनको निश्चलतालाई नियाल्दै थिएँ। मेरो मनलाई भावुक बनाईसकेकी थिई उसले।
प्रशन्न, मेरो आत्मिय मित्र, तर उसँग सम्पर्कमा नभएको तीन महिनाभन्दा बढ्ता भैसकेको थियो। उसले बिएस्सि थर्ड ईयर त्रिचन्द्र क्याम्पसमा ट्रान्सर्फर गरेयता हामी एकआपसमा बेखबर थियौं।
एलिनालाई कक्षा ११ देखि म्याथम्याटिक्स र फिजिक्स विषयको ट्युसन पढाएको थिएँ। उनीहरुको कक्षा १२ को परीक्षा सकिएपछि मैले पढाउने गरेको ट्युसन सेन्टरले पिकनिक अर्गनाइज्ड गर्यो भेडेटारमा।
त्यसै दिन प्रशन्न र एलिनाको भेटघाट र चिनजान भएको थियो। उनीहरु बीच सामिप्यता प्रदान गर्ने वातावरण मैले नै मिलाएको थिएँ।
एलिना मसँग फेसबुकमा एड थिई। प्रशन्नको आग्रहअनुरुप मैले एलिनाको आइडी उसलाई फ्रेन्ड सजेस्ट गरेपछि उसले एलिनालाई एड गर्यो। फेसबुकमार्फत उनीहरु नजिकिँदै गए, प्रेमका मिठा-मिठा सपना बुन्दै गए।
उनीहरु खुशी थिए। बेलाबेला मलाई पनि तिता-मिठा प्रेमानुभूति शेयर गर्थे। उनीहरु बीचको सानातिना मनमुटाव र असन्तुष्टि मैले नै मिलाउनु पर्थ्यो। उनीहरुको प्रेम अभिभावक थिएँ भन्दा फरक नपर्ला।
आज फेरि अभिभावकको नाताले डाकिएको थिएँ। कसैको मनका बहहरु सुनिदिँदा मात्र पनि आधा पिर घट्छ। उ मनका भारी बिसाउँदै आफू हलुका बन्दै थिई। म उनका भारीहरुलाई ग्रहण गर्दै आफू भारी हुँदै थिएँ।
न फेसबुकमा राम्रोसँग बोल्छ, न त मेरो फोन नै रिसिभ गर्छ। खाली मैले नै उसलाई फेसबुकमा बोलाउनु पर्ने, त्यही पनि मन नलागी-नलागी रिप्लाई दिन्छ। कति चोटी उसलाई अनलाइन देख्थेँ। उसले बोलाउला कि भन्ने आश गर्यो तर अहँ, उसले वास्तै गरेन।
अति भएपछि म्यासेज गरेँ उसलाई....
किन यस्तो गरेको प्रशन्न, मबाट के त्यस्तो गल्ती भो र? किन मलाई बार-बार तड्पाइरहेछौ?
मैले त्यस्तो के गरेँ र एलिना?? कसरी तड्पाएँ तिमीलाई??
उ मुटुमा छुरा रोप्छ अनि दुख्यो एलिना भनेर सोध्छ। म हैरान भए दादा उसको इग्नोरले गर्दा। त्यसैले म पनि उसको छेउमा सानो बन्दिन भन्ने प्रण लिएँ, अचेल उसलाई भुल्ने कोशिस गर्दै छु।
फेसबुकमा उसलाई अन देख्छु, तर बोलाउदिन। अब दादा मेरो एउटै इच्छा छ यो जान्ने कि, किन त्यस्तो गर्यो उसले? हजुर त उसको बेस्ट साथी...। प्लिज दादा यी सबका कारण थाहा पाउने मेरो अधिकार प्रत्याभूत गरिदिनुस्,जसरी हुन्छ, प्लिज।
उ भक्कानो छाडेर रुन पो लागि। मेरो मन पनि नरमाइलो भो, हाम्रो छेउछाउमा रहेका सम्पूर्ण मानिसको ध्यान हामी तिरै रहेछ। मलाई अलि अफ्ठ्यारो फील भो।
उनलाई नरोउ भन्न मन थियो, तर रुनबाट पनि रोकिन किनकी उनका आँसुहरुले मनका भेलहरु बगाउदै थिए। आँसुमार्फत मनभित्रका पीडाहरु पखाल्दै थिई। मनको मैलो धुदै थिई।
अर्डर्ड म:म र रेडबुल लिई आएको वेटर उनको रुवाईलाई नजानिदो पाराले नियाल्दै थियो।
एलिना तिम्रो इच्छा पूरा गर्ने वाचा गर्छु। म केही कामको सिलसिलामा काठमाडौं जादैछु। प्रशन्नलाई भेटेर तिमीहरु बीचको दूरताको कारण पत्ता लाउने छु। किन उसले त्यस्तो विहेभ गर्यो तिमिलाई थाहा पाउने छु।
मनमनै यो पनि प्रण गरेँ, तिमीहरू बीचको फाटोलाई सिलाउने छु, तिमीहरूको पुनर्मिलन गराउने छु।
इट्स टाईम टु गो एलिना। हेर त साझँ परिसक्यो। यति बेलासम्म उनका आँसु झर्न रोक्किसकेको थियो र झरेर गालामा रहेका आँसुका अंशहरुलाई रुमालले पुछ्दै टाउको हल्लाएर हुन्छको संकेत दिँदै भनी- सरी दादा, म बढी इमोस्नल भएछु।
केही छैन बुनु, अब तिमी हलुका भएकी छौ। मनमा नानाथरी कुरा खेलाएर कमजोर बन्ने कोशिस नगर्नु। जिन्दगी लामो छ, यस्ता उतार-चढावहरुको सामना गर्दै आफ्ना सफलताका पाइलाहरुलाई अघि बढाउँदै जानुपर्छ।
थ्याङ्क यू दादा।
यू आर वेलकम बुनु।
छुट्टीने बेला बीलको पेमेन्ट गर्ने इच्छा थियो, तर उसले पैसा तिर्न दिइन।
पैसा तिर्नका लागि बढाएको हात थप अगाडि बढ्नबाट रोक्दै भनी- नो दादा आज मेरो पालो, मेरा लागि हजुर आईदिनुभएको हो, हजुरका लागि म आको हुँ र ? बिल तिरेर मलाई लज्जित नबनाउनुस्।
चिन्तन चौतारीबाट एलिनासँग छुट्टिएपछि मनमा उनीहरुका कुरा मात्र खेलिरहे।
जसरी भए पनि उनीहरु पहिले जस्तै मिलेको हेर्न चाहन्थेँ। त्यसका लागि प्रशन्नलाई भेटेर उसका कुरा पनि सुन्न आवश्यक थियो।