तिमी आमा मेरी हृदयतलकी मालिक धनी
पिलायौ धारा दुग्ध समन गरी संकट पनि,
गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा
तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा।
अरे संसारैले भनन जननी भुल्छ कसरी?
भयो मान्छे स्वार्थी तब त ममता खुल्छ कसरी?
जसै पोल्थ्यो, दुख्थ्यो मन भतभती दिन घरमा
तिमी मेरी आमा मकन त हुँ माग्ने हठमहाँ।
तिमी माते ज्ञानी भुवन छ उँचो निष्कपटको
तिमी नै हौ खानी भुवनभरकी स्वच्छ घर हो,
तिमी नै हौ तीर्थै व्रत र अझ पूजा सब भयो
सबै झुक्छन् आमा जगत जननी शास्त्र बल हो।
त साराले बोलुन् गुन सब धनी एक जननी
कथा गाथा हाम्रा अघट ममता पावन भनी,
खुला आकाशै हो अटल जगमा मातृ ममता
सबै ज्ञानी हुन्छन् घर र परमा एक समता।
बढे सारा प्यारा छ शीर उनको हात सबमा
लिई आशीर्वादै कठिन पथको साथ भवमा,
परे साह्रो-गाह्रो हृदय उनको कोमल कति
तिमी आमा देवी! भुवनभरकी पूज्य दिलकी।।