घर बस्न गाह्रो भएकालाई के था, घर पुग्न कति गाह्रो हुन्छ!
घर...। जो बूढो बा आमा भन्दा पनि बिरामी छ। कच्ची बाटोमा टिपर हिँड्दा घरलाई काम ज्वरो आउँछ। वैशाख महिनामा हुरी आउँछ, बिरामी घर छोडेर छानो भागी रहन्छ। बाँधेर राखेको छानो असार साउन भरी धरधरी रून्छ। आँसु थाप्न घरमा पर्याप्त भाँडा पनि छैनन्।
महललाई घर भन्नेले जसलाई गोठ पनि भन्दैनन् त्यहीँ ठाँउमा कुनै रात आरामले उग्राउन, हामी यो यात्रा गर्दैछौं। लडेको खामो उठाउन, महिना दिनअघि आमाले निम्तो सुनाकी थिइन्। देश र घरको दूरी लामो भएपछि, मजदूरलाई छोरो बन्न दसैं आउनुपर्छ,जसरी मजदूरलाई जनता बन्न चुनाव आउनु पर्छ। हिँड्दा हिँड्दै लडिएन भने, लडेको खामो पक्कै उठाउने छु।
चुह्लो छेउमा रासन सक्किएपछि, ‘घरै बस्नुस्’ भन्ने भाषणले पेटको ग्यास मार्न सकेन। हामीले जीवनभर बचतको नाममा, भोलिको लागि बासी खाना मात्र बचायौं। काम बन्द भएपछि साहुले किन पालिराखोस्।
सरकारको राहतले हाम्रो चुल्हो चिनेन। ज्यालामा जिउनेहरूलाई सहरले कहिलै आफ्नो मानेन। कौसीमा बसेर हावा खानेले कसौडीमा हेरेर हावा खानेको व्यथा कसरी बुझोस्। आफ्नो छानो आकाश देखेपछि टेकेको धर्ती भासिन्छ।
लाग्यो....यो सहरमा मरियो भने लासले चिता भेट्दैन। त्यसैले पाँच हजार रुपैयाँ र एक करोड साहस बोकेर हामी तीन जिउले काठमाडौं छोड्यौं। दुई जिउ सुशीलाको एक जिउ मेरो। नागढुङ्गा नकटेसम्म मैले कतै पनि थुकिनँ। पसिना नचिन्ने ठाउँमा, थुक खेर फाल्न मन लागेन।
बास बसेको सटरमाथि रामपुर चितवन लेखिएको छ। आज सातौं दिन।
हिन्दी सिनेमाको गीत सुन्दै बसमा गुडेको यही बाटोमा, श्रीमतीको अइया.. सुन्दै हिँड्नु पर्ला भनि कैले सोचेको थिइनँ। खुट्टाको ठेला त फुटिजाला। मनको ठेला के ले फुटाउनू? जुत्ताको सोल खिइयो। पैतालाको सोल सुन्निएको छ। यस्तो गर्मीमा पनि थकाइले खुट्टा लगलग काप्दैछन्, घर नहुनेलाई जाडो आउन कुइरो लाग्नु पर्दैन,थकाइ लागे पुग्छ।
सुशीलाको अनुहार सुन्निएर पाँच महिने पेटजत्रै देखिएको छ। दु:ख बोकेर म त हिँडौंला। दुखाइ बोकेर ऊ कहाँसम्म पुग्ली! खाली पेट बोकेर म त हिँडौंला। पेट बोकेर ऊ कहाँसम्म पुग्ली। हिँड्दा हिँड्दै सास छुट्यो भने? जसरी छुट्यो साहूको इँट्टाभट्टा। सास साहू जस्तो बैगुनी त नहोला। बीचै बाटोमा छोडिदिने!
सुशीलाले खुट्टा पसार्न सकेकी छैन। हुने खानेलाई खुट्टा पसार्नु आराम हुन्छ। हुँदा खानेलाई खुट्टा पसार्न पनि दाह्रा किट्नु पर्ने। शब्दको मर्म पनि वर्गीय हुँदो रहेछ। हरेक रात हिँड्न सक्दिनँ भन्दै रूँदै निदाउँछे।
बिहान मभन्दा पहिला उठेर ‘जाम् बूढा’ भन्छे। बिहान उसको त्यही हाँसो खाएर म दिनभरि हिँड्न सक्छु। उसले खाने त्यही दालमोट चिउरा हो। त्यो पनि भोलिको लागी फारू गरेर। दालमोट चिउराबाट के तत्व सोसिएर खाँदो हो मेरो बच्चाले।
पेटमा चिउरा ढाडिएर उसलाई बस्ने ठाउँ पनि साँघुरो हुँदो हो!
प्यास लाग्दा जंगलको बीचमा देश याद आउँछ। झन्डा फहराउँदै पानी जहाज आए जस्तै, आँखाबाट ओठसम्म आँसु आउँछ। समुद्रको पानी नुनिलो हुन्छ रे। आफ्नै आँखा समुद्र रै’छ भन्ने कुरा बल्ल बुझ्दै छु। हिँड्दा हिँड्दै कुरै कुरामा हामी घरसम्म पुग्नेछौं।
यथार्थमा घर त आकाश भइदिन्छ। पुग्दै नपुगिने ठाँउ। गाडीको टायर पड्किने यो रापिलो पिचमा पैताला पन्चेट हुन दिएको छैन। ‘गरिब कमजोर किस्मतले, गरिब बलियो हिम्मतले।‘
हरेक दिन आँगन सम्झेर दुई पाइला बढी चाल्छौं। आशाले। र हरेक दिन सरकार सम्झेर एक घन्टा बढी हिँड्छौ। निराशाले।
हामी लुकेर हिँडेका छैनौं। देशले नदेखेको मान्छेलाई लुक्न जरूरी पनि छैन। कुनै बेला हिँड्दा हिँड्दै बसको हर्न सुनिन्छ। फर्केर हेर्यो झझल्को हुन्छ। फेरि सोच्छु- चुनाव आउन महिनौं बाँकी छ।
सरकार हामीसम्म आउने कारण पनि त छैन नि।
हामी त एउटा भोट हौं। खसाले पछि सक्यो। विदेशले पो रेमिट्यान्स दिन्छ,हामीले त दुई छाक खाएर सिप्टी मात्र भरेका छौं। पसिना त माटोले सोस्छ। माटो कहाँ देश हो र? नत्र जुत्ताभरि माटो हुँदाहुँदै सुशीला ‘हाम्रो कोइ छैन’ भनेर किन रिसाउँथी?
जनताहरू घरमा बस्छन्। गोठमा बस्ने मान्छेलाई जनता भनिँदैन। नागरिकता पाएर मात्र नागरिक नभइने रै’छ। नत्र सुशीला र म यहाँ पसिना गनाउँदा, काठमाडौंबाट मासु बासना कसरी आयो? मजदूर विवश हुँदा पनि मजदूर दिवस आउँदैछ।
मेरै अनुहारको केक काटेर मनाउनु। तिम्रो नारा सुनेर पेट मिचीमिची हाँसौंला। र यही आकाशमुनि कतै, सुर्तिसँगै तिम्रो नाममा एक डल्लो थुक थुकौंला।
४ कक्षामा देश आमा हो भनेर पढेको थिएँ। ७ दिन भयो नुन बारेको। दलान टेक्नु अघि मरिएन भनें, देशको काजकिरिया घरमै पुगेर गर्छु। मजदूरबिना ज्याला काम गर्दैन। हरेक पाइलाको हिसाब राखेको छु।
बाटो नापेको ज्याला सरकारलाई चर्को पर्नेछ। यो घरको मात्र यात्रा हैन। भोक निराशाले मभित्र जन्माएको विरोधको यात्रा हो।
संसारै नदेखेको मेरो बच्चाको संघर्ष हो। खुट्टानै नबन्दा पनि, कोशौं हिँड्नु परेको मेरो बच्चाको दुखाइ हो। सास फेर्न नजान्दा पनि हाप्नु परेको मेरो बच्चाको थकाइ हो। म रिसाएर दुई चार शब्द अरू लेख्नु थियो, तर सुशीलाले कोट्याई। आज सुतेकी छैन। सिमेन्टीको चिसो,तन्नाले मात्र कसरी धानोस्!
– ए बूढा....हाम्रो छोरा हुन्छ कि छोरी ?
– तँलाई के चाहियो?
– सिधा उत्तर देऊ न। के सधैं सवालमाथि सवाल थाप्छौ।
– जे भए नि हुन्छ। भेदभाव छैन।
– नाम चै के राख्ने?
– विरोध ... (सायद म अघि कै आफ्नो मनोदशामा थिएँ)
– यो त केटाको नाम हो ।
– संघर्षको कुनै लिङ्ग हुँदैन।
हाम्रो भोकको लम्बाइ नाप्न राज्य दैलोमा आउँदा, त्यो बेला चुनावको माहोल हुनेछ। तबसम्म मेरो विरोध पनि हिँड्ने भैसकेको हुन्छ/हुन्छे। मभित्र जन्मेको विरोधले यो नजन्मेको विरोधको कसम खायो ‘दारू र मासुमा बिकेर भोट कैले हाल्ने छैन।‘