कविता
सडकमा सवारी चलाउँदा लेन क्रस गर्नुहुन्न थाहा छ मलाई, तर म गर्छु,
पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गर्नुहुन्न थाहा छ मलाई, तर म गर्छु,
फुटपाथमा हिँड्नै नमिल्ने गरी पसल थाप्न पाइन्न थाहा छ मलाई, तर म थाप्छु,
सडकमा जथाभावी हर्न बजाउन पाइन्न थाहा छ मलाई, तर म बजाउँछु,
अरुलाई गाली गलौज गर्नुहुन्न थाहा छ मलाई, तर म गर्छु,
सडकमा जथाभावी हिँड्दा दुर्घटनामा पर्नसक्छु थाहा छ मलाई, तर म हिँड्छु,
तीव्र गति जीवन क्षति थाहा छ मलाई, तर म तीव्र चलाउँछु,
सार्वजनिक यातायातमा आरक्षण सिटमा बस्नुहुन्न थाहा छ मलाई, तर म बस्छु,
लाइसेन्स, ब्लुबुक बिना सवारी चलाउनु हुँदैन थाहा छ मलाई, तर म चलाउँछु,
महिलालाई अनावश्यक जिस्काउनुहुन्न थाहा छ मलाई, तर म जिस्काउँछु,
खोलामा फोहोर फाल्न हुन्न थाहा छ मलाई, तर म फाल्छु,
भ्रष्टाचार गर्न हुँदैन थाहा छ मलाई, तर म गर्छु,
ठग्नुहुन्न, लुट्नुहुन्न, पिट्नुहुन्न, सबै थाहा छ मलाई, तर म गर्छु,
बलात्कारीहरू त खुलमखुल्ला हिँड्न पाउँछन् भने मैले चाहिँ किन नपाउने?
नियम मैले मात्र मान्ने हो र?
नेताहरू झूट बोलेर सत्ता चलाउन पाउँछन् भने मैले चाहिँ किन नपाउने?
नियम मैले मात्र मान्ने हो र?
ठेकेदारहरू सडक र पुल अलपत्र छाडी आरामले बस्न पाउँछन् भने मैले चाहिँ किन नपाउने?
नियम मैले मात्र मान्ने हो र?
हत्या गरेर सत्ता चलाउन त पाइन्छ भने मैले चाहिँ किन नपाउने?
नियम मैले मात्र मान्ने हो र ?
यहाँ अरु कसैले नमानेको नियम म किन मानौं ?