मान्छे मान्छे एउटै हुनुपर्छ
मन ले मन छुनुपर्छ
गाउँ बसे पनि, सहर पसे पनि
कत्ति पनि हामीले पराइ सम्झेका छैनौं
हे छिमेकी दाइ !
हाम्रो घरबेटीलाई भन्दिनू न है !
हामी पनि भर नभएका हैनौं
छाप्रै होस्, कुटी होस् घर नभएका हैनौं
समयले लखेटेर सहर पसेका हौं
उनलाई रत्ति पनि पराइ सम्झेका छैनौं !
हुँदा खाने, हुने खाने दुवै हुन सक्छन्
घरमा बसे पनि डेरामा बसे पनि
मौका पाए सबैले
सफलताले आकाश छुन सक्छन्
हे समाचारदाता हो !
हाम्रो घरबेटीलाई भन्दिनू न है
हामी पनि उदार मन नभएका हैनौं
करोड अर्बमा नहोला धन नभएका हैनौं
बाध्यताले सहर पसेका हौं
उनलाई कत्ति पनि फरक सम्झेका छैनौं !!
बाँचुञ्जेल जोहो गर्नु नै रहेछ
भएको सबै छोडी मर्नु नै रहेछ
कुवेर भए पनि सुदामा भए पनि
हे प्रभु ! हाम्रा घरबेटीलाई यस्सो भन्दिनू न है
हामी अर्को ग्रहका असभ्य मुन्छे हैनौं
गरिबीले,द्वन्द्वले धपाएर बजार पसेका हौं
आफ्नै सम्झेर मुसुक्क हाँसी दिए
सुख दु:ख साट्न तयार छौं
उनलाई साँच्चिकै बिरानो सम्झेका छैनौं !!
भएकै भए पनि कमजोरी
मन माझ्न तयार छौं हामी
नराम्रो गर्नेको चेत खुलोस्
राम्रो गर्नेको मन नदुखोस्
हे मेरो सरकार!हाम्रा घरबेटीलाई भन्दिनू न है !
जहाँ जसरी बसे पनि हामी नेपाली बनौं
नेपाल र नेपालीको जय होस् भनौं
नेपाल र नेपालीको जय होस् भनौं !!!