हिमाल तिमी सुन्दर छौ
तिम्रो सुन्दरता विश्वभर फैलिएको छ
तिम्रो सुन्दरता र उचाइले
नेपाली शिरको उचाइ बढेको छ
यी हिमाली उचाइ माथि
मेरो शिरको टोपी अडेको छ
कता– कता डर लाग्छ, आजभोलि
कतै यी सुन्दर हिमाल
हिउँ पग्लेर काला पत्थर बन्लान् कि! भनेर
म हमेसा चनाखो छु
कतै मेरो हिमाल कालापानी, सुस्ता र लिपुलेक बन्ला कि! भनेर
म चिन्तामा डुबेको छु, आजभोलि
कतै मेरो हिमाल मलाई छोडी अन्तै पो जाला कि! भनेर ....
डर लाग्छ फेरि आज
मेरो हिमालको उचाइ र सुन्दरतामा
पराइ आँखा लाग्छ कि! भनेर
मनभित्र जलन छ
मेरो हिमालको उचाइ माथि
दुश्मनले धावा बोल्छ कि! भनेर
मेरो जीवनको सबै कृतिहरू
यही हिमाली पत्थरमा लेख्न पाउँ
मेरो शरीरको अन्तिम धड्कनसम्म
यही हिमालको रक्षा गर्न पाउँ ।।
मेरो जीवनको सबै प्यास
यही हिमाली जलधाराले मेटियोस् ।
मेरो शरीर जल्ने चिता पनि
यही हिमाली जलबाट धुन पाइयोस्।
मेरो शरीर बाँन्चुजेल
हरेक बिहान हिमाल देख्न पाइयोस् ।