उता श्रीमान् पानी माग्ने, यता सासूआमा नानी भन्ने
उता छोरो माछा खाने भन्ने, यता छोरी चाचा लाइदेउ भन्ने
उता तरकारी ओइरिन कराईमा हालेको तेल डढ्ने
यता छोरी तरकारी काट्ने छुरी नदिएको भन्दै भुइँमा लड्ने
उता ससुरा बुवा मेरो चस्मा खै भनी कराउने
यता मेरो तरकारीमा हाल्ने नुन नै हराउने
उता नन्दलाई कलेज जान हतारो
यता मलाई खाना बनाउने कि, छोरोको आची सफा गर्ने चटारो
उता श्रीमान् सर्टमा आइरन किन नलगाएको भनी कराउने
यता मेथी किन्न गएका देवरबाबु १ घण्टासम्म हराउने
९ बजिसक्यो न त भात पाक्या छ, न त तरकारी
सासूआमाको आवाज आयो, ससुरा बुवा र जेठाजुलाई हतार भयो जान जागिर सरकारी
बिहानभरि के हेरेर बस्यौ र अझै पाकेन दालभात तरकारी
हो त, बिहानभरि म के हेरेर बसेँ र यो सब भयो
बसेकी त एकछिन टसक्क थिइनँ तर खै के गरेँ मैले सबै काम त अधुरै रह्यो
न पाक्यो खाना, न लाग्यो दाल पकाएको कुकरको सिठ्ठीको साइरन
बिहानभरि के गरेर बिताएँ खै, न लाग्यो श्रीमानको सर्टमा आइरन
घरमा सिन्को नभाँची १० बजे पुग्ने अफिस साढे १० मा पुगेपछि
गाला नै रातो भयो हाजिर गर्ने ठाँउमा हाकिमसँग आँखा जुधेपछि
सिटमा गएर त बसेँ तर मन भने घरको घर नै रह्यो
खै के काम गरेँ न त खाएँ खाजा अफिसमा, तर यतिकै समय गयो
अफिस छुटेपछि मनमा नानथरि कुरा सोच्दै पुगेँ घर
बिहानभरि केही नगरी हिँडेकी भन्ने सासूआमाको वचन सम्झी घरभित्र पस्न पनि लाग्यो डर
यता किचनमामात्र के छिरेकी थिएँ, बेसिनभरिका भाँडाले मतिर हेरे
उता मामू मामू भन्दै उफ्रदै आएका छोराछोरीले मलाई घेरे
यता बिहानभरि केही काम नगरेकी भन्ने सासूआमाले मागिन् पानी
उता छोराछोरी मामू आउन भन्दै हातमा समाई घरभित्र लानी
माइत आउनै छोडिस् त भनी उतिबेलै आमाको फोन आउँदा
सम्झिए अतितःश्रीमान् र सासूआमाले गाली गरेको दिनदिनै माइती धाउँदा
हो त माइती नगएको पनि साँच्चै जुग नै भएछ
माइती समेत नगई, पराई घरमा सिन्को नभाँची बसेरै यतिका वर्ष गएछ।