कथा
आचरणमा एकाएक आएको परिवर्तनले घरका सबजना चकित थिए। त्यति माया गर्ने मान्छे, घरमा एक-एकको ख्याल गर्ने। कहिल्यै कसैलाई नराम्रो नभन्ने मान्छेको व्यवहार हदैसम्म परिवर्तन भएको थियो।
सधैं गनगन र स-साना कुरामा निहुँ खोज्ने भएको थियो ऊ।
म त छाडौं, छोरीहरूलाई यति माया गर्ने, उनीहरूले सानो चित्त दुखाउँदा पनि चिन्ता लिने बाबु, आजकाल छोरीहरूलाई छिनछिनमै गाली गरिरहने, उस्तै पर्दा पिट्ने पनि। बाबा भनेपछि हुरुक्कै हुने छोरीहरू आजभोलि सकेसम्म उसको नजरमै पर्थेनन्। छेउमा परोस् पनि को, जनकजस्तो बाबु कंशमा बदलिएको देखेर!
म पनि आजित भइसकेकी थिएँ पटकपटकको उसको मानसिक यातनाले। त्यति मायासाथ यतिका वर्ष बिताएको श्रीमान एकाएक हिंस्रक दानवजस्तो भएको थियो।
बेला बेला त सबै छाडेर जाऊँ जस्तो हुन्थ्यो। तर यतिका समय साथ बिताएको मान्छे, ठेगानमा आउला नि भन्ने लागेको थियो।
केही समय त्यो ठेगान फर्किने पर्खाइमै बित्यो। तर केही फर्किएन। न उसको व्यवहार सुधारियो, न भावना बदलिए। बरू मलाई थाहा भयो, विदेशबाट ऊ बिदामा होइन, जागिरै छाडेर आएको रहेछ।
राम्रै थियो काम, किन छाड्यो उसले बताएन। उसको बिग्रिएको आनिबानी देखेर सोध्ने आँट पनि कसैले गरेन। न मैले नै साहस गरेँ।
घर चलाउनु त थियो नै। उसकै सल्लाहमा पाँच वर्ष पहिले मैले खाजा घर सुरू गरेकी थिएँ। यसमै ध्यान दिएँ। आम्दानी राम्रै थियो। यसले गर्दा उसको कमाइ नभए पनि हाम्रो घर चल्न सक्थ्यो।
आजकाल ऊ पिउन पनि थालेको थियो। बेला बेला त लाग्थ्यो, उसको मानसिक अवस्था बिग्रिँदै छ। उसको तारिफमा कुनै कसर नछोड्ने छोरीहरू 'कसरी यस्तो मान्छेसँग जीवन बिताउनुहुन्छ आमा' भनेर सम्झाउन थालिसकेका थिए। उसको व्यवहारले हामी सबै आजित थियौं।
छोरीहरूकै सल्लाहले, 'सधैंको यातना सहनुभन्दा सँगै नबस्नु ठीक' भनेर उसको विरूद्ध प्रहरीमा उजुरी गरिदिएँ मैले। त्यसपछि छोरीहरू साथ लिएर एक्लै बस्ने निधो गरेँ।
त्यसपछि भने उसको मुहारमा बेग्लै खुसी देखेकी थिएँ मैले।
लाग्यो, 'मान्छेहरू आफ्नो स्वार्थ पूरा गर्न अनेक नाटक रच्छन्।'
साँच्चै भन्ने हो भने लोग्ने मानिसप्रति त्यो जस्तो घृणा मलाई कहिल्यै लागेन। उसको र मेरो सम्बन्धबिच्छेद भयो। दुई छोरी र मैले उसको अनुहार कहिल्यै नहेर्ने भनेर आफ्नो भागको सम्पत्ति बेचेर त्यहाँबाट टाढा गयौं। उसको भागमा परेको घर थियो, ऊ त्यहीँ बस्ने भयो।
...
उसँग छुट्टिएको ८ महिना भइसकेको थियो। ठूली छोरी कलेज पढ्दै थिई, सानीले पनि यसपालि स्कुल सकी। मलाई नयाँ ठाउँमा पनि खाजाघर खोल्न उनीहरूले धेरै मद्दत गरे। गरे नहुने के छ र ! हाम्रो खाजाघर राम्रै चल्यो।
यतिका महिनासम्म मलाई एकचोटि पनि उसको याद आएन।
छोरीहरू त बाउको नाम लिन त के, सुन्न पनि चाहन्थेनन्। याद पनि के आओस्, उसको व्यवहार नै त्यति क्रुर थियो। मेरो जीवनको सबभन्दा ठूलो भुल नै मलाई उससँग माया गाँसेर बिहे गरेँ भन्ने लाग्छ।
एकदिन उसको कोही आफन्त हामीकहाँ खबर लिएर आएको थियो- भाउजू, दाइको हालत एकदमै खराब छ। त्यही खबर दिन म आएको म। एकचोटि हेर्न जानुहुन्छ कि?
मेरो मनमा चिसो त पस्यो तर उसका कर्तुत सम्झेँ।
त्यो मान्छेलाई नै हपारेँ, 'जे सुकै होस्, त्यसकी अर्की स्वास्नीले गरिहाल्छे नि हेरचाह। म किन चाहियो! त्यही भएर त हामीलाई दुःख दिएर छाडेको हैन त्यसले।' छोरीहरूले पनि थपे।
त्यो मान्छे केही नबोली सुनिमात्रै रह्यो। जाने बेला भन्यो- भाउजू, दाइ एक्लै बस्नु हुन्छ। बिहे त परको कुरा, तपाईंसँग छुटेदेखि तपाईं र छोरीहरू नसम्झेको कुनै समय छैन।
मैले उसको कुरामा चासो लिइनँ।
उसलाई 'आइन्दा फर्केर नआऊ' भनेर हपारेँ। अँध्यारो मुहार लिएर फर्कियो ऊ।
तर एकदिन फेरि त्यही मान्छे आँखाभरि आँसु पारेर हामी कहाँ आइपुग्यो।
रूँदै भन्न थाल्यो, 'भाउजू, दाइको वाक्य नै बन्द भो। हिजोसम्म त मलाई 'एकचोटि मेरा छोरी र श्रीमतीलाई बोलाइदे' भन्दै हुनुन्थ्यो। आजदेखि त बोल्नै छाड्नुभयो। जाऊँ न, कति निष्ठुरी बन्नु हुन्छ। जिउँदो हुँदा दुःख दिए नि मर्नेसँग त के रिसराग।'
मलाई पनि नरमाइलो लाग्यो। जे जस्तो भएपनि लोग्ने हो, मर्ने बेला एकपटक त भेटौं भन्ने भयो। छोरीहरू त जान चाहँदैन थिए, मलाई नि नजान भन्दै थिए। तर उनीहरूलाई पनि सम्झाइवरि साथ लिएर उसलाई भेट्न हिँडे।
अस्पतालमा उसको अवस्था देखेर खङ्ग्रंग भएँ। उसको जिउमा हाडछाला बाहेक केही थिएन। अनुहार तर्साउने कंकाल जस्तो भएको थियो।
मनमा चिसो पस्यो।
मलाई देखेर उसका आँसु बग्न थाले। बोल्न पनि नसक्ने भएको थियो। इसाराले म र छोरीहरूलाई नजिक बोलाइरहेको थियो। हामी उसको नजिक गएर बस्यौं। उसले मेरा र छोरीहरूका हात सुम्सुम्यायो।
मेरो हातमा एउटा चिठी थमायो।
हाम्रा हात बेस्कन समाइरहेका उसका हात चिसा र लुला भए।
मेरा आँखा रसाइहाले। ज भए पनि आफ्नैअघि कोही आफ्नोले प्राण त्याग्दा मन कहाँ थामिन्छ र!
जे हुनु भइहाल्यो, उसको अन्तिम संस्कार गर्यौं। तेह्र दिनको काम सकेर फर्किने तर्खरमा थियौं। फर्किने बेला उसले मेरो हातमा थमाएको चिठी याद आयो।
हातेझोलाबाट झिकेर चिठी पल्टाएँ-
मेरी माया,
यो भाग्य पनि कति निष्ठुर रहेछ है। तिमीसँग बिहे गरेपछि साथ बस्ने रहर हुँदाहुँदै परदेश लाग्न पर्यो। दुई महिना बिदामा आउँदा पनि तिमीसँगका ती पल दुई दिनमै बितेजस्तो लाग्थ्यो। तिमीलाई थाहा छ होला नि, बिदाको अन्तिम दिन म तिमीसँग यो अन्तिमपटक हो, अर्कोचोटि त म सधैंका लागि आउँछु भन्थेँ। म फर्किन्नँ, नेपालै बसेर दुःख गर्छु भन्थेँ।
अनि तिमी सम्झाएर पठाउँथ्यौ मलाई। तिमीसँगको साथले कहिले धित मर्दैनथ्यो। झन् छोरीहरूको मायाले त...फूलजस्ता छोरी कसरी छाडेर जानु जस्तो हुन्थ्यो। काममा फर्किएको एक सातासम्म रोएरै काटेथेँ। तिमीलाई पनि याद होला, छिनछिनमा मेरो फनले वाक्क लगाएको। तिमी जिस्काउँथ्यौ, छिः कस्तो रून्चे भनेर।
आँखामा राखे पनि नबिझाउने छोरीहरू म भनेपछि हुरुक्कै हुन्थे। तिमी आरिस गरे झैं उनीहरूलाई भन्थ्यौ- बाउ पाएपछि म त टाढा भइहालेँ नि हैन!
के गर्ने, यही मायामा दैवको आँखा लाग्यो। हत्तपत्त बिरामी नहुने मलाई एक्कासि बिसञ्चो हुनथाल्यो। खोकीमा रगत देखिन थालेपछि डर लागेर जचाएँ। मलाई त फोक्सोको क्यान्सर भएको रहेछ। त्यसपछि विदेश बस्न मन लागेन। म जागिर छाडेर फर्किएँ।
मैले तिमीलाई केही भनिनँ, तर तिम्रो माया झनै बढेको थियो। मेरो हरेक कुरा ख्याल गर्थ्यौ। जिउ अलि तातो भए पनि आत्तिन्थ्यौ। डर लाग्थ्यो, मलाई क्यान्सर भएको थाहा पायौ भने चिन्ताको बाढीमा पर्थ्यौ।
मलाई सम्झेर तिमीहरूको भविष्य अँध्यारो नहोस् भन्ने लाग्थ्यो।
अनि म स्वार्थी देखिन थालेँ। जसोतसो झगडा गरेर हुन्छ वा केही समय सास्ती दिएर, तिमीहरूबाट टाढा हुने कोशिस गरेँ। तिमीहरूको सम्झनामा मप्रतिको गहिरो माया कम गर्न प्रयास गरेँ।
यसमा म सफल भए हुँला। तर तिमीहरूले छोडेर गएपछि मेरो बिरामले मलाई झनै असफल बनाउँदै थियो। हरेक रात तिमीहरूलाई सम्झिँदै रोएँ म। लाग्थ्यो, मर्ने बेलासम्म पनि तिमी आउन्नौ।
म अभागीले मर्ने बेलामा पनि तिम्रो माया अधुरै पाएँ। सायद मैले पनि आधै दिएँ हुँला। सके माफ गर है।
बाँच्न साथ नपाए पनि, मरण तिम्रै काखमा भए खुसीसाथ बिदा हुन्थेँ...।
उही तिम्रो,
शरद।