गोठ, झुप्रो, घर, महल सम्पूर्णमा खुसी छाओस्,
तन्नाम गरिबदेखि अमिर, सबैलाई दसैं आओस्
नाम्ले दाइ, चौकीदार, रिक्सावाला घर आओस्,
दरबानदेखि हाकिमसम्म प्रवासीको छुट्टी मिलोस्
कमेरो र रातोमाटोले सन्ठी, टाटी समेत सजोस्,
यावत डेरा, घरहरूमा नेपालीलाई दसैं आओस्
सुकुम्वासी, वनवासी, देशवासी र प्रवासीलाई,
दुर्गा माँको प्रसाद अनि जमराले प्रगति ल्याओस्
चिथरा बख्खु, दौरा सुरूवाल, धोती अनि कछाडको,
पालुवाझैं बसन्तको सबको आङ्गमा नाना फेरियोस्
बूढा बा र बुढी आमा, लालाबाला, युवाहरूको,
राम्रो लाउने, मीठो खाने आकांक्षा त्यो पूरा होओस्
चाकाचुली, रोटेपिङ, लिंगे पिङको चचहुँइ साथ,
मालश्री र मंगल धुनले नवरात्र गुन्जीरहोस्
सत् सत् बुद्धि, विवेक, कर्म, उत्तरोत्तर प्रगतिको,
कामना छ यही शुभ, सबैलाई दसैं आओस्
-धनधोज मल्ल ठकुरी