गर्मीको महिना, अनि तराईको ठाउँ।
उखरमाउलो गर्मीले बसिसक्नु थिएन।
न त घरभित्र न त बाहिर नै। तातोले उकुसमुकुस भएर कन्चटबाट बगेको पसिना हत्केलाले पुछ्दै सानी झ्यालबाट बाहिर हेर्छे।
खास उसको नाम सानी हैन तर बाबाले उनलाई माया गरेर सानी भन्दाभन्दै नामै सानी हुन पुग्यो।
सानी बाहिर धूलो र धुँवाको तुवाँलोमा घामका ताता लप्काहरू छायाजस्तै गरी क्षितिजमा पसारिएको हेर्छे।
‘ओहो कस्तो, हेर्दै आँखा तिरमिराउने दिन!’
अलि पर फाँटमा केही काम गर्ने लोग्ने मानिस र स्वास्नी मानिस देख्छे। लोग्ने मानिसले कछाडमात्र लगाएका थिए भने स्वास्नी मानिसहरू शिरदेखि पाउसम्म पूरै ढाकेर काम गरिरहेका थिए।
‘यस्तो गर्मीमा पनि कसरी यी स्वास्नी मानिसहरू काम गर्न सकेका होलान्। यसरी बसिरहनेलाई त खपि नसक्नु छ झन् उसै त यस्तो गर्मी अनि शिरदेखि पाउसम्म लुगा लगाएका। लोग्ने मान्छेलाई भने कति आन्नद एउटा कछाड लगायो बस् पुग्यो,’रापले उनी भन्भनाउँछे।
‘ओहो के विधि गर्मी भाको यो साल त? सहनै गाह्रो,’ ऊ कोठाको झ्याल खोल्छे।
तातो हुस्सु परेको हावा बत्तिँदै उसका खुला झ्यालबाट भित्र छिर्छ, ऊ हत्त न पत्त झ्याल बन्द गर्छे।
‘कैले सिध्दिएला यो गर्मीयाम। तराईको गर्मी यस्तो हुन्छ भन्ने त कल्पना नै थिइनँ.’ उनले भनिन्।
काठमाडौंमै हुर्की, बढिन्। तर भाग्यले यहाँ पुर्याउँला भन्ने उनले सोचेकै थिइनन्।
तराईमा बिहे गर्दिनँ भन्न सक्थिन् तर बाबाको कुरा नकार्न सकिनन्।
यी यावत् कुरा सोच्दै उनी खाटमा डंगरंग ढलिन्। आफूमाथिको दलिन नियालिन्। रित्तो दलिन जस्तै रित्तो लाग्छ उसलाई आफ्नो संसार।
समय, परिस्थिति अनि आफ्नो सोच बदलिएको देखेर उनी छक्क पर्छिन्।
आफ्नो वर्तमान निरस लाग्छ उसलाई। न माया गर्ने बूढा न नै परिवार। कैदीजस्तो जीवन बिताउँदै छिन् उनी।
आमा सानैमा बित्नु भएको थियो सानीको। बाबाले कति माया गरेर हुर्काएको उसलाई याद छ। आमाको मायाभन्दा कम माया गरेर हुर्काउनु भएको थिएन उनको बाबाले।
उनी सोच मग्न हुन्छिन्। अनि बाबालाई याद गर्न पुग्छिन्।
टाढा भएकोले सानीले बाबालाई नभेटेको पनि एक वर्ष भइसक्यो। जान मन लागे सबैको अनुमति माग्नुपर्ने। त्यत्रो टाढाको बाटो अनुमति मागे पनि जा भनेर राम्रो मुखले भन्ने कोही छैनन्।
फोनमा कहिलेकाहीँ कुरा नहुने होइन तर फोनमा कुरा गर्दा मनमा गुम्साएर राखिएका वेदना कहाँ भन्न सकिन्छ र!
आज मनलाई सहानुभूति दिन कापीका पानामा आफ्नो मनका बहहरू पोख्दै छिन् सानी।
आफ्नो बाल्यकाल, आफूले बाबासँग बिताएका पल बाबाले गर्ने व्यवहार बाबाले दिने असीमित माया यी विगतका सम्झना समेट्दै बाबालाई चिठी लेख्छे उनी।
बाबाले उनलाई कुनै दिन भनेका थिए ‘अधिकार मागेर हैन खोसेर लिन पर्छ भनेर’ तर सानीले त न मागेर लिन सकी अधिकार, न त खोसेर नै। यहाँ त कसैले उनलाई केही कुरामा अधिकार जताउनै दिँदैनन्। जहाँ मुख खोलेर दोहोरो कुरा गर्न प्रतिबन्ध छ, त्यहाँ अधिकारको लागि आवाज उठाउन त ठूलै साहस हुनुपर्छ।
उनले आफूलाई भन्दा पनि परिस्थितिलाई दोष दिन्छे अनि पोख्छे ती खाली पानामा वेदनाका घाउ।
उनी लेख्छिन्,‘आजकाल मलाई रामेससँग किन बिहे गराउनु भयो भन्ने प्रश्नले बारम्बार डस्न थालेको छ। रामेस देश भक्त, इमान्दार,प्रगतिशील युवा भनेर तपाईंले बयान गरेको हिजो जस्तो लाग्छ। सम्पन्न पनि छ, सुख दिन्छ, भन्नु हुन्थ्यो तपाईं। तपाईंले महत्व दिएका यी कुराहरूले मजबुत हुनु पर्ने मेरो घर त झन् यिनै कुराहरूले धमिरोले खाएको काठजस्तै भएको छ( खोक्रो। साना साना भूकम्पका धक्काहरूले पनि धुजाधुजा भएर चर्किराखेको छ मेरो घर। यसैगरी चर्की रहने हो भने त अबको केही वर्षपछि भत्किन्छ यो घर, चुरचुर भएर। अनि मैले चाहेर पनि यसलाई बनाउन सक्दिनँ, बचाउन सक्दिनँ। तपाईंले पनि रामेसको बयान गर्नुहुन्छ भविस्यको एउटा महान् नेता बन्छ रामेस भनेर। तर आफ्नै घर बनाउन नसक्नेले यत्रो देश कसरी बनाउन सक्छ, खै म त कहिलेकाहीँ सोच्ने बाध्य हुन्छु। ऊ रात दिन पार्टी कार्यालय भौतारिन्छ, दुनियाँ हाँकेर आउँछ, नारी स्वतन्त्रताको नारा हाक्छ, समानताको गाना गाउँछ। अनि घरमा! ओहो, कति गरूँ म गुनासो तपाईंलाई बाबा? मेरा गुनासाहरूले त यो सिंगै कापी भरिन सक्छ। आज यो तराईको गर्मीमा म एउटा नपढेको गाउँले आइमाइहरू जत्तिकै घरभित्र कुचो र चुलो गर्ने भएकी छु।’
ऊ अझै अघि बढ्दै लेख्छे,‘कस्तो अचम्म? कसरी बदलिँदो रैछ जीवन! जीवनसँग सम्झौता गरेको पनि दुई वर्ष भइसक्यो।कहिलेकाहीँ त यो सबै जन्जाल छोडेर जोगिनी बनिदिउ कि जस्तो पनि लाग्छ। यो जीवन पनि जोगिनीको भन्दा कम कहाँ छ र! घरमा यी सामन्तीहरूको भक्ति गर्नु भन्दा त मन्दिरमा त्यो ढुंगालाई नै पुजेर त्यसमै तल्लीन हुँदा बरु जीवनमा शान्ति मिल्छ होला। तपाईंलाई म कसरी आफ्नो दु:ख देखाएर चिन्तित पार्न सक्छु र! मेरो घर बसाई दिए भनेर ढुक्क परेर सन्तोषको सास लिरहनु भएको तपाईंलाई म कसरी पिडा दिन सक्छु र बाबा!’
यिनै वाक्यहरूका अन्तसँगै उसका कलम रोकिन्छ । अनायासै आँखा रसाएर पानी बग्छ। आफ्नो लाचारीलाई आफ्नो भाग्यको नाम दिँदै आफूले बाबालाई लेखेको चिठी एकछिन टोलाएर हेर्छे ऊ, अनि धुजाधुजा पारेर च्यातिदिन्छे। त्यो बूढो आत्मालाई चिन्ता दिएर के फाइदा! ऊ च्यातिएका चिठीका टुक्रा हेर्दै सुस्काउँछे।
त्यसै बीच मूलढोका घंद्र्यांग खोल्दै रामेसभित्र छिर्छ।
ऊ फोनमा कसैसँग चर्को स्वरमा भन्दै थियो, ‘यसरी अन्याय र अत्याचार सहिरहने हो भने, हेरिरनुस् यो देश अब देश रहँदैन। हामी आफ्नै घरमा बन्दी हुन्छौं। हाम्रो घर हुँदैन, हाम्रो पहिचान हुँदैन। हामीले नारी आवाजलाई पनि आफ्नो आन्दोलनको मूल मन्त्रको रूपमा लिनुपर्छ। आज नारी समानताका लागि लडिरहेका ती ठूला आवाजमा कुर्लने नारीहरूलाई आफ्नो पक्षमा ल्याउनु जरुरी छ जुन हाम्रो लागि महत्वपूर्ण शक्ति हुनेछ।’
धेरैपछि रामेसको एउटा कुरा सही लाग्यो सानीलाई ( हो यो अन्याय र अत्याचार सही रहने हो भने जसरी म आज मेरो घरको खोजीमा छु त्यसैगरी यो देशको सारा जनताहरू जीवनभर आफ्नो घर र पहिचानको खोजीमा भौंतारी रहेका हुन्छन्। यहाँ सबैको आफ्नो देश अनि भेष हुनुपर्छ, आफ्नो घर हुनुपर्छ, आफ्नो पहिचान हुनुपर्छ। विद्रोहका आवाजहरू उसको हृदयमा घंकिन्छ। अनायास उनका आँखा ती च्यातिएका चिठीका टुक्राहरूमा गएर अड्छन्, उनी हत्त न पत्त सबै कागजका टुक्राहरू बटुलेर रद्दीको टोकरीमा फाल्छे र उताबाट रामेस ठूलो स्वरमा उनलाई कराउँदै के के भनेर गाली गरिरहेको हुन्छ। उनी सोच्छिन्, अघि भर्खर अन्याय र समानताको लागि फोनमा चिच्याउने ऊ, आफ्नो घरभित्र कसरी सामन्ती बनि चिच्याइरहेछ।
‘घरभित्र छिरेपछि उसको सेवामा अघिपछि खटिनुपर्ने म। अनि घर बाहिर जब अरुले उसलाई आफ्नो सेवामा खटाउन खोज्छन्, उसको अहंकार ज्वाला बनेर जाग्छ’ उनी सोच्छिन्, ‘अब मेरो पनि सहनशीलताको हद नाघेको छ, अब म पनि अन्याय सहने छैन। आफ्नै घरमा बन्दी भइ आफ्नै पहिचानको खोजी गर्नेछैन।’
सानी उसका गालीहरूलाई बेवास्ता गर्दै ढोका खोलेर बाहिर निस्किन्छे, तातै भए पनि बाहिरको खुला हावा त्यो चार ढोकाभित्रको हावाभन्दा धेरै मिठो लाग्छ उसलाई।
अनि ऊ सोच्छे, ‘यो अन्यौलको यात्रा सुरू गर्दैछु म जुन कहालीलाग्दो त छ तर यो स्वतन्त्र छ,एक स्वतन्त्रताको यात्रामा जीवनको सन्तुष्टि छ।’