मैंले देख्दा देख्दै
तपाईका गाला चाहुरिए
केश राशी सेताम्मे भए
र, मिलेका दाँतहरु
असन्तुलित बन्दै गए ।
मलाई रत्तिभर लाग्दैनथ्यो
मेरी आमा बुढी हुनुहुनेछ ।
विश्वासै थिएन
आमाका हातगोडा कमजोर हुनेछन्
शरीर सिन्का जस्तै हुनेछ ।
मैंले पहिलो पटक काखमा बसेर
दूध चुस्ताचुस्तै देखेको थिएँ
उहाँको दृढ आँखा
गाढा मातृत्व
र, अगाध वात्सल्य ।
कसले सक्छ होला
आमाको प्रेमलाई अभिव्यक्त गर्न ?
लामो केश राशी औंलामा खेलाउँदै
हेर्थें आमाको मुहार
दिनभरि धान रोप्दा
निथु्रक्कै भिजेका लुगा फेर्न नपाउँदै
पुगिसक्थें आमाको अंगालोमा
पिढींको कतै कुनामा आड लागेर
जब खोल्नुहुन्थ्यो
वात्सल्यको चौबन्दी
म खुसीले छताछुल्ल हुन्थें ।
हावा, हुरी, पानी र गर्मी
सबै छल्नुहुन्थ्यो आमा ।
जब धोतीको फेर समातेर उभिन्थें उहाँको छेउ
म जति निडर र शक्तिशाली कोही हुँदैनथ्यो ।
घाँस काट्न जाँदा
दाउरा बोक्न जाँदा
पोल्टामा हालेर लैजानु हुन्थ्यो भुटेको मकै ।
र,
आफुले थोरै खाएर
घर फिर्ने बेला मलाई दिनुहुन्थ्यो ।
हरेक पटक मकै भुट्ने बेलामा
म पेट दुखेको बहाना गर्थें
र, खट्टे खाएपछि निको हुन्छ भन्थें ।
आमाको खुसी सुनबुकी बनेर फुल्थ्यो ।
बारीभरि रोपिएका थिए फुल
माली बन्नु हुन्थ्यो आमा ।
कहिले गोडमेल गर्नु हुन्थ्यो
कहिले कमिलालाई औषधि हाल्नु हुन्थ्यो
म त्यहीं बारीमा बसेर
डेन्थस र जर्जियाको जराबाट
खुम्ले किरा झिक्थें
र, छेउको ढुंगाले किचिदिन्थें ।
आमा भैंसी दुहुनु हुन्थ्यो
म गोठको थाम समाएर उभिन्थें ।
एकछिन छाड्न मन नलाग्ने
कस्तो हुँदो रै छ आमाको साथ !
म प्रत्येक दिन
आमाको हात समाउँछु
उस्तै लाग्छ मेरी आमाको हात
यही हातको स्पर्शले त हो मलाई
नरम र खस्रो छुट्याउन सिकाएको
कमलो र सारो छुट्याउन सिकाएको !
आमाको चाउरिएका गाला छाम्छु
लपक्कै भिज्छु म स्नेहले
र, पग्लिदिन्छु आफैं ।
दिनदिनै सहनै नसक्ने गरि दुख्ने
आमाको घुंडामा टाउको अड्याउँछु
र, पुलुक्क हेर्छु आमालाई
उहाँका रसिला आँखाले
सूर्यको भन्दा कैंयौ बढी
शक्ति दिन्छन मलाई ।
म निस्फिक्री आमाको वात्सल्यले दिनदिनै भिजेको छु ।
मलाई थाहा छ
संसारमा सवैभन्दा सम्मानित हुनुहुन्छ आमा
र,पनि उहाँको निरोगिताका लागि
म उहाँ संगै प्रार्थना गर्न सक्दिन !
आमाले चिनाएको भगवानसंग प्रार्थना गर्छु
मेरी आमाको सुस्वास्थको लागि —
भगवान !
मेरो एउटै विन्ती छ
मेरो जीवनभरि
आमालाई स्वस्थ देख्न पाउँ
आमाकै काखमा टाउको अड्याउन पाउँ ।