जब स्कुटर चलाउँदा साइकल चलाउने समेत साँघुरो बाटोमा ओभरटेक गर्छ
जब अलि राति घर आउँदा ‘केटी मान्छे भएर यति राति सम्म हिँडेको’ भन्ने प्रश्नले प्रहार गर्छ
जब छोरीमान्छे भएर भात पकाउन, लुगा धुन पनि आउँदैन भनेर
कसैले मेरो दायरा र काम निर्धारण गर्न खोज्छ
जब बुहारी र आमा भएपछि ७ बजेसम्म सुत्ने भनेर
कसैले मेरो स्वतन्त्रतामाथि धावा बोल्दै प्रश्न गर्छ
अनि मलाई भेदभाव महशुस हुन्छ।
जब केटी मान्छे भएकै कारणले मलाई
कसैले होच्याएर वा दया देखाएर व्यवहार गर्छ
जब घर सम्हाल्ने काम छोरीबुहारीको मात्र हो भन्ने
पुरातन सोचाई ममाथि थोपर्न खोज्छ,
अनि मलाई भेदभाव महशुस हुन्छ
जब आफ्नो खुट्टामा उभिन्छु भन्ने अठोट लिएर
जागिर खानका लागि बाहिरी जिल्लामा जान
अनुमति माग्दा छोरी मान्छे भएर टाढा जानुहुँदैन
भनेर मेरो क्षमतालाई घरको ढोकामा पुग्न नपाउँदै लगाम लगाउन खोज्छ
जब छोरी मान्छेको काम कुचो लाउने, खाना बनाउने अनि घर सम्हाल्ने हो भनि
कसैले बारम्बार मलाई सम्झाउँछ
अनि मलाई भेदभाव महशुस हुन्छ
जब कार्यालयमा नेतृत्व गर्ने बेला आउँछ क्षमता हुँदाहुँदै
पनि महिला भएकै कारण कसैले मेरो दक्षता माथि प्रश्न उठाउँछ
जब गर्भवती भएको बेलामा कार्यालयले यसले काम गर्न सक्दिन
भन्ने सोची मेरो कार्यक्षमता र कार्यकौशलतामाथि शंका गर्छ,
जब गर्भवती भएको बेला कार्यालय
मेरो अवस्थाको ख्याल नै नराखी ममाथि निर्दयी बनिदिन्छ
अनि मलाई भेदभाव महशुस हुन्छ।
जब राति कुनै पार्टीमा जान्छु भनेर अनुमति माग्दा
छोरी बुहारी भएर राति राति हिँड्नहुँदैन भनेर
कसैले मेरो हिँड्ने समय र दायरा निर्धारण गरिदिन्छ
जब कुनै पुरुषले ममाथि आफ्नो पुरूषवादी सोच
जबरजस्ती थोपर्न खोज्छ,
अनि मलाई भेदभाव महशुस हुन्छ।
जब महिला भएकै कारण यस्तो लुगा लगाउने र
यस्तो नलगाउने भनेर कसैले अर्डर दिन्छ
जब कसैले केटा मान्छे त जसरी पनि बाँच्छ
तर केटी मान्छेले दुख पाउँछ भनेर
विवाहको लागि मलाई बारम्बार दबाब दिइराख्छ
अनि मलाई भेदभाव महशुस हुन्छ।
तर जब कतै दुर्गम ठाउँमा एक्लै जानुपरे,
घरमा बत्ती बिग्रिएपछि इलेक्ट्रिसियनले गर्ने काम गर्नुपरे,
रेष्टुरेन्टमा खाएपछि खाएको बिल तिर्नुपरे,
चामलको बोरा, ग्याँस सिलिण्डर बोक्नुपरे
घर व्यवहार चलाउनका थोरै रकम खर्च गर्नुपरे
भने पुरुषको खोजी हुन्छ
‘म त महिला हुँ, यी काम त पुरूषले गर्ने हो भन्ने
अन्तर्मनको सोचाईले आफैंलाई यी काम गर्नबाट रोकिदिन्छ
हो साह्रै पीडायुक्त भेदभाव त आफूले आफैंलाई गरेपछि बल्ल महशुस हुन्छ।