जीन्दगी अविच्छिन्न रुपमा अघि बढि रहन्छ । हामी कहिले विगतका स्मृतिहरुमा त कहिले भविष्यका अनिश्चितताहरुमा सुख दु:खका भिन्न-भिन्न अनुभुतिसंगै गतिशील रहन्छौं । जीन्दगीको यही निरन्तरतामा मैले भुल्नै नसकेको मेरो त्यही अतित आज फेरी पुनरावृत भएको छ अनि म त्यसैको पिडाले पुन: स्तव्ध भएको छु ।
आज भन्दा करिब २ वर्ष अघिको कुरा हुनुपर्छ, म कार्यालयबाट घर फर्कंदै गर्दा अघि पछिको भन्दा बिल्कुलै फरक भावावेशमा कमल आएर मेरो सामु टक्क अडिएको थियो । शुरुमा त मैले उसको मनोभावहरुको आँकलन समेत गर्न सकेको थिइन । उसका मुहारमा लुक्न नसकेका ती संवेगहरुले धेरै कुराहरु आफै भनिरहेका थिए तर उसले कुनै शव्दहरुमा तिनलाई व्यक्त गर्न सकिरहेको थिएन ।
थोरै अविश्वास र उत्तेजनाले असिनपसिन, उ निकै बेर सम्म नि:शब्द थियो। तर पछि बिस्तारै आफनो त्यो अस्वभाविक मौनता तोड्दै, मलिन र कापेको आवाजमा भन्दै थियो, ”दाजु, आज मेरो नाम निस्कियो नि अब मेरो जागिर पक्का भयो ?”
उसको त्यो अनेपेक्षित सफलताले मेरो मन उद्वेलित मात्र भएको थिएन , अकास्मात खुसीहरु उर्लेर आफ्नै गह भरिएको म आफैंलाई पत्तै भएन । त्यतिबेला मनभित्रका ती सुखद अनुभुतिहरुलाई व्यक्त गर्ने म संग कुनै शब्दहरु नै थिएनन । त्यसदिन उसको जिन्दगीले एउटा सुखद आयाम भेटेको थियो र दु:खको भुमरीबाट जीवनले यात्राको नविनतम् गोरेटो पहिल्याएको थियो । उसको त्यो सफलता हामी सबैको लागि समयले दिएको यति उत्कृष्ट उपहार थियो कि त्यससँगै नियतिले म माथि थोपरेको टुहुरो “कमल” प्रतिको कठिन जिम्मेवारी पनि धेरै हद सम्म पुरा भएको थियो ।
सायद त्यो दिन उ पनि खुसीको पराकाष्ठामा थियो । उसको प्रसन्नता मुहारमा यसरी फक्रेको थियो कि उ सयपत्री फुलको थुंगा जस्तै सुन्दर र मनमोहक देखिन्थ्यो । अनि म उसको त्यो सफलतामा आफै पनि खुसीले पागल झैं भएको थिएँ।
दिनहरु बित्दै जादा समय सँगै जीवनप्रतिको मेरो दृष्टिकोण पनि बदलिदै गयो । क्रमश: मलाई यस्तो लाग्न थालेको थियो कि जिन्दगी मानवीय संवेदनाका रङ्गहरुमा नै प्रतिविम्वित हुन्छ । यीनै रङ्गहरुमा जीवन फुल्छ, ओईलाउँछ र झर्छ पनि । जीवनका यी सबै रुपहरु केवल अनुभुतिका भिन्नताहरु मात्र हुन र यिनै अनुभूतिहरुको समग्रता नै जीवन हो ।
यहाँ त कयौँ जीवनहरु फुल्दै र झर्दै जाँदा रहेछन् ।अनि समयको गतिसँगै कयौँ जीवनहरु त टुसाउनसम्म पनि पाउँदा रहेनछन् । यी फरक फरक भोगाइले जन्माउने फरक फरक अनुभूति र संवेगहरुको समष्टिमा नै जीवनको वास्तविक अर्थ निहित हुदो रहेछ ।
त्यस दिन मेरो आँखामा अतितको त्यही निर्मम कालखण्डका पिडाहरुको पुनरावृत्ति भए, जसले हामी सबैका सपनाका दिउलहरुलाई निर्ममतापूर्वक कुल्चिएको थियो । त्यतिबेला कमल भरखर १२ वर्षको मात्रै थियो । भर्खरै तोते बोलि बोल्न छोडेको, बाबुको काखमा धोको पुग्ने गरी बस्न समेत नपाएको, अबोध बालक। जीवन र मृत्युको भेद सम्म पनि खुट्याउन के सक्थ्यो होला र उ ? तर समय ऊ प्रति नै यति धेरै निर्दयी भैदियो कि उसको प्रिय बाबालाई निष्ठुरी कालले अकस्मात जवानी मै चुँडेर लग्यो , विचराको जीवनभरिको मायालु छहारी अकस्मात सदाको लागि मुठारियो । दैबको सामु कस्को के लाग्थ्यो र ? हाम्रो पनि केही लागेन केवल ती सबै दृष्यहरु मुटु मिचेर हेर्न बाहेक।
अहिले पनि त्यस घडीको संझनामात्रले पनि मलाई अत्यन्तै मर्माहत पार्छ । मलाई राम्रोसँग याद छ, त्यसदिन त्यहाँ एकातिर उसको बुबाको महायात्राको तयारी हुँदै थियो भने अर्कोतिर रुवाबासी र कोलाहल। आँखा वरिपरी कारुणिक दृश्य बाहेक केही देखिंदैनथे। त्यही कोलाहलमै त्यस बालकको रोदन पनि समाहित हुँदै थियो । तर उ मुर्छा पर्ने गरि रोए पनि त्यसको अर्थ त्यहाँ कसले बुझेको थियो होला र ? म अहिले पनि भन्न सक्दिन कि त्यतिबेला उ बाबुकै मृत्युको पिडानुभूतिले नै रोएको थियो वा अरु रोएको देखेर मात्र रोएको थियो ?
घरमा मृत्युले एउटा जीवन निमोठिएको परिवेश पिडादायी त थियो नै, घाटमा पुगे पछि कमलको बुबालाई दागबती दिने बेलाको त्यो घडी अझै कहालिलाग्दो थियो । दागबत्ती दिने बेला भएपछि ती कलिला हातहरुमा सल्केको बत्तीको मुठो दिएर हामी उसलाई आफ्नै बाबुको मुखमा राख्न भन्दै थियौ । त्यतिबेला त्यहाँ हाम्रो सामाजिक संस्कारसँग मानवीय संवेदना नै पराजित भई सकेको प्रतित हुन्थ्यो ।
हुन पनि आफ्नै प्रीय बाबुको मुखमा आगो लगाउने कुरा, त्यो अबोध बालकले कल्पना सम्म पनि कहिले गरेको थियो होला र? धेरै प्रयास पछि मात्र बाध्य भएर उसले त्यो बत्ती समाएको थियो।
काँपेका उसका हातहरुले त्यो आगो समाउदै गर्दा उसको मुहारमा एकाएक आश्चर्य, पिडा र लाचारीका भावहरु यसरी मडारिएका थिए कि त्यो देखेर कसैको पनि मन थामिन सक्ने अवस्था नै थिएन । उ बेस्सरी रुँदै थियो । उसका त्यो चित्कारमा पोखिएको त्यो असह्य पीडा र बेदना हामी कसैको पनि सहनशक्तिको सिमाना भन्दा धेरै पर थियो । तर पनि हामीलाई संस्कारले यति कठोर बनाई सकेको थियो कि हामीले उसको बालमनोविज्ञानको कुनै परवाह नगरी अन्तत: उसको बुबाको मुखमा त्यो आगो राख्न लगाएरै छोड्यौ ।
त्यसपछि चिताको आगो दन्किदै गयो, धुवाको मूश्लो उडिरह्यो ।अनि त्यो देह पनि भष्म हुँदै गयो । यस पछि बिचरो कमलले एक पटक पनि चिताको छेउसम्म जाने हिम्मत गरेन । बरु हेर्दा हेर्दै उ पुन: भावशुन्य भयो। लाग्थ्यो, उ त्यतिबेलासम्म संबेदनाहिन भैसकेको थियो र उसलाई पिडाको अनुभूति नै हुन छोडेको थियो । सायद त्यसैले उसका आँखाहरु पनि रसाउनै छोडेका थिए ।
बुबाको असामायिक अवसान पछि कमल चरम गरिवी र दरिद्रता झेल्दै विवश एक आमाको मातृवात्सल्यमा उनैले देखाएको जिन्दगीका सपनालाई पछ्याउँदै हुर्किदै गयो । कयौँ पटक स्कूल जाँदा विचराले न एकजोर राम्रो ड्रेस पायो न कापी कलम नै ।
धेरै पटक त्यही बहानामा उसलार्इ स्कूलबाट फर्काइयो तर पनि उसले कहिल्यै हार मानेन र कहिल्यै विचलित पनि भएन । जीवनको गतिशिलता संगै यात्राको त्यस खण्डसम्म आइपुग्दा उसले जीवनलाई बुझ्यो कि बुझेन? त्यस कुराको अनुमान गर्न सहज थिएन । तर त्यतिबेला सम्म नियतीसंग पौंठेजोरी खेल्दै उ वयस्क र परिपक्व भै सकेको थियो ।
आफुभित्रका असिमित संभावना र क्षमताहरुसँग पनि परिचित भइसकेको थियो । उसका मन भित्र अनगिन्ती सपनाका बिजहरु टुसाएका थिए तर सम्भावनाका ढोकाहरु कतैपनि खुलिसकेका थिएनन् । उसको त्यो सपना, उर्बरशिलता र समर्पणले जीवनमा कुनै सुखद परिवर्तन ल्याउन सकेन भने उसको जीवन कस्तो हुने हो रु भन्ने संबेदनशील प्रश्नले घरी घरी मलाई घोचिरहन्थ्यो र म ज्यादै चिन्तित हुने गर्दथेँ ।
समय किन कसैका लागि रोकिन्थ्यो र ? समयसँगै विभिन्न चुनौतिहरु झेल्दै कमल हुर्कदै गयो र हेर्दा हेर्दै जागिर पनि भयो । त्यसपछि उसका ती अत्याशलाग्दो जीवनमा आशाका किरणहरु पलाए ।
जागिरे हुनु उसको लागि त एकदमै ठुलो सफलता थियो तर ती ममतामयी आमाको लागि भने पुर्णरुपमा खुशी खबर बन्न सकेन । किनकि फेरि एक पटक समयले ती निर्दोष आमालाई निर्ममतापुर्बक तौलँदै थियो। खोई कति पटकसम्म नियतिको तराजुमा जोखिनु पर्ने हो मान्छे ? के सबैको भाग्य यस्तै कठोर हुन्छ र ? कठै ती लाचार आमा? समयले जे जे माग्यो उनले त्यो सबै दिदै गईन । के थियो र उनीसँग बाँकी? न सिंउदोको सिंन्दुर, न वैंशका रंगिन सपना। जवानीको संघारमै समयले लोग्ने चुँड्यो । कैयौं दिन चुल्हो जलेन, भान्सामा नुनसम्म पनि जुटेन र पनि उनको धर्यैता काहिल्यै डगमगाएन । भोकभोकै बितेका दिनहरुको त हिसाबै रहेनन् र पनि उनले आफनो ममतामा कहिल्यै कमी हुन दिईनन् । उनीसँग केवल अत्यासलाग्दो दरिद्रता बाहेक, के नै बाँकी थियो र ? र पनी बाँची नै रहिन्।
तर फेरी यो कस्तो बिडम्बना ? पुन: एक पटक समयले फेरी त्यही प्रिय छोरालाई पनि जागिरको नाममा उनीबाट धेरै टाढा लग्दै थियो । तर पनि छोराको सुखद भविष्यको लागि उनले सदा झैं त्यो पिडा पनि चुपचाप सहिन् । कमलले घर छोडेर जाने कुराले म पनि अलि व्यथित त थिएँ नै, तर पनि उनीहरुका जीवनका युगभन्दा पनि लामा दरिद्रताका अत्यासलाग्दा रातहरु घर्कंदै आशाका उज्याला बिहानीहरु उदाउने कल्पनाले भने म धेरै नै खुसी भएको थिएँ ।
अन्तत: कमलले जागिरको लागि घर छोडेर जानु पर्ने दिन पनि आयो । बिदाईको पल कहाँ रमाईलो हुन्थ्यो र ? उसको बिदाइ पनि अत्यन्तै भारी र पिडादायक नै बन्यो । दैलोमा राखिएको साइतको घडामा पैसा राखेर कमल बाहिरिने बेला भक्कानिएकी आफ्नी बहिनी लाई ऊसले हेर्न पनि सकेन । उता आमाको हालत उस्तै थियो। उनी पनि घरि घरि फरियाले आँसु पुछ्दै आफना पीडा लुकाउने प्रयास गर्दै थिइन ।
मान्छेको मन नै न हो, कति नै कठोर हुन सक्थो र ? जति थामिन खोजे पनि घर छोडेर बाटो लाग्ने बेलामा कमलको आफ्नै गलिसकेको थियो र पनि अबरुद आवाजमा उसले आमालाई भनेको थियो, 'राम्रो सँग बस्नु है, आफ्नो स्वास्थ्यको पनि राम्रो ख्याल गर्नु, म छिट्टै आउँछु १ म हिडे अब ।'
साइतपछि बाटो लाग्ने बेलामा उसले निकै बेरसम्म मलाई हेरी रह्यो, सायद उ केही कुरा भन्न चाहन्थ्यो तर उसको बोली नै फुटेन। उ नि:शव्द भई बाटो लाग्यो । अलि टाढा पुगेपछि एक पटक घरतिर फर्केर निकैबेरसम्म हात हल्लायो र त्यसपछि फर्केरसम्म पनि हेरेन।
समय बित्दै गयो, ऊ जागिरमा गएदेखि नै हाम्रो भेटघाट धेरै पातलियो । उ कहिलेकाँही छुट्टीमा घर आएको बेलामात्र हामी बिचमा कुराकानी हुन्थ्यो । मलाई उसका महत्वकांक्षाहरु दिन दिनै बढदै गएको मात्र होइन उसमा जीवन भोगाइ प्रतिको विरक्ती पनि पलाउदै गएको आभास हुन्थ्यो।
उ पटक-पटक जागिर छोडेर बिदेश जाने कुरा गरिरहन्थ्यो । अक्सर उ भन्ने गर्दथ्यो कि सम्भावनाको शून्यतामा कसरी जीवन बर्वाद गर्न सकिन्छ ? म मेरो जीवनमा केही हासिल गर्न चाहन्छु । मेरो र आमाको सपना साकार पार्न चाहान्छु । यो देशमा मैले मेरा सपनाहरु मौलाउने उर्बरशीलता नै देखिन । म बिदेश गएर उच्चस्तरको जीवन बाँच्न चाहन्छु ।
यस बिचमा हाम्रा मत पटक पटक बाझिएं, तर पनि उ कसैको कुरा मान्न तयार हुदैनथ्यो । आखिरमा हामी कसैको मायाले पनि उसलाई धेरै दिन सम्म बाँधि राख्न सकेन । आखिर उसका अभिप्साका सामु हामी झुक्न बाध्य भयौं । उ एक दिन जागिर छोडेर विदेश लाग्यो ।
समय आफ्नै गतिमा अघि बढी रह्यो । विदेश गएको केही समयसम्म उसको केही खबर आएन । पछि क्रमश: राम्रा समाचारहरु आउन थाले ।
हेर्दाहेर्दै उनीहरुको जीवनस्तरमा धेरै नै परिवर्तन आयो । हिजो सम्म म सोच्दथे कि मान्छे भएर सपना देख्नु स्वभाविक हो । तर सपनाहरु यस्तो पनि हुनु हुन्न कि जसको यथार्थसंग कुनै साईनो नै नहोस र सदा सदा केबल सपना मात्र भएर रहोस । तर कहिलेकाहीं मलाई लाग्थ्यो कि वास्तवमा कमलले समय र अवसरलाई राम्रोसँग चिनेर एकदम सही निर्णय गरेको रहेछ । आखिर! हुर्केको पंक्षीले गुड छोडेपछि मात्र पो मात्र संसार देख्दो रहेछ। अहिले बल्ल उसले आफनो कल्पनाको संसार भेटेको छ, विस्तारै अब उसका सपनाहरुमा रङ्ग चढ्न थालेका छन र उसको जीवन विस्तारै फक्रिदै छ ।
मलाई यस कुराको कल्पनामात्रले पनि जुन खुशी मिल्थ्यो म त्यो वर्णन नै गर्न सक्दैनथें ।
एक वर्षपछि उ विदेशबाट छुट्टीमा घर फर्कियो । हामी सबै अत्यन्त खुशी थियौं । अझ उसकी आमाको हर्षको त सीमा नै थिएन । हृष्टपुस्ट शरिर, कोमल वदन । एकदमै हँसिलो देखिन्थ्यो उ । उसको मुहारको त्यो चमक देख्दा यस्तो लाग्थ्यो कि उसको जीवनले नै पुरै कांचुली फरेको थियो । उ आएको दिन हामी धेरैबेरसम्म संगै बसेर भलाकुसारी गर्यौँ । जीबनका अनेक आरोह अवरोहसंगै भावी योजनाका बारेमा पनि छलफल गर्यौँ ।
तर उसको एक महिनाको बसाईमा मैले उसमा कल्पनै नगरेको परिवर्तन पनि देखें । अधिकांश समय रक्सीले मातिने, अनियन्त्रित खर्च गर्ने, बेपर्बाह जीवनशैली यी सबै देख्दा यस्तो लाग्थ्यो कि वास्तवमा उ पहिलेको कमल नभई अरु नै कोही थियो । उसमा विदेशी जीवनशैलीसँगै नकारात्मक आचरण पनि झाँगिसकेको थियो । ऊ भित्रको विवेकशिलता बिस्तारै हराउँदै गएको जस्तो लाग्थ्यो ।
एक महिना पछि उ पुन फर्केर विदेश नै गयो । तर जुन शैलीमा उसले जीवन बाँच्न थालेको थियो त्यसको गन्तब्य केबल बर्बादी मात्र हुनसक्थ्यो १ म त्यस कुराले अत्यन्त चिन्तित भएँ ।
सन्तुष्टिको कुनै सीमा हुदो रहेनछ , यदी हुन्थ्यो भने उ आफन्तहरुको माया, जन्मभूमि र त्यही जागिरमा रमाएर आफ्नै देशमा बस्ने थियो । उ आमाको काख चटक्क छोडेर त्यो घरै घरहरुको जंगल, मानिसहरुको भीड, मानवीय संवेदना मर्दै गएको समाजमा परदेशिने थिएन र परिवार साथी र आफु हुर्केको डाँडा पखेराहरुसँग टाढिने थिएन ।
परदेशमा बसेर त्यहाँ उसले अरु धेरै कुरा हरु त पायो होला , तर थोरै मात्र पनि सन्तष्टि भने पाएन । बिहान सबेरै उठेर काममा जाने, फर्किने र सुत्ने । यस्तैमा उसको जीवन यान्त्रिक ढंगले चल्दै गयो ।
विस्तारै जीवनमा अरु कुनै दोबाटाहरु पनि देखिन छोडे र ऊ त्यही सीमित परिधिमै रुमल्ली रह्यो । तर मान्छे सधै एक्लिएर कहाँ बस्न सक्छ र रु उसलाई त परिवार, समाज र साथीभाईहरु सबै चाहिन्छ । किनकि मान्छेसँग भावना हुन्छ । उसँग सुख र दुस्ख पनि हुन्छ । मान्छेका यी भावनाहरु तलाउको पानी जस्तै सधै शान्त भएर सहन सक्दैनन् । भावनाहरु त समुन्द्रका छाल जस्तै हुन, उर्लिन्छन, छचल्किन्छन र फेरी फैलिन्छन अनि शान्त हुन्छन १ मनका उतार चढावहरु पनि यस्तै हुन । जो मन भित्रै गुम्सिएर रहन सक्दैनन, पोखिन खोज्छन, फैलिन खोज्छन र शान्त हुन खोज्छन् । तर उ त्यहाँ यसरी एक्लिएको थियो कि आफना मनका भावहरु कसैसँग पनि साट्न सक्दैनथ्यो ।
औद्यौगिक पराकाष्ठामा पुगेको विदेशको त्यो महासागरमा उसका जीवनका रंगहरु धेरै बदलिए । त्याहाको कल्पना गरे भन्दा बढी कमाई, तडकभडकपूर्ण जीवनशैली र मोजमस्ती ती सबैमा नै उसले वास्तविक संसार देख्यो ।
विस्तारै त्यहींको रहनसहन र कथित आधुनिकताले उसलाई नराम्रोसंग गाँज्दै पनि लग्यो । अनि बिस्तारै उसका जीवनशैलीहरु पनि बदलिन थाले । हरेक साँझहरु कहिले शुरमा त कहिले बेशुरमा तिनै आधुनिकताका रंगहरुमा रंगिदै क्लव, पव र डिस्को थेकहरुमा बित्न थाले । मोजमस्ती र सुखसयल त उसलाई प्रशस्तै प्राप्त भयो तर बेहोसीमा बितेका हरेक साँझ पछिका बिहानीहरुले भने उसलाई टोक्दै जान थाले ।
कहिले काहिँ उसलाई आफु बिग्रदै गएको आभाष पनि हुन्थ्यो तर त्यहाँ उसलाई सुध्रिने बाटो देखाउने कोही भएन र उसले पनि आफुले बाटो बिराउदै गएको कुरा कसैलाई बताउन पनि सकेन । त्यहा खुसी हुदाँ कहिल्यै मन फुकाएर हाँस्ने साथी भेटेन र दुस्ख पर्दा मनको बह पोख्ने सहारा पाएन, बरु दिनदिनै ऊ कुण्ठित हुँदै गयो ।
उ नियमित रुपमा काममा पनि जान सकेन र कमाई पनि घट्दै गयो । त्यसपछि उसले धेरै जनासँग पैसा सापटी लिँदै गयो । तर कसैलाई पनि तिर्न नसके पछि र ऊ सबैलाई छलेर हिड्न थाल्यो । उझन झन एक्लिदै गयो र त्यो एक्लोपनले उसमा नशा प्रतिको आशक्ति बढाउँदै लग्यो । त्यसपछि उ दिउँसो मात्र होईन, उज्यालो भएदेखि नै नसामा लठ्ठिन थाल्यो ।
आफु त उ दैन्दिन रित्तिदै गयो तर जसरी भएपनि उसले परदेशबाट परिवार एवं आफन्त र इष्टमित्रहरुको फरमाईस पुरा गर्दै गयो । उ जति कमजोर हुदै गएपनि साथीभाई तथा आफन्तले निरन्तरर पैसा र उपहारहरु माग्न छोडेनन् ।
त्यसैले सात समुन्द्र पारी त रुखको पात टिपे जस्तै पैसा टिप्न पाईन्छ भन्ने हाम्रो गलत मानसिकताका कारण पनि उ हामीबाटै दिनदिनै पीडित हुँदै गयो । नेपालबाट दिनदिनै यति धेरै मागहरु बढ्न थाले कि अब ती कुराहरु पुरा गर्नु उसको क्षमताभित्र पनि हुन छाडे ।
उसलाई विवशता र लाचारीले दिन दिनै थिच्दै लग्यो तर पनि उसले त्यो कुरा कसैसँग प्रकट गरेन ।बरु जे जसरी भएपनि उसले ति सबै “फर्माइस” पुरा गर्दै गयो तर अति भई भईसकेपछि भने यदा कदा कसै कसैलाई फोन गरेर उसले आफ्ना दुस्खका कुराहरु सांकेतिक रुपमा व्यक्त गर्न थाल्यो ।
तर पनि हामी कसैले उसको त्यो भाषा कहिले पनि बुझ्न सकेनौं । हामी यति धेरै आश्वस्त थियौँ कि उसले त्यहाँ के गरी रहेछ? कसरी बसेको छ? उसको काम कस्तो छ ? आम्दानी कति छ ? चाल चलन, आनिबानी कस्तो छ? भनेर कसैलाई सोध्न सम्म पनि आवश्यक ठानेनौ ।
दिनहरु बितिरहे र उ कसैले थाहै नपाई भित्र-भित्र टुट्दै गयो र व्यथा भुलाउन झन झन पिउँदै गयो ।अनि ऊ महिनौं सम्म परिवारको सम्पर्कबाट पनि टाढा रहन थाल्यो । महिनौं पछि उ एकाध पटक सम्पर्कमा आउथ्यो सामान्य कुराकानी हुन्थ्यो र फेरी त्यसै गरी हराउँथ्यो तर हामीले उसको विशेष खोजि कहिले पनि गरेनौँ । उसको त्यो परिवर्तनमा हामीले केही नराम्रो कुराको शंकासम्म पनि गरेनौं बरु सोच्यौं कि परदेशको ठाउ शायद ऊ व्यस्त भयो होला ?
उसले वा अझ भनौ समयले हामीलाई निरन्तर छल गरिनै रह्यो र हामी छलिई रह्यौँ । यो बिचमा कहिलेकाहीं हामीलाई चिन्ता नलागेको पनि होइन तर त्यो धेरै ढिलो भैसकेकेको रहेछ भन्ने हामिले धेरै पछि मात्र बुझ्यौ ।
एकातिर घरको चिन्ता , काम गर्न नसक्ने उसको शारीरिक अवस्था र नशाप्रतिको बढ्दो आशक्ति अर्को तिर सापटी तिर्नुपर्ने साहुहरुको किचकिच । ऊ समस्याको भुमरीमा यसरी फस्यो कि अब त्यहाँबाट उम्किने कुनै बाटो देखिएन । ऊ शिशा जस्तै टुट्यो । बिस्तारै घर तिर पनि सबैसँग उसको नाता टुट्दै गयो । आखिर सबैसंग एक्लिएर कति सम्म बाच्न सक्थ्यो र मान्छे ?
एक दिन बिहानै म बाहिर टहल्न निस्केको थिएं । विदेशी नम्बरबाट मेरो मोवाइलमा टेलिफोन आयो । विदेशमा बस्ने एकजना साथीले गर्नुभएको रहेछ । कल अनपेक्षित त थियो नै खबर पनि उस्तै आयो । कमल यस संसारबाट बिदा भएको अप्रत्यासित् खबर थियो त्यो । म रन्थनिए, सारा संसार फन्फन्ति घुमे जस्तो लाग्यो ।
त्यत्रो सपना बोकेर सात समुद्र पारी पुगेको सबैको आशा र भरोसाको केन्द्र कमल यत्ति चाँडै संसारबाटै विदा होला भन्ने म कसरी कल्पना गर्न सक्थे र ? तर सत्यलाई नस्वीकार्नुको के बिकल्प पनि थिएन १ आखिर सत्य मात्रै यस्तो कुरा हो जुन कहिल्यै बदलिदैन । हो त्यो पनि सत्य नै थियो । वास्तममा कमल यस दुनियाँमा थिएन । एउटा भीषण दुर्घटनामा परेर उसले मृत्युवरण गरेको खबर मैले पाएको थिएँ ।
उ मेरो पनि अत्यन्त प्रिय थियो , म उसका सबै सपनाहरु फुलेका हरा भरा जीवन देख्न चाहने मान्छे , उसको त्यो असामायिसक मृत्युको कुरा कसरी सहन सक्थे र रु त्यस माथी पनि म यस कुराले झन मर्माहत हुन्थे कि बिचरा कति सम्म अभागी रहेछ कमल । जीवन कै अन्तिम अवस्थामा पनि उसले कसैको मयालु स्पर्श मात्र होईन , कसैसंग आफ्नो पीडा पोख्न पाएन र जन्मेको माटोको सिरानी पाएन।
कसैको कल्पनामै नभएको उसको मृत्युको त्यो खबर, धेरै बेरसम्म त मैले आफैंमा सीमित राखें । आखिर मृत्युलाई कतिन्जेल पो लुकाई राख्न सकिन्थ्यो र ? मैले पनि सकिन र मैले पनि सबैलाई बताउने नै निधो गरें । तर कमल कि आमालाई भने बताउने हिम्मत गर्न सकिन । किनकि उनको जीवनको सहारा, त्यही छोरा थियो, जसको अकाल मै भएको मृत्युको खबर सुनाउदा बिचरीको हालत के हुने होला? त्यो सोचेर पनि मेरो मुटु फुट्ला जस्तो हुन्थ्यो । तर पनि म अत्यन्तै बिबश थिएँ।
मलाई थाहा थियो कि उनले कुनै पनि हालतमा त्यो कुरा सहन सक्दिनन् । तर त्यो बाहेक अरु कुनै बिकल्प नभएकोले आफूलाई सम्हाल्ने कठिन प्रयासपछि उनलाई सबै कुरा बताउन थाले ।
मेरो कुरा सुन्दा सुन्दै उनको अनुहार पहेंलियो । उनी लल्याक लुलुक्क भईन् । तत्कालै उनलाई अस्पताल पुर्याईयो र धेरै दिनको उपचार पछि उनी होसमा त आइन तर सदाको लागि आफ्नो मानसिक सन्तुलन गुमाइन । कसैसंग पनि बोल्न छाडिन् । हेर्दा हेर्दै शारीरिक रुपमा यति शिथिल भईन कि उनी बिछ्यौनाबाटै उठनै नसक्ने भइन् ।
त्यसपछि त उनको मुहारमा कहिल्यै कुनै संवेग देखिएन । विचारीले एकमात्र छोराको मृत्यूमा पनि एक थोपा आँशु झार्नसम्म पनि सकिनन् । खुसीले बाँच्न त उनले पाइनन नै, जिउँदै मरेर पनि उनले मुक्ति पाइनन। त्यसैले अझै सम्म उनी मरेरै मर्न सकेकी छैनन।
अतितका ती दिनहरूको कल्पनामात्रले पनि अत्यन्त मर्माहत हुन्छु र यस्तो लाग्छ कि घनघोर कालो बादलको बिचबाट एउटा उज्यालो घाम जस्तै उदाएको थियो कमल ।
समय भन्दा धेरै अघि नै झुल्क्यो र समय भन्दा अघि नै अस्तायो पनि। आफुसँगै सबैको जीवन उजिल्याउन उसले भरमग्दुर प्रयत्न गर्यो। तर बिडम्बना ! उ आफै कहिले नबल्ने गरी निभ्यो । उ सपना जस्तै भएर आयो र सपनै बनेर गयो । प्रियजनहरु सबैका सपनाहरुलाई बेवारिसे छोडेर ।
उसले यसरी विश्राम लियो कि उ संगै एउटा जिन्दगी मात्र होईन, उसले बाँचेको एउटा युगकै अवसान भयो । यस्तो अवसान जहाँ केबल कमलमात्र कहाँ हो र रु अरु कैयौं जीवनका सपनाहरुको पनि अवसान भयो ।
विचरा उ बाँच्नकै कै लागि जीवनभर भौतारिह्यो, देश छोडेर सात समुन्द्रपारी पुगेर पलपल तडपिरह्यो तर उसले न चाहेको जीवन कहिल्यै बाँच्न पायो न स्वाभाविक मृत्यु नै ।
आफू र परिवारको खुसीको लागी उ जवानीमै बिदेशियो तर फेरी कहिल्यै फर्केर आएन । कहिले खाटो नबस्ने आलो घाउ बनेर अस्तायो यो दुनियाँबाट, केवल सपना र झझल्को मात्र छोडेर।
(लेखक नेपाल प्रहरीका प्रहरी उपरीक्षक हुन् ।)