आज धीरमान निकै खुशी छन्। छोरोले बोलाको छ। दुईचार महिना उतै बस्न आउनु भनेर। एक महिना अगाडि आउंदा भाईबर चलाउने तरीका सिकाईदेका थिए। एकाउन्ट पनि खोल्देका थिए। अब त पोख्त भैसकेका छन्। कल आउंदा कसरी रिसिभ गर्ने, कसरी डायल गर्ने, कसरी भिडियो कल गर्ने आदित्यादी सबै कुरोमा पारङ्गत भैसकेका छन्। समय समयमा कुरो गर्छन् छोरोसंग। घरमा एक्लो हुंदा पनि नियास्रो मान्दैनन्। धीरमान दङ्ग छन्।
धीरमान खोकनाका पुराना बासिन्दा हुन्। पूरा नाम धीरमान महर्जन। उमेरले साठी कटेका। सबैले धीर बा, धीर बा भन्दा भन्दा धिर्बा बन्न पुगेका थिए। तर यिनलाई बा भनेको पटक्कै मन पर्दैनथ्यो।
"अ भाटे… कोलाई बा भन्या हँ?" यिनी रन्किन्थे। "त्यरो बा हो म? मेरो हेर्चाले मात्र मलाई बा भन्छ। बुज्यो?"
रुद्रायणी मन्दिर निरको फल्चामा बसेर घाम ताप्दै गरेका यिनी राम्चासंग बाझ्दै थिए।
"अङ्कल भन, अङ्कल। बुजिस्?" अनि फेरि आफैसंग गनगन गर्न थाल्छन्, "जैले पनि बा भनेर ल्याउंछ। बेमान।"
फेरि एकैछिनमा आफ्नो रीस भुलेर छोरोले अष्ट्रेलिया बोलाको खबर उही राम्चालाई दशौं पटक सुनाउन थाल्छ।
"ह्या… धिर्बा अङ्कल पनि। कति सुनाउनु पर्ने। एउटै कुरो।" राम्चा झर्कियो। धिर्बालाई नामको पछाडि अङ्कल झुन्ड्याएपछि चित्त बुझेछ क्यारे राम्चा झर्केपनि माईन्ड गरेन।
राम्चा याने रामभक्त नगरकोटी, धिर्बाका छोरा हेर्चाका मिल्ने साथी। आफ्ना अनन्य मित्र अष्ट्रेलिया पुगिसक्दा आफू भने यतै टोलपाटी रलिंदै, खेतबारी धाउंदै गर्नुपर्दा यिनको मनमा आगो बलेको छ। त्यही आगोमा घ्यूतेल थप्न बूढो उद्यत छन्, घरी घरी छोरोको बखान गर्दै। राम्चाको आफ्नै व्यथा छ। घरको एक्लो छोरो, बिहे गर्न हतार भैसकेकी बहिनी अनि बूढी आमा। बाउको परार परलोक भएपछि थपिएको जिम्मेवारीको बोझले त झन् विदेशका कल्पना दीवास्वप्न मै सीमित रह्यो यिनका लागि।
हेर्चाको खास नाम हो हीरामान महर्जन। उमेरले अट्ठाईस। एउटी दिदी पनि थिईन् रे, तर बच्चैमा निमोनियाले बितिसकेकी। आमा पनि पाँच वर्ष अघि बित्नुभैसकेकोले बाउ छोरा मात्रै बाँकी छन्। भैंसेपाटी आवास क्षेत्रको दक्षिण कोल्टेतर्फ मगरगाउँ नजिकै साढे दुई रोपनी र सिकाली डांडा मुनि पाउने चार रोपनी खेत यिनीहरुको पुर्ख्यौली सम्पत्ति छ।
कार्यबिनायक निरको जग्गा चैं बहत्तर सालमा बेचेका थिए, भुईंचालो पछाडि। रुद्रायणी मन्दिर पछाडिपट्टि गल्ली भित्र उनीहरु बस्ने पुरानो पुर्ख्यौली घर, जुन भुईंचालोले नराम्ररी चर्कायो। छिमेकमै एउटा दूधे बालक सहित तीन जना घरले थिचेर मरेको कुराले धिर्बाको मथिङ्गल नराम्ररी हल्लिएको थियो। त्यसैले आफ्नो चर्केको पुस्तैनी घरलाई जगैसम्म भत्काएर नयाँ बनाएका थिए, उही कार्यबिनायकको जग्गा बेचेको पैसाले। बाँकी जोगेको पैसा बैंकमा राखेका थिए। राम्रै ब्याज कमाउँथ्यो। मोटामोटी भन्नुपर्दा धिर्बालाई खानलाउन कुनै चिन्तै थिएन। वर्षको दुई पटक खेताला लाएर अन्नबाली लगाउने र भित्र्याउने काम बाहेक अरुबेला फुर्सदैफुर्सद।
तर यस्तैमा हेर्चालाई विदेश जाने भूतले गाँज्यो। त्रिहत्तर सालको आधाआधी पुग्दा नपुग्दै धिर्बाको पारिलो जिन्दगीमा छायाँ पर्ने छांटकांट देखियो। उमेर पुगेको छोरोलाई बिहेवारी गराईवरी आफू आरामले रिटायर्ड लाईफ बिताउने सपना तुहिने डर भो धिर्बालाई।
"पढ्न जाने हो बा। पढाई सकाएर फर्किहाल्छु नि।" हेर्चाले बाउलाई सम्झायो। "अहिलेको जमानामा माष्टर्स नगरी सुखै छैन। माष्टर्स नभएर जबमा उंभो लाग्न सकेकै हैन। केयुमा ट्राई गरेको हो नि। नामै निस्केन। बरु बाहिरै ठिक छ। पढ्दै कमाउन पनि पाईन्छ। बालाई धेरै बोझ पनि हुन्न। संगै पढेकाहरु कति जना बाहिर गैसके। कति त सेटल नै भाका छन् उतै बस्ने गरेर। म त फर्किन्छु नि बा।"
कुनामा बसेर सुन्दै गरेका धिर्बा रिसले रातोपिरो भैसकेका थिए। तर के गर्नु। उमेर पुगिसक्या छोरोसँग पहिला पहिला जस्तै थर्काएर कुरो पनि त गर्नुभएन। रिसलाई निल्दै सकेसम्म नम्र हुँदै भने,
"स्व बौचा। तँ भन्येको मेरो यक्लो सन्तान। तँ गएपछि म के गर्ने? जाने कुरा नगर पुता। अब म बुरा भयो। यक्लै बस्न गारो हुन्छ।" धिर्बा पूरै सेन्टी पाराले छोरालाई सम्झाउंदैथिए। "बरु ब्या स्या गरेर बस। उमेर पनि भैसक्यो।"
तर छोरोले ढिप्पी छाडेन।
"ह्या… बा पनि। पढ्न जाने भन्दैछु त। उतै बस्ने गरि जाने हो र? बिहे त गर्दै गरुंला नि। कुन चैं बितिहाल्या छ र? अं, पल्लो टोलको हरिमैंचालाई भन्याछु। बाको लागि खाना पकाउन लुगा धुन आईदिन्छु भन्या छ। महिना महिनामा धेरथोर हेरेर दिनुहोला। दुईचार वर्षमा फर्किहाल्छु त। भैहाल्यो नि।" हेर्चा आफ्नो कुरा धाराप्रवाह राख्दै गए। धिर्बा सुन्या सुन्यै। असह्य भएपछि बूढो पड्कियो।
"बेमान। अनि ट्यां जाने सिट्टैमा हो? ढेबा गो ढेबा? तेरो बाउ सेंठ हो?"
"अलिअलि जग्गा बेच्ने नि बा। आखिर मै त हो तपाईंको। अरु कसको लागि सम्पत्ति? चाहिया बेलामा नबेचे भोलिपर्सि मरेपछि संगै लाने?"
धिर्बा खङ्ग्रङ्गै पर्यो, छोरोको यस्तो कडा डायलग सुनेर।
"का स्व। धाउ स्व। बेमान। तैंले राख्न देको सम्पत्ति हो? तैंले कमायर ल्याय्को सम्पत्ति हो?"
"तपाईंको पनि कमाको सम्पत्ति त होईन नि बा। बाउ बाजेको पुर्ख्यौली सम्पत्ति हो। मेरो पनि हक लाग्छ।"
धिर्बाले छोरोको मुखबाट यस प्रकारको जवाब आउला भनेर सपनामा पनि चिताएका थिएनन्। दुई दिनसम्म बाउ छोराको बोलचाल बन्द भो। तर आखिर बाउको मन न पर्यो, पग्लिछाड्यो।
के गर्ने? एक्लो छोरो। हेर्चाका आमा, चिरीमैंचा, बित्ने बेलामा छोराको हेरबिचार गर्नु भनेर गएको कुरो सम्झ्यो। कुनै पनि कमी हुन नदिनु भनेर बाचा गराएको सम्झ्यो। धिर्बा साह्रै ठूलो दोधारका बीच हेर्चालाई विदेश पठाउन राजी भयो।
* * *
अन्तत: धिर्बाको अष्ट्रेलिया जाने दिन पनि आयो। टोलछिमेकमा कमै विदेश गाकाहरु बीच धिर्बाको शान बढ्यो, गुनगान भो, कोही ईर्ष्या गर्ने पनि भए। झगडै गरेर गए पनि अन्तमा छोरोले बाउको ईज्जत चैं बढायो है, धिर्बाले तिलचामले जुङगामा ताउ लाउंदै मनमनै सोच्यो। भएका जग्गाको क्षेत्रफल स्वाट्टै घटेकोमा मन नकुँडिने त कहाँ हो र। तर अब धिर्बाले आफूले आफैलाई सम्झाईसकेका थिए। केही पाउन केही त गुमाउनै पर्यो नि।
यता राम्चाले धिर्बालाई हुनसम्म सहयोग गर्यो। बैंक सर्टिफिकेट लिने देखि डलरको जुगाडसम्म अनि भिषा एप्लाई देखि ईन्टर्भ्यूसम्म। राम्चाले आफ्नै बाउलाई पनि ज्यूँदो छंदा यति साह्रो सघाको थिएन होला। नेपाली नैं पनि प्रष्ट नबोल्ने धिर्बालाई विदेशको बसाई कस्तो हुने हो राम्चा आफै छक्क थियो। भाग्य त बोकेरै आएका रैछन् बूढाले। आफू ईन्डियासम्म नि पुग्या होईन, यो बूढो अष्ट्रेलिया पुग्ने भो भन्दै थक्थकायो राम्चा।
हेर्चाले भाईबरमा पहिल्यै सम्झाको थियो राम्चालाई, बाउ चाहिंलाई ह्वीलचेयरमा पठाउनको लागि। एक्लो ज्यान, त्यो पनि कहिल्यै प्लेनमा नचढेको मान्छे। त्यसमाथि सोह्र सत्र घण्टाको यात्रा, मलेसियामा तीन घण्टाको ट्रान्जिट समेत जोडेर। राम्चालाई शङ्कै थियो बूढो सहि सलामत पुग्नेमा। तै एक जना भलादमी एयरपोर्टमै भेटियो जो उतैसम्म जांदै थियो, अष्ट्रेलियाको सिड्नीसम्मै, जहाँ हेर्चा पढ्दै थिए। राम्चाले रिक्वेष्ट गरिवरी धिर्बालाई उनैसंग साथै पठाउने व्यवस्था गर्यो र हेर्चाको कन्ट्याक्ट नम्बर पनि दिईदियो। झण्डै झण्डै मध्यरात तिर बल्ल धिर्बा चढेको प्लेनले काठमाण्डौको जमीन छोड्यो।
* * *
अर्को दिन बेलुकी नौ बजेतिर सिड्नीमा प्लेन ल्याण्ड गर्दा धिर्बा ईन्तु न चिन्तु परिसकेका थिए। तै काठमाण्डौको एयरपोर्टमा भेटेका व्यक्तिले धिर्बालाई निक्कै नै सहयोग गर्यो। मलेसियाको ट्रान्जिट देखि प्लेन यात्राका दौरान हरेक कुरामा मद्दत गर्यो।
घण्टौको ईमिग्रेशनको काम सकाएर सिड्नी एयरपोर्टको टर्मिनलबाट लग्गेज घिच्याउंदै निस्किंदा हेर्चा बाहिर उभिराखेको देखेर धिर्बाको आँखामा चमक आयो।
बा भन्दै हेर्चा बाउ भाको ठाउँमा आउंदा संगै आउने व्यक्ति उनैलाई फोन लगाउंदै थिए।
"तपाईं हीरामानजी हुनुहुन्छ हो?" फोन गोजीमा हाल्दै हेर्चालाई ती व्यक्तिले सोधे। हेर्चाले मुन्टो हल्लाए। "ल, बुवाको ख्याल राख्नुस्। नयाँ ठाउँ। अत्यास लाग्ला। म लिज्गर स्ट्रीटमा बस्छु। त्यतै सानो बेकरी चलाईरा'को छु। सम्पर्कमा बस्नुहोला है त।"
यति भन्दै आफ्नो कार्ड थमाएर उनी भिडमा ओझेल भईहाले। धन्यवाद पनि भन्न पाएनन्। यो कुरामा हेर्चालाई थकथक लाग्यो।
"बा, एकै छिन यहाँ छेउ लागेर बस्नुस् है। म गाडी लिएर आउँछु।" भन्दै हेर्चा पार्किङ्ग लटतिर लागे।
लखतरान धिर्बा पेटीमै थुचुक्क बसे। एकै छिनमा चिल्लो कार चलाएर आफ्नो छोरो अगाडि प्रकट हुंदा धिर्बालाई हुनसम्मको ताज्जुब भयो।
"अ बौचा। यो कसको मोतर हँ?"
"मेरै हो बा। कलेज जान, काममा जान गाडी नभै हुन्न त यहाँ।" गाडी किनेको बारे हेर्चाले बाउलाई भनेकै थिएन।
"पैसा काँबाट ल्याईस् यत्रो मोतर किन्न?" धिर्बा छक्कै थिए।
"किस्तामा किन्ने नि बा। एकै तालि तिर्नु पर्दैन।"
"अस्टि पठाको खर्च जम्मै सिढ्याको हो कि बेमान?"
"होईन बा। त्यो कलेज फी को लागि थियो। ल बस्नुस्। घर पुग्न टाढा छ।" लग्गेज डिक्कीमा हाल्दै हेर्चाले भने।
"घर पनि किनेर पठाईस् कि क्या हो?"
"हाहाहा। बा पनि ठ्ट्टा गर्नुहुन्छ। काँ घर किन्न सक्नु। भाडामा हो बा। घरमालिकहरुको नर्थ सिड्नीमा अर्को घर छ, उतै बस्न गा'छन्। यताका घरहरु हेर्ने जिम्मा मलाई द्या'छन्।" गाडी स्टार्ट गर्दै हेर्चाले भन्यो।
"तँ ज्वाईं होस्? घरै जिम्मा डियो भन्छ, बेमान।"
"बिश्वास नि बा। उता जस्तो कहाँ हो र। यता बिश्वासको ठूलो महत्त्व छ। भाडामा अरु तीन खलक पनि छन्। मैले चैं भाडा उठाउने, बिलहरु तिर्ने, टेक केयर गर्ने गर्छु।" हेर्चाले सम्झायो।
"अनि नि बा, ह्यां मलाई हेर्चा नभनुस् न है। हीरा भन्ने गर्नुस्। सबैले मलाई यही नामले चिन्छन्।"
धिर्बा कुन्नि के हो भुत्भुताउंदै देब्रे फर्केर बाहिरको निष्पट अंध्यारोलाई स्ट्रीट लाईटको उज्यालोले मिलिक मिलिक गर्दै उजिल्याएको नियाल्न थाले। गाडी स्टोनी क्रीक रोड माथि तुफान तरीकाले कुद्दै थियो।
धिर्बाको सोचाई पनि उही गतिमा कुद्न थाल्यो। आउन त आईयो। नौलो ठाउँ। भाषा फुट्टी जान्या होईन। कोही संग बोल्नु परे के भनेर बोल्नु? लाटोले ईशारा गर्या जस्तो बोल्नु पर्ने त होला। ऊ बेला खेतैमा समय बित्यो। ईस्कुल गईएन। अब आपत पर्यो।
छोरोले गाडीलाई स्वाट्टै दाहिने मोडाउंदा धिर्बा झसङ्ग भो। गाडी स्टोनी क्रीक रोडलाई छाडेर उत्तरतर्फ लाग्दै किङ्ग जर्जेज हाईवेमा कुद्न थाल्यो।
पारामाटा रोड हुँदै रोजहिल स्ट्रीट पसेपछि बल्ल छोरोको बासस्थान आईपुग्यो। कम्पाउण्डमा रहेका दुईटा घर मध्ये देब्रेतिरको घरको लनमा हेर्चा, मतलब, हीरामानले गाडी रोक्यो।
दुबै दुईतले घर थिए। झिंगटीको छाना भएका बङ्गला टाईपका घर। अंध्यारोमा छरछिमेक कस्तो थियो खुट्ट्याउन भने सकिन्नथ्यो। हीरामानले खल्तीबाट साँचो निकाल्यो र ढोका खोल्यो।
"हे नान्सी। आर यु अस्लीप?" हीरामानले खै को सित पो कुरा गर्यो। धिर्बा अलमलमा परेको देखेर भन्यो, "बालाई मैले भन्नै पाको छैन। म यो फ्ल्याट शेयरिङ्ग गरेर बस्छु। भन्या मतलब साथीसँग बस्छु। स्टुडेन्टहरु यस्तै गर्छन् यहाँ। नत्र भाडा अचाक्ली महङ्गो पर्छ।"
एकजना अन्दाजी २५-२६ वर्षकी केटी आँखा मिच्दै भित्र कोठाबाट बाहिर निस्किंदा धिर्बा तीन छ्क्क पर्यो।
"हेर यु आर नान्सी। मीट माई फादर।"
नान्सीले हात जोडेर अभिवादन गर्यो, "नामास्टे!"
धिर्बाले रनभुल्लको अवस्थामा नमस्कार फर्कायो।
"अलि अलि नेपाली सिकाको छु, बा।" हांस्दै हीरामानले भने, "थाईलैण्डका हुन् यिनी। हामी सङ्गै पढ्छौं।"
हे भगवान। केटा र केटी एउटै कोठामा? बिहे नै पो गरेछन् कि क्या हो बेमानले। बाउको मनको कुरो बुझेछन् क्यारे, फ्रीजबाट पानी झिकेर ल्याई बाउलाई दिंदै भने, "हैन बा। दुई बेडरुमको फ्ल्याट हो। लिभिङ्गरुम र किचेन मात्रै शेयर गर्छौं। बेडरुम छुट्टाछुट्टै हो। माथिको फ्लोरमा र उताको घरमा पनि यसरी नै शेयरिङ्ग गरेर बसेका छन्।"
भन्ने के, भन्ने कल्लाई। धिर्बालाई भाउन्न भो क्यारे, छेउको कुर्सीमा टुसुक्क बसे। चिरीमैंचा भाको भए यो कुरा थाहा पाएर आगो हुन्थी। छोरोलाई काबुमा राख्न नसकेकोमा धिर्बाले आफ्नी स्वर्गीय श्रीमतीसंग मनमनै माफी मागे।
परिस्थिति असहज भएको महसुस गरेर हीरामानले नान्सीलाई केही भने। उनी भित्र गईन्।
"बा थाक्नु भो होला। ढिलो पनि भो। आज सुत्नुस्। म यतै लिभिङ्गको सोफामा सुत्छु। तपाईं मेरो बेडरुममा सुत्नुस्। आउनुस्।"
धिर्बा ज्ञानी बालक झैं छोरोको पछि लाग्यो।
* * *
हीरामानले कामबाट चार दिन छुट्टी लिए। कलेज त उसैपनि दिनदिनै जानु पर्ने हुन्थेन। यस बीच बाउलाई सिड्नीका हेर्नलायक ठाउंहरु घुमाए। ओपरा हाउस पुग्दा बूढा दङ्ग परे। टाढाबाट हेर्दा समुन्द्रको किनारमा सेतो पुष्पपत्र फिँजारेर ढकमक्क फुलिरहेको सेतो कमलको फूल झैं देखिने विशाल घर यहाँको नाचघर हो भनेर सुन्दा आफ्नो देशको कुचुक्क परेको जमलको नाचघर सम्झे। मन अमिलो भो। विदेश भन्या विदेश हो। कति सफा। कति राम्रा बाटाहरु। कति अग्ला घरहरु।
सिड्नीको उत्तरी र दक्षिणी खण्ड जोड्ने विशाल सिड्नी हार्बर ब्रीज छेउ उभिएर टाढा टाढासम्म देखिने नीलो समुन्द्र अनि तिनका माथि तैरिंदै गरेका साना ठूला सेता डुङ्गाहरुको मनोरम नजाराले धिर्बालाई प्रफुल्ल बनायो। जिन्दगीमा दोश्रो पटक समुन्द्र देख्दै थिए। यस अघि उडिसाको जगन्नाथ पुरी जांदा चिरीमैंचा सङ्गै थिईन्। घामको प्रकाश ठोक्किएर झिलिक झिलिक गर्दै गरेको समुन्द्री छाल देखेर धिर्बालाई बङ्गालको खाडीको समुन्द्रमा चिरीमैंचासंग पानी छ्यापाछ्याप गर्दै खेलेको झलझली याद आयो। समुन्द्रको किनारै किनार संगसंगै ससाना शङ्खहरु बटुल्दै हिंडेको याद आयो। चप्पल हातमा बोकेर खाली खुट्टा बालुवामा हिंड्दा समुन्द्रको ससाना छाल खुट्टालाई छोला छोला जस्तो गरेर फर्कंदा चिरीमैंचा खित्खिताउंदै हांसेको याद आयो। धिर्बा भावुक बन्न पुगे।
तर कहिले डार्लिङ्ग हार्बरको रमझममा अल्मलिंदै गर्दा त कहिले टारोङ्गा चिडियाघरमा अग्ला अग्ला जिराफहरु अनि बुर्लुक बुर्लुक उफ्रींदै गरेका कङ्गारुहरु हेरेर रमाउंदै गर्दा धिर्बाको भावुकताले लामो समयसम्म दिलोदिमागमा कब्जा जमाउने मौका पाएन।
नान्सी पनि कुनै कुनै ठाउँ संगै हुन्थी। रहंदा बस्दा अब त नान्सी पनि धिर्बालाई जाती लाग्न थालिसकेकी थिई। छोरोका साथ एकै छाना मुनि रहेकोमा अब गुनासो रहन छोड्यो। यहाँको चलनै यस्तै रहेछ त। बेमानले बिहे चैं गरि नल्याओस्। त्यति भए पुगिगो नि। त्यही हो, कुनै कुनै बेला बेपरवाह तालले आफ्नै अगाडि चुरोट फुक्ने नान्सीको बानी भने साह्रै ननिको लाग्थ्यो। एक त केटी मान्छे त्यो पनि बुज्रुकका सामु चुरोट खानु भनेको धिर्बाको आचारसंहिता भित्र परोस् पनि कसरी? तर चुरो कुरो त धुवांको गन्धले गर्दा बूढा आफैलाई चुरोटको तलतलले हत्तु पार्थ्यो। डाक्टरले उनलाई चुरोट निषेध गरेको एक वर्ष पनि त भएको थिएन।
जे होस्, धिर्बाका लागि ती चार दिनको घुमाई जादुई नगरीको यात्रा भन्दा केही कम रहेन। एउटा तिलस्मी क्षण जुन यसरी बित्यो कि मानौं निमेष भर थियो।
* * *
हीरामान पार्ट टाईम एमबिए गर्दै थिए। काम पनि गर्थे। बाउ आएदेखि पढाई र काममा ध्यान दिन पाईरहेका थिएनन्। बिस्तारै आफ्नो पहिलाकै समयसारिणीमा फर्किन थाले।
फलत: धिर्बा दिनभर घरमा एक्लो हुन थाल्यो। दुईचार दिन त टिभी हेरेर मन भुलाए। तर हफ्तादिन भएपछि बूढालाई औडाहा पो हुन थाल्यो। जेलमै बस्या जस्तो। छरछिमेकमा चिन्या कोही होईन। चिने पनि बोल्न आए पो। त्यसैले कहिले नजिकैको ओल्ली वेब्ब रिजर्भको घांसे मैदानसम्म लुखुरलुखुर हिंडेर जान्थे, उतै कतै एक्लै धुम्धुम्ती बस्थे, फर्किन्थे। त कहिले हाई स्ट्रीट हुंदै ह्यारीस पार्क पुगेर रेलवे स्टेशनको सेरोफेरो घुमेर फर्किन्थे।
एक दिन बूढो ग्रेट वेष्टर्न हाइवेको छेवैछेउ हिंड्दाहिंड्दै कुनै मन्दिर पुग्यो। शिखर शैलीमा बनेको भव्य मन्दिर झ्वाट्ट हेर्दा धिर्बालाई जगन्नाथ पुरीको मन्दिर झैं लाग्यो, तर सानो काँटको। तराईका जस्ता लाग्ने मानिसहरुको घुइँचो देखेर विदेशी भूमिमा आफ्नै गाउँठाउँ पुगे जस्तो भो। लटरपटर कनीकुथी हिन्दी भाषामा सोधेर आफू मुरुगन मन्दिर पुगेको भेउ पायो। त्यहाँ बसोबास गर्ने दक्षिण भारतीयहरुले स्वदेशमा रहेका मन्दिरको सिखो गर्दै बनाएका।
त्यो दिन धिर्बा दिनभर उतै भजनकिर्तन गरि बसे। मन आल्हादित भो। विदेशी भूमिमा समेत महादेवपुत्र कुमारजीको शानदार मन्दिर बनेको देख्दा आफ्ना ठाउँका अनगिन्ती जर्जर अवस्थाका मन्दिरहरु सम्झेर मन खिन्न पार्यो।
फर्किने क्रममा भने धिर्बा मज्जैले बाटो अल्मलिए। धन्न, भगवानको कृपाले घर चैं पुग्न सके।
सांझपख छोरोलाई यो कुरा सुनाउंदा भने राम्रै गाली खाए। बूढो मान्छे एक्लै त्यति टाढा पुगेकोमा हीरामान जंगिनु जायज त थियो तर धिर्बाले निक्कै चित्त दुखाए। त्यो बेला त धिर्बाले केही बोलेनन् तर बाउछोरा बीच चिसोपन भने देखियो।
* * *
यस्तैमा धिर्बालाई नेपालको सम्झनाले पिरोल्न थाल्यो। सपनामा पनि आफ्नै घर आंगन पुग्न थाल्यो। इन्द्रायणी मन्दिर निरको फल्चामा बसेर पल्लो घरको माईल्चा अनि सुकुराम, भाईराजा, बेखाचा जम्मा भएर गफिंदै गरेको देख्न थाल्यो। आफ्नो खेतको हिलोमा घुंडा घुंडासम्म सुरुवाल माथि सारेर चिरीमैंचा सङ्गै धान रोप्दै गरेको देख्न थाल्यो। घरदेखि खर्पनमा बोकेर लगेको खाजाको पोको फुकाउंदै खेतको आली आलीमा लहरै बसेर खेतालाहरुसंगै पीरो आलुको अचार र छ्वेलासित बटुकोबाट जांड सुरुप्प पार्दै गरेको देख्न थाल्यो। आजकल धिर्बाको मनमा अशान्तिले बास गर्न थाल्यो।
झन् हीरामानको व्यवहारले धिर्बाको मन दुख्न थालेको थियो। जे कुराको पनि टोकसो। यो नखाउ, त्यहाँ नजाउ, त्यसो नगर। छोरो न हो, संधै बच्चै लाग्ने। हिजोको बचेरोले हरेक कुरोमा आफूलाई तहलाउन थाले पछि मन दुख्ने नै भो। यसै पनि बन्दी सरि दिन काटिरहेका धिर्बालाई छोराका ससाना टोकसोले पनि मन चिमोटिन्थ्यो। एक महिना नाघ्दा ननाघ्दै धिर्बालाई यो ठाउँमा उकुसमुकुस लाग्न थाल्यो। र, एक दिन।
"स्व बौ। द थन च्वने मयेल। अब फर्किने बौ। तंलाई पनि गारो होला। संधै यो बुरा भाटमारा जस्तो झ्वाट्याँ बसेक्व कटि हेर्ने। डिक्क लाग्यो होला। टिकस ल्याइडेउ हेरा। फर्किन्छु अब।" मलिन अनुहार लिएर धिर्बाले आफ्नो कुरो राखे।
"किन र बा? के भो?" ल्यापटपबाट टाउको उचाल्दै हीरामानले भने, "न्यु यर आईसक्यो। रमाईलो हुन्छ यता। हार्बर ब्रीज साईडमा फायरवर्क्स निक्कै रमाईलो पो हुन्छ त। हेरेर मात्र जानुस् न, बा।"
"पुग्यो पुता। सप्पै हेरें। अब हेर्न पुग्यो।"
धिर्बाको कुराको गहिराई हीरामानले बुझ्या हो कि हैन कुन्नि तर उनले बाउलाई यस पछाडि कर गरेनन्। भोलिपल्टै दुई दिन पछाडिको प्लेन टिकट अनलाईन बुक गरे।
फ्लाईटको अघिल्लो दिन नान्सीले धिर्बालाई प्याकिङ्ग गर्न सघाए। हुन त सामान नै कति पो थियो र। लग्गेज बन्द गर्ने बेलामा धिर्बाले लुगाको थान भित्र सुटुक्क एक चीज लुकाए, छोराले नदेख्ने गरि। ओपरा हाउस अगाडि छोरासंग खिंचेको सेल्फी फोटो। फोनमा खिंचेका फोटा हराउलान्, मान्छे नै पनि हराउलान्, तर यो फोटो त साथै रहला कि?
"राम्ररी जानुस् बा। यहाँदेखि काठमाण्डौ जाने ग्रुप नै रैछ। साथै हुँदा बालाई अप्ठेरो नपर्ला।" एयरपोर्टमा बाउलाई छोड्न आएका हीरामानले हात समाउंदै भने।
काठमाण्डौ जाने यात्रीहरुलाई विमानतर्फ जान उद्घोष भयो।
"का बौचा, बांलाक्क च्वं। राम्रोसिट बस्नु। राम्रोसिट पढ्नु। त्यरो संधै भलो होस्। मेरो चिन्ता लिनु पर्डैन।" जांदाजांदै धिर्बाले छोराको केश सुम्सुम्याउंदै भने।
निन्याउरो अनुहार बनाएका आफ्ना छोरालाई एक पटक फर्केर हेर्यो धिर्बाले। उही पहिलेकै हेर्चा देख्यो। बालसुलभ आँखाले हेर्दै हात हल्लाउंदै गरेका। सानो छंदा पहिलो पहिलो चोटि ईस्कुलमा छोड्न जांदा बस्न नमानेर चिच्याई चिच्याई रुने गर्थे। बल्ल तल्ल फकाईवरी फर्कंदा कक्षाकोठाको झ्यालको डन्डी समाएर यसरी नै हात हल्लाउंदै बिदा गर्ने गर्थे, आँखा भरी आँसु राखेर।
आज पनि हेर्चा आफ्नो बाउलाई त्यसरी नै हात हल्लाउंदै बिदा गर्दैछन्, आँखा भरी आंसु राखेर। फरक यत्ति छ कि उनी त्यति बेला बाउको ईच्छाले रोकिएका थिए। यति बेला आफ्नै ईच्छाले रोकिएका छन्