मेरी हुनेवाली प्राण प्यारी
आऊ!आज एउटा
गहन छलफल गरौँ
यही मङ्सिरमा बिहे गरौँ
अनि आउँछ पुस
लाग्दै गर्दा माघ, फागुन अनि चैत
हाम्रो सम्बन्धलाई बनाउँ फासपुस
अनि चैते हुरी सँगै
आयोजना गरौँ हाम्रो "डिभोर्स दिवस"
र देखाऔँ दुनियाँलाई
हाम्रो ‘डिभोर्स सेलिब्रेसन’!
मेरी भूतपूर्व प्राण प्यारी!
हिजो हाम्रो मनको कुन्ठा उम्लेर
तिम्ले मलाई गनिनौ
न त मैले नै तिमीलाई गने
म स्वतन्त्रता चाहन्थेँ,
तिमी नि भन्थ्यौ रे आकाशमा उड्न चाहन्छु
मलाई घाम मन पर्थ्यो तिमीलाई झरी
सम्झौतामा बिहे गरी
जिन्दगी चलाऊन खोज्यौँ हामीले मनपरी
त्यसैले त ठाक्ठुक हुँदै
बिस्फोट भो हाम्रो जिन्दगी
धेरै पछि आज कुन्ठा दबाएर
मुहार पुस्तिकामा पोस्टाउने फोटो खिचेर
भेटौँ हामी
मिल्ने दिवस, भेट हुने दिवस
माया बाढ्ने दिवस
अनि प्रेम साट्ने दिवस त
सदियौं देखि
मनाइ राखेकै छ दुनियाँले
यो दुनियाँमा अरु भन्दा फरक देखिन पनि
आऊ !
आयोजना गरौँ हाम्रो "डिभोर्स दिवस"
र देखाऔँ दुनियाँलाई
हाम्रो ‘डिभोर्स सेलिब्रेसन’ !
हामी छुट्टिए पछि कति पश्चताप भयो
कति रोयो मन
नाप्ने कुनै यन्त्र भएको भए
थर्मोमिटरको झै पारो चढ्ने भए
त्यो पनि देखाउन हुन्थ्यो
तर अहमताको शिखरमा थिएँ म
चानचुन मान्छे जस्तो झुकेर
माफी माग्ने कुरै भएन
तिम्रो घमन्डभरी पनि
पुरुष हाबी देखिन्थ्यो
तिमी गल्ने कुरै भएन !
हाम्रो यो नौटंकी बाट
भबिस्यका नयाँ पिढीलाई
अगतिलो छाप छोडिने भए पनि
यो दुनियाँलाई झुक्काएर
नयाँ प्रयोग गरे झै गरी
आऊ !
आयोजना गरौँ हाम्रो "डिभोर्स दिवस"
र देखाऔँ दुनियाँलाई
हाम्रो ‘डिभोर्स सेलिब्रेसन’ !