नयाँ बनेको भ्यू टावरबाट
दृश्यहरू नियालेर हेर्न
टुप्पैमा पुगेर सबैभन्दा पहिले
पूर्वतिरको दूरविनबाट चिहाएँ
पऽऽऽर चिया बगानमा अल्झिएको
थोत्रो धोती, चोलो र डोको देखेँ
छेउछाउका डाँडामा
ब्लेडले काटेको नाडी झैं
चिराचिरा धर्सा देखेँ
तिनै घाउबाट ठाउँठाउँमा बगेको
रगत देखेँ
गालामा परेको चाउरीका डोबमा
फाटेको मन देखेँ
विशाल कोशी नदीमा
सुनसान बगेको इतिहास देखेँ
विस्तारै पश्चिमतिरको दूरविनमा गएँ
पऽऽऽर सैपाल हिमाललाई छेकिरहेको
‘सुन्दर सुदूरपश्चिम’को सूचनापाटी देखेँ
भूकम्पपछिको भग्नावशेष जस्तो गाउँमा
छौपडीको गोठ देखेँ
त्यहीँबाट निकाल्दै गरेको
किशोरीको लाश देखेँ
झिँगैझिँगाले छोपेको
कुपोषित बालकको त्रास देखेँ
टनकपुरमा सुकेको महाकाली
र सुस्तामा रोएको कालापानी देखेँ
लामो सास फेर्दै उत्तरतिरको दुरविनमा पुगेँ
सेतो हिमालमा लेखिएको नेपालमा
पग्लिँदै गरेको हिउँ देखेँ
सगरमाथा चढ्ने विदेशीको लहरसँगै
तारे होटेलमा झुकेका नेताको शीर देखेँ
चोक्टा, चोक्टा पारेर काटिएको पहाड अनि
हरिया फाँटमा बेहिसाब ठडिएका घर देखेँ
पितापुर्खाले सजाइदिएको गजुर छोप्ने
कंक्रिटको कुरूप जंगल देखेँ
घरघरको कौशीमा पूजा कोठा देखेँ
शौचालयको ढल बागमतीमा मिसाएर
पशुपति दर्शन गर्नेको भीड देखेँ
दक्षिणतिरको दूरविनमा गएँ
पर, पर फैलिएको समतल भूमिमा
छियाछिया प्वाल परेका छाती देखेँ
शहीद परिवारका उजाड छाप्रोमा
आँशुमा टल्पलाएका आँखा देखेँ
बोराको टु्क्रा ओछ्याएर
चिसो छिँडीमा सुतेकी नानी देखेँ
शीत लहरले सास लानै लाग्दा
कक्रिएर अररो भएकी आमा देखेँ
उत्तर-दक्षिणबाट पेलिएर
निसास्सिँदै जागेका बुवा देखेँ
देश चिन्न भ्यू टावर चाहिने नै रहेछ
जहाँबाट मैले सिंगो देश देखेँ
दशकौंदेखि देश हाँक्नेहरूको
अनुहार देखेँ।
(रवीन्द्र मिश्रको फेसबुकबाट साभार)