चकमन्न मध्यान्ह, टन्टलापुर घाम। उसै भर्खरै मनसुनको बिदाई संगै पानी पर्न रोकिएकोले हो कि दशैं नजिकिंदा नजिकिँदै पनि उखरमाउलो घामले छाला डढाउन छोडेको थिएन। त्यसै पनि काठमाडौं पहिला जस्तो रहेन। बाहिरबाट आउनेलाई त चिसै लाग्दो हो। तर यतैको रैथाने म जस्तालाई त यो चरक्कै परेको दिउँसोको घाम औधि सकसपूर्ण हुने नै भो।
‘पानी पाम् न।’ घरबाट लान भुलेकोले बाटो छेउको दुकानमा एक बोटल मिनेरल वाटर किनिमागें।
‘कति हो?’ बीस रुपैयाँ भनेर जान्दा जान्दै सोधि टोपलें।
‘बीस।’ थाहै थियो भाउ, हातमा ठिक्क पारिराख्या बीस रुपियाँको नयाँ नोट साहुजीको हातमा थमाइदिएं। र, हिँडें।
चोभारको हिमाल सिमेन्टको गेट भन्दा थोरै अगाडिबाट दाहिने लाग्ने पीच बाटो छ। उतैबाट भित्रतिर मोडें। एकैछिन उभिएर फर्कि हेर्दा हिमाल सिमेन्टको उहिलेको चमकधमक सम्झिंदै अहिलेको सोतर पारिएको ठाउँ हेर्दा उराठ लाग्यो। जम्मै भत्काई सिध्याई सकेछ। कारखानाबाट निस्केको धुआँले बस्तिमा वायु प्रदुषण भो भन्दै भएको स्थानियको बिरोधमा हिमाल सिमेन्ट शहिद भो। अन्तरकुन्तरका कुरो त के हो कुन्नि, तर त्यो बेलाको बिरोध अहिलेको कलङ्कीदेखि नागढुंगा बीच रहेका सडक छेउछाउ बस्ने बासिन्दाको धुलाम्य सडकको कारण भएको वायु प्रदुषण बिरुद्धको आन्दोलन जस्तै त होला।
खैर, ऊ बेला म सानो हुँदा यहाँको सिमेन्ट पाउन सोर्सफोर्स चल्थ्यो। यो सिमेन्टबाट बनेको घर बलियो हुन्छ भन्ने बिश्वास थियो सबैमा। हाम्रो घर तीस सालतिर बनाउंदा धेरथोर यहि सिमेन्ट हालिएको थियो। धेरथोर किन भनेको भन्दा नि हाम्रो घर ज्यादातर त माटोले नै बनेको थियो। अगाडिको पाटोमा मात्र हो सिमेन्ट। धेरै जसो यस्तै गर्थे ऊ बेला। यहि तर्कना गर्दागर्दै आधाउधि पानी पिई सिध्याई सकेछु।
चोभार डाँडा दाहिने पारेर पश्चिम लस्किंदा दिउंसोको बाह्र नाघिसकेछ। हुपिल्याण्डमा हावा संगै बत्तिंदै अनि चिच्च्याउंदै बडेबडेमानका पिङ्गमा मच्चिँदै गरेका ठिटाठिटी अनि बच्चाबच्चीको आवाज यहीँसम्मै गुन्जायमान थियो।
चारघरेको चौतारोमा सुस्ताउँदै गर्दा एकजना लठेब्रो खाले तीखो आवाज निकाल्दै आयो।
‘तेरा तेरा तेरा … कि कि की’, यस्तै आवाजको भान पर्यो मलाई।
‘यो लाटोको जहान परिवार भैंचालोले लग्यो, त्यो बेला देखि यो यत्तिकै छ।’ चौतारोमा बसेर चुरोट तान्दै गरेका एकजना उतैका मान्छेले मेरो जिज्ञासु हेराई बुझि सम्झायो।
‘घर नि?’ मैले सोधें।
‘घर के भन्नु! छ सानो टहरो जस्तो बाँकी। त्यो' नि ह्यांकाहरुले हारगुहार गरि बनाईदेका।’
‘अनि भूकम्पपीडितले पाउने मुआब्जा?’
‘हा हा हा। कुन चाहीँले यस्को नाममा पचाएछ। त्यहाँबाट त झन् यो सिकिस्तै भो। सरकारी पाराका मानिस देख्यो कि जाईलाग्छ।’
‘कठै!’ म अरू भन्न नैं के सक्थेँ र!
त्यो लठेब्रो उस्तै पाराले कराउँदै मास्तिर लाग्यो। म चैं बोसनतिर मोडिएँ।
अँ, साच्ची। भन्नै बिर्सेको। आजको मेरो सानोतिनो एकल पदयात्राको गन्तव्य थियो- बोसन डाँडा। भनिन्छ कि जब महामन्जुश्रीले खड्गले काटेर काठमाडौं उपत्यकाको पानी बाहिर पठाएँ, पानी सँगसँगै बग्दै कर्कोटक नाग पनि बाहिरिन लाग्यो। कर्कोटकलाई बाहिरिनबाट बचाउन र उपत्यकामै रहने बन्दोबस्त गर्नका लागि टौदह ताल बनाइयो। सो ताल खन्दा निस्केको माटो थुप्रेर यो बोसन डाँडा बनेको भन्ने किम्वदन्ती छ।
बोसन डाँडाको फेदैमा सानो खोल्सो कलकल गर्दै बग्दै'थ्यो। छेवैमा नीलो जस्तापाताले घेरेको मिनेरल वाटरको कारखाना। एक जना आईमाई सुस्ताउँदैथी। कामदार हुँदो हो।
‘डाँडाको टुप्पो पुग्न यतैबाट चढ्ने हो?’ थोरै परको एकाध ढुङ्गे खुड्किलो देखेर सोधेँ।
‘अ, सिधै जानुस्। दाहिने मोडेपछि चाक्लो बाटो भेटिन्छ। त्यल्लाई नछोडि जाने, ठूलै बाटो पुगिन्छ। त्यँहाबाट टाढा छैन,’ उनले बेलिबिस्तार लगाईहाली।
धन्यवाद भनेर थोरै अगाडि मात्र के बढेको थिएँ, पछाडिबाट कराई, ‘अलि होश पुर्याउनुस्, सर। मास्तिर झ्यासतिर कहिलेकाहीँ बँदेल चरिबस्छ।’
यो नयाँ बाटो थियो मेरो लागि। अगाडिको बाटोबाट त गाको हो। बाईक नैं कुद्ने बाटो। यताबाट चढ्या थिइनँ। जे पर्ला पर्ला भनेर लस्केँ।
माथि चढ्दै जाँदा देब्रेतिरको दृष्य खुल्दै गयो। टौदह देखिन थाल्यो। टिलिक्क टल्केको। त्यसको दाहिनेपट्टि नियाल्दै जाँदा सिकालीको मैदान पनि देखियो, जहाँ थियो सिकालीको मन्दिर। खोकनाबासीको आस्थाको केन्द्र। दशैं मान्दैनन्, सिकाली जात्रा मनाउँछन् जुन फूलपातीको अघिल्लो दिन समापन हुन्छ। मन्दिर रहेको मैदाने थुम्को वरिपरि बागमती नदिले एक फन्को लगाएको थियो।
यत्तिकैमा खस्र्याकखुस्रुक आवाजले म चनाखो भएँ। त्यो आईमाईको कुरो दिमागमा बुर्कुस्सी मार्न थालिहाल्यो। बँदेल?
सुरक्षाका लागि केही'नि थिएन साथमा। छेउमा देखेँ सुकेर खसेको हाँगो। केही न केही हातमा हुनु जाति। त्यही भए पनि टिपेँ।
म अगाडि बढुँ कि पछाडि हटुँ भन्दै सोच्दै मात्र थिएँ कि सर्याकसुर्रुक आवाजसहित एक बृद्ध व्यक्ति झ्याङ्गबाट फुत्त निस्किए। हाँगा समातेको हात उहीँ को उहिँ अड्यो।
‘घुम्न आउनुभा?’
‘हजुर!’ एक छिन अगाडि हावी भाको डरलाई लुकाउँदै भनेँ।
‘बाख्री डोरी छिनालेर हिनेको ब्यानदेखि खोज्याखोज्यै छु,’ बृद्धले आफ्नो दुखेसो पोखे। ‘कतै तल्तिर देख्नु त भा'छैन?’
मैले मुन्टो हल्लाउन नपाउँदै ऊ बोल्न थालिगो।
‘अब यो भाको एउटा दुधालु बाख्री नि हरायो। सप्पै गए। सप्पै। यो बूढोलाई छोडेर सप्पै गए,’ बृद्ध फत्फताउँदै थिए।
‘दश वर्ष अघि एउटै सन्तान भनाउँदो छोरो हिन्यो। खहरेको दुई तल्ले घर बेचेर दुबई पठाको फर्किने नामै लिँदैन। पोहोर बूढीलाई भगवानले लग्यो। किरिया बस्न पनि आएन पापी। म बूढोलाई एक छाक भात पकाईदिने'नि कोई भएनन्।’
बृद्ध फतरफतर गर्दै थिए। चिन्नु न जान्नु आफ्नो कथा सुनाउँदै थिए। म चैं अक्कनबक्क उभेको थिएँ।
‘म'नि खोज्दिउँ बा ?’ मैले सोधेँ।
‘पर्दैन बा। कता जान हिन्या होला। किन दुख दिनु?’, बृद्धले खिसिक्क हाँस्दै भने।
‘बोसन टुप्पो पुग्ने हो, बा! ह्वाईट हाउस होटेलसम्म गएर फर्किने हो। भ्याईन्छ।’
बृद्धले कृतज्ञ भएर मलाई हेरे।
‘मुनि मुनि, आ आ आ!!!’ बृद्ध कराउँदै पाखो माथिको झ्याङ्ग भित्र छिरे।
खोज्न सघाउँछु त भनेँ, खोज्ने पो कता? बूढोले बिहानदेखि खोज्दा त नभेटेको, अब कसोरी भेटिँदो हो। यहि सोच्दै झ्याङ्ग टटोल्न थालेँ। तल्तिरबाट आउँदा नदेखेकोले मास्तिरै कतै होला भन्ने जस्तो लागेर त्यतै लागेँ।
बृद्धको घर… घरै त होईन झुप्रो रे (उनैले भनेका), अलि मास्तिर रैछ। बाउ बाजेको पालादेखि यतै बसाई रै’छ। निक्कै दुःखजेलो गरेर कमाएको पैसा र भत्केको पाटी नेर रहेको दुई रोपनी जग्गा समेत बेचेर तानतुन गरेर खहरेमा चार आना जग्गा किनी दुई तल्ले घर बनाएका रैछन्। जुन छोरोको दुबई सपनाले निमिट्यान्न पारेको रैछ। साह्रै चित्त दुख्या रैछ, दुख्ने नैं भो। त्यही भएर यो कुरो बृद्ध बार बार दोहोर्याउँदै थिए, बाख्री खोज्ने क्रममा।
‘छन् नि नातिनातिनाहरु पनि। एउटा नाति एउटी नातिनी। मोबाईलाँ बाहेक अन्वार देख्या होईन। यो उमेराँ तिनारूलाई खेलाएर दुई छाक सुविस्ताले खाने दिन होईन र? बुहारी भनाउँदी नै उस्तै। छोरोलाई कान भरि भरि दुबई पठाईहाली। त्यसको चार वर्षपछि आफैं पनि गई,’ बृद्ध आफ्नो रामकहानी सुनाउँदै थिए। म भेटिने झिनो आशमा बाख्री खोज्दै थिएँ।
‘अनि बालाई उतै बोलाउँदैनन् त?’
प्रश्न सकिन नपाउँदै बृद्ध छोरोलाई सतोसराप गर्न थाले।
‘खुपै बोलाए। फोनाँ कुरो गर्न त गाह्रो मान्छन्। कुलाङ्गारले बुढेसकालाँ भर देला भनेको भएभरको सम्पत्ति कुम्ल्याएर बाउलाई कसिङ्गर फाल्या जस्तै फालेर हिँडे, बा।’
बृद्धको आँखाको कुनो टिलपिल गरेको प्रष्टै देख्दै थिएँ। बोली पनि लर्बरिँदो थियो। घाँटी अररो भाको जस्तो। मलाई साह्रै ननिको लाग्यो।
‘छोरो पायो भनेर बूढी दङ्ग पर्या थिन्। छोरो भएसि अरू किन चाहियो भन्ने कुरो भो। एउटैलाई राम्ररी हुर्काम् बढाम्। बिहे गरि जाने जात होईनन् क्यारे। हाम्लाई हेरिहाल्छन् नि भनेर अर्को सन्तान'नि पाएनम्। ऊ बेलाँ चार चार्टा, पाँच पाँच्टा छोर्छोरी पाउने बेलाँ एउटैमा चित्त बुझायम्। दुनियाँले खिसिट्यूरि गरे। कसैले सम्झाए। कत्तिले रेला'नि गरे। तर हामी दुई बूढाबूढीले कसैको कुरो सुनेनम्। छोरोको नाम जपना गरि गरि हुर्कायौं। ल्याब्राटरी कि कुन नामको इस्कुलमा पढायम्। लेखायम्। त्यो'नि इस्कुलकै बसाँ ओरदोर गराएर। ऊ बेलाँ उही खहरेमा बसिन्थ्यो। सुबिस्ता थ्यो। अब त फेरि ई… भीर माहुरी भईया छ, बाबु।’
बृद्धले मैलो कमीजको छेउले सलक्क ओभानो आँखा पुछे र मलाई हेरेर गाह्रो मानी मानी मुस्कुराए।
‘म'नि चाइँदो नचाइँदो कुरा बाबुलाई अल्झाएँ, हगि ? भैहाल्यो। जानुस्,’ बृद्धले अप्ठेरो मान्दै भने। ‘के गर्नु? मन पोल्छ, बा। कल्लाई सुनाम्, कल्लाई सुनाम् हुन्छ। एक्लै कति झोक्राउनु? धुम्धुम्ती कति बस्नु? औडाहा हुन्छ। दशैं आउँदैछ। टिको लाईदिन नपाको वर्षौं भैसक्यो। अरुको घराँ रमझम देख्दा झनै मन रुन्छ।’
म हेर्दै थिएँ बृद्धको मलिन अनुहार। मैले भन्न सकिनँ कि तपाईँकामा म टीका लाउन आउँछु। नियास्रो नमानुस् भनेर। किनभने म कुनै काल्पनिक कथाको पात्र थिईनँ। यथार्थमा महान् हुन कठिन हुन्छ। नैतिक कथा पढ्दा राम्रो लाग्छ, तर यथार्थमा?
आखिर घण्टौको प्रयास बाबजुद बाख्री भेटिएन। चितुवा पनि लाग्दो रैछ, चम्पादेवीको बनबाट। कतै चितुवाले पो तान्यो कि भन्ने शङ्का गरे बृद्धले।
दुई बजिसकेकोले म सँग धेरै समय थिएन। बोसन डाँडाको टुप्पो पुग्नै अझै एक घण्टा लाग्दो हो। औपचारिकताका दुई चार मिठामसिना कुरोले बृद्धको घाउमा मलम लाउने कोशिश गरेर म छुट्टिएँ र लागेँ उकालो।
बाईक कुद्ने बाटो भेटेपछि हिँडाई सजिलो भो। मास्तिरको एक सय असी डिग्रीको मोड आएसँगै पारी उत्तरतिरको डाँडाको थाप्लोमा ह्वाईट गुम्बा, रेड गुम्बा थप्पक्कै बसेको देखियो। अलि देब्रेतिर दहचोकको डाँडामा दुरसञ्चारको टावर हल्का देखियो, जसमा ठोक्किएर कुनै बेला नेकोन एअरको हवाईजहाज दुर्घटनाग्रस्त भाको थियो। यसकै साईडमा देब्रेतिर कालु पाण्डेको समाधि छ। कीर्तिपुरको लडाईँमा यीनी मारिए र उनकै ईच्छा मुताविक आफ्नो घरठाउँ (गोरखा) देखिने ठाउँमा यिनको शिर गाडियो। सुन्छु कि आकाश खुलेको बेला यो ठाउँबाट गोरखा देखिन्छ।
अर्को पन्ध्र मिनेटमा ह्वाईट हाउस होटेल पुगियो। भोकले चुर थिएँ, एक प्लेट चिकेन चाउमिन दन्काईहालेँ। अनि बल्ल त्यहाँबाट देखिने सुन्दर दृष्यको रसास्वादन गर्न थालेँ।
मुन्टोलाई थोरै तल फर्काउँदा टाढा टाढासम्म देखिने धुमिल कंक्रिटको जंगलबीच आफ्नो घर कता पर्छ भनेर खोज्न थालेँ। जसरी म आफ्नो घर खोज्दै थिएँ, उसरी नैं चौहत्तर जिल्लाबाट आफ्नो भाग्यको परीक्षा लिँदै आफ्नो गाउँ आफ्नो पुर्ख्यौली छोडेर यही खाल्डोमा आउनेहरु यसरी नैं आफू कता बस्ने वा आफ्नो घर कता बनाउने भनेर नियाल्दा हुन्।
अनि घर बनाइसकेकाहरु वा बनाउन बाँकीहरु यो ठाउँ भन्दा गतिलो ठाउँ कुन होला भनेर ईन्टर्नेट नामक दुरबीनबाट खोज्दा हुन्। कसैले पूर्व रोज्लान्, कसैले पश्चिम। जस्ले जहाँ जता जे रोजे पनि, घाटामा हाम्रा बृद्ध बाबा आमा नै हुन्। जो आफ्ना छोराछोरी बिदेशमा भाको कथा छरछिमेकलाई गर्वका साथ त सुनाउँछन्, तर एकान्तमा कसैले नसुन्ने गरि, नदेख्ने गरि सुँक्क सुँक्क रून्छन्।
कोही बिदेशमै पनि रुन्छन्, आफ्ना छोराछोरीको साथमा हुँदाहुँदै पनि। किनभने सशरीर सँगै हुँदाहुँदै पनि आत्मीयता जो हराएको छ।
बोसन डाँडाबाट तल्तिर ओर्लिंदै गर्दा बाटोमा मधुर आवाज सुन्छु, हो कि होईन जस्तो। त्यहि बृद्धको पो हो कि?
‘मुनि मुनि, आ आ आ!!!’