छोरी म तिम्रो निर्दयी आमा
तिमीलाई दुध नचुसाई जागिरको पछि दौडिने
म तिम्रो निर्दयी आमा
बिहान उठेर तिमीले ‘मलाई बोक’ भन्दै हात फैलाउँदा
खाना बनाउनुछ भन्दै तिमीलाई छोडेर हिँड्ने
म तिम्रो निर्दयी आमा
तिम्रो रेखदेख गर्न राखेको आया दिदी नआउँदा
एकदिन पनि तिम्रो लागि समय निकाल्न नसक्ने
म तिम्रो निर्दयी आमा
बिहान उठेर ढोकातिर देखाएर
‘मलाई बाहिर घुमाउन लैजाउ’ भन्दा
मलाई अफिस जानुपर्छ ढिला हुन्छ
भन्दै तिम्रो चाहानाको वेवास्ता गर्ने
म तिम्रो निर्दयी आमा
अफिस जान हतार भो भन्दै तिमी रुँदा पनि
तिमीलाई जवरजस्ती कोच्याएर खुवाउने
म तिम्रो निर्दयी आमा
कहिलेकाहीँ मलाई अफिस जान हतार भएको बेला
तिमीले झगडा गर्दा अबोध तिमीलाई गाली गर्ने
म तिम्रो निर्दयी आमा
ज्वरो र रुघाले ग्रस्त पारेर तिमीले
मेरो काखको न्यानोपन खोज्दा पनि
जागिर खान जानुछ भन्दै
तिमीलाई काखबाट उतारेर
भुईँमा राखेर हिँड्ने
म तिम्रो निर्दयी आमा
तिमीलाई घरमा छोडेर कहिलेकाँही
राती समेत जागिर खान जाने
म तिम्रो निर्दयी आमा
त्यसैले त छोरी कहिलेकाहीँ
तिम्रो सानो दिमागले पनि सोच्दो हो,
मामूलाई म भन्दा प्यारो जागिर किन भयो,
हो मलाई यही जागिर प्यारो छ र त
म तिम्रो निर्दयी आमा
तर छोरी थाहा छ तिमीलाई,
त्यही जागिरले दिएको अफिसको कुर्सीमा बसेर
घरमा बस्दा बनाएको तिम्रो हरेक गतिविधिको भिडियो
दिनमा १० औँ पटक र फोटो सयौँ पटक हेरेको
थाहा छ तिमीलाई बाटोमा हिँड्दा भेटिने
हरेक बच्चामा तिम्रो मुहार खोजेको
थाहा छ तिमीलाई तिमीजस्ता बच्चा बोकेर
मागेर हिँड्ने महिलाका हरेक बच्चामा
तिम्रो झझल्को देखेर रसाएका आँसु पुछ्दै हिँडेको
थाहा छ तिमीलाई आफ्नो लागि सामान किन्न जाँदा
तिम्रो लागि मात्र सामान किनेको
थाहा छ तिमीलाई कतिबेला ५ बज्छ
र छुट्टी हुन्छ भनेर बारम्बार घडी हेरेको
थाहा छ तिमीलाई बाटोमा मोटरसाइकलमा बसेका
बच्चाहरु रोएको देख्दा मेरो मुटु दुखेकोे
माफ गरिदेउ छोरी मलाई, मैले तिमीलाई
दिनुपर्ने समय दिन सकिन किनकी
म हुँ तिम्री निर्दयी जागिरे आमा ।