विश्वकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले हराएको छ। रुसमा १५ दिनेपछि सुरु हुने विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाको जितमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् भने थप गोल सर्जियो अगुएरोले गरे।
पेनाल्टीमार्फत गोल गर्दै मेसीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका हुन्।
पहिलो हाफ १-० ले अगाडि रहेको अर्जेन्टिना दोस्रो हाफमा थप आक्रमक बन्यो।
दोस्रो हाफको ५८ औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ६६ औं मिनेटमा पुनः गोल गर्दै मेसीले आफ्नो ह्याट्रिक पुरा गरे।
सर्जियो अगुएरोले ६८ औं मिनेटमा मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई ४-० को स्पष्ट जित दिलाए।
विश्वकपको समूह डीमा रहेको अर्जेन्टिनाले आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ।