झट्ट हेर्दा चर्चित पप गायक बब मार्लेजस्तो देखिने कवि चन्द्रवीर तुम्बापो सहरमा कविताकै कारण परिचित छन्। उनलाई चिनाउन कविताबाहेक अन्य उपमाको आवश्यकता पर्दैन। कवि तुम्बापो पछिल्लो समय कविताबाहेकका अन्य विधा र लिम्बू संस्कृतिमाथि पनि अध्ययन गरिरहेका छन्। मौलिक नेपाली कविता र तिनका बिम्ब एवं मूल्यमाथि आफ्नो गहन धारणा राख्न सक्ने तुम्बापोले आफ्ना प्रिय पाँच नेपाली पुस्तकको बारे सेतोपाटीसँग गरेको कुराकानी।
नथिया – सरस्वती प्रतीक्षा
पछिल्लो समय उपन्यासको समय हो। तर जति पनि उपन्यासहरू आए, महिला पात्र केन्द्रमा राखेर लेखिएका उपन्यास कम आए। त्यसमा पनि महिला पात्र एकदमै रोनाधोना र आँसुको आहालमा डुबेका र खिनौटा, विचरा भन्न लायक मात्रै छन्। जसलाई पढेर उत्साह र उमङ्ग दुवै गायब हुन्छ। तर सरस्वती प्रतिक्षाले नथिया उपन्यासमा सामलीलाई यस्तरी उभ्याउन सकिन् जसको अगाडि बलिया पुरुष पनि लुते भैइहाल्छ।
दमिनी भिर – राजन मुकारुङ
पहिचानको मुद्दालाई केन्द्र बनाएर लेखिएको उपन्यास हो– दमिनी भिर। उपन्यास जगतमा पाठकदेखि समालोचकहरुको मुखबाट धेरैपटक उच्चारण भइरहने, घन्किरहने आवाज हो भाषा। भाषालाई मीठो सुललित बनाएर लेखिएका उपन्यास धेरै छन्। नेपाल यसै बहुसंस्कृति, बहुभाषिक मुलुक हो। र दमिनी भिरमा जुन छोटो(छोटो वाक्य एवं रिदममा लेखिएको छ कि यसमा किराँत राईहरूको साकेला नाचको तरङ्ग झल्किन्छ। किनकि साकेला नाचको बिटमा लेखिएकोले। भाषामा नौलोपना दिएकाले।
बाडुली र सुदुर सम्झना– स्वप्नील स्मृति
मुन्धुम एक अतित गाथा पनि हो र वर्तमान पनि। यही बीचबाट सुन्दर भाका हालेर कवितामा आफ्नो अस्तित्व दाबी गर्दै फेदाङ्मा जस्तै फलाक्दै नाचेका छन् कवि स्वप्निल स्मृति । उनका कविता मुन्धुम र आदिवासी दर्शनमामाथि उभिएका छन्। साथसाथै आफ्नो सशक्त प्रतिभाको बलमा मेरो पुस्ताको कवितामा स्वप्नीलले नेतृत्व गरिरहेका छन्।
ल्याम्पोष्टबाट खसेको जून– मनु मन्जिल
अग्रज कविहरूमा श्रवण मुकारुङको जेनेरेसनपछिको मलाई मन पर्ने कवि हुन् उपेन्द्र सुब्बा र मनु मन्जिल। मनु मन्जिलियन कविता पढेपछि थकित बटुवाको लागि सल्लाघारीको सुसाइ झैँ भैदिन्छ मन। उनले कवितामा बहुत होशियारी र सुन्दर तरिकाले शब्दहरूसँग खेलेका छन्। र कवितालाई मज्जाको क्राफ्ट प्रदान गरेका छन्।धेरै पाठकहरूको कुरा छ मनु मन्जिलको कविताले विद्रोह बोलेको छैन, तर शुषुप्त ढंगले विद्रोह र आन्दोलन बोलेका उनका कविता जीवन्त छन्। यो चलाखी उनीबाट सिक्न सकिन्छ।
वर्जित अवशेष– केशव सिलवाल
कवि सिलवाल जति शान्त देखिन्छन् कविता दोब्बर अशान्त छन्। वर्जित अवशेष सङ्ग्रहका कविताहरू बेथिति ,बेवास्ताहरूबाट एकदम बेचैनले भरिएरका छन्। हरदम विद्रोहमा छन्। तर उनको कवितामा नजानिँदो पाराको व्यंग्य छ जो विभेदकारी राज्यतिर सोझिन्छ। आजभोलि कवितामा व्यंग्य निकै कमै लेखिने गर्छ तर ‘वर्जित अवशेष’ कवितासंग्रह व्यंग्यसहित आएको सुन्दर कृति हो।