आमा, मलाई माफ गर!


आमा
अथाह प्रश्न थिए
छातिभित्र
तिमीलाई सोध्न सकिनँ
सम्हालिन्छु भन्छु आमा
अहँ
आफूलाई रोक्न सकिँन ।

संघर्षका सयौं जंघार तथ्र्यौ
अफ्ठेराका कत्तिकत्ति पहाड चढ्थ्यौ
आज मृत्यूसँग लड्दा लड्दै
किन हार मान्यौ आमा ?
कहिल्यै नथाक्ने तिमी
आज किन थाक्यौ ?

तिमी भन्थ्यौ नि आमा
नानी मेरो काललाई
कत्ति लखेट्छेस् ??
यदि,
मेरो बसमा हुँदो हो त
म त्यो कालले नदेख्ने ठाउँमा
तिमीलाई लुकाएर राख्ने थिएँ
तिमीलाई छुपाएर राख्ने थिएँ
तर,
मैले देख्दादेख्दै
तिमीलाई उसैले चोरेर लग्यो
म निर्जिब बनेर हेरिरहें, हेरिरहें
आमा,
मलाई माफ गर ।

अचम्म रैछ
यो समय अनि परिस्थितिको
बलियो जन्जिर
खोई केले बाँधिदो रहेछ मान्छे
यसको तालासाँचो
हाम्रो हातमा रैन्छ आमा

अन्तिम घडीमा
ओछ्यानमा पल्टिरहँदा
कत्ति सम्झ्यौ होला है
तिमी मेलापात जाँदा
हामी भोकै हौंला भनि
दिएको फ्वाँक खाजा
पटुकीमा गुट्मुट्याएर
ल्याउँथ्यौ रे
अनि काखे मलाई दुध चुसाउँदै
दाई दिदीलाई त्यो फ्वाँक बाँड्थ्यौं रे ।

तिम्रो त्यो आत्मसन्तुष्टिको ऋण
अहँ
मैले तिर्न सकिन
आमा,
मलाई माफ गर ।

म रुँदा
मेरा आँसु पुछेको
म ननिदाउँदा
तिमीले एकादेशको कथा बुनेको
आमा
कापी छैन,
कलम छैन,
जुत्ता छैन,
के के भनेर पिरोलिरहँदा
थोत्रो टालामा गुट्मुटाएको
पैसा झिकेर दिएको
कसरी बिर्सुंला
आमा,
मलाई माफ गर ।

भन्ठान्थें
तिम्रो आँसु पुछ्न सक्ने भएकी छु
ओठमा मुस्कान छर्न सक्ने भएकी छु
तर, अहँ अत्य बेलामा
तिम्रा औंला समाएर
तिमीलाई डुलाउन सकिँन
एकादेशका कथाले
तिमीलाई भुलाउन सकिँन ।

म थाहा पाउँथे आमा
तिम्रा व्यथाहरु
मुटुभित्र नअटाएर
गालाको कुलेसो हुँदै
भुइँमा पछारिन्थे
तिमी बोल्दिनथ्यौ
अहँ खुल्दिनथ्यौ ।

म जान्दथे आमा
तिम्रा मुटुका कथा
मुटुभित्रै जलाएर
खरानी पाथ्र्यो
त्यो गन्ध
जान्दथें आमा
मुटु जलेको गन्ध ।

तिम्रो चहर्याउने घाउमा
शितल मलम बन्न सकिँन
लर्खराउँदै तिमी लड्न खोज्दा
म तिम्रो बैशाखी बन्न सकिँन ।

तिम्रो हृदयले
कत्ति कत्ति प्रश्न
सोधेको थियो होला आमा
उत्तर तिमीलाई भन्न सकिँन
अहँ, म तिम्री
सक्षम छोरी बन्न सकिँन
आमा,
मलाई माफ गर ।

आमा, देखेकी छ्यौ
हेर न
हिमाल उस्तै छ
उसैगरी उभिएको
घाम उसैगरी उदाएको
घरै अघिको लिचीको रुख
तिम्लाई खोज्दै उभिएको
तर अहँ
तिमी छैनौ ।

तिम्रो ओछ्यान रित्तो
मोबाईल
टेबुलमा बेवारिसे
तिम्रा चप्पल
दैलामा तिमीलाई पर्खिरहेका
अम्रिसोको कुच्चो
तिम्रो हातको प्रतिक्षामा
झोक्राईरहेको
कठै !
अबोध तिम्रा नाति नातीनाहरुले
सिरक पल्टाएर तिमीलाई खोजेको
देखेकि छ्यौ र आमा ?

अब कसरी पुरिएला आमा
यो घाउ
तिम्रो र हाम्रो बीचको
खाली ठाउँ ?
कदापी…

मैले त्यो निष्ठूरी कालबाट
तिमीलाई लुकाउन सकिँन
तिमीलाई छुपाउन सकिँन ।
आमा,
मलाई माफ गर ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.