देश

कविता


यी हड्डीहरू देशका सीमाना हुन्
मासु माटो, रगत पानी
पूर्खाको नासो देशको सिरानी हो

देशै नहुँदो हो त
मन्दिर र चौतारी कसले बनाउँदो हो
देउरालीमा कुवा कसले खनाउँदो हो
जन्तीहरूको हर्ष र मलामीहरूको शोक
कसले मनाउँदो हो

नाङ्गो आँखाले मात्र देखिँदैन देश
हेर्न सक्यौं भने चन्द्रसूर्यको नजरले
हेर त–
शिरमा हिमालको पगरी गुथेर
गलामा पहाडहरूको माला भिरेर
मैदानको छातीमाथि उभिएको छ
एउटा सुन्दर देश
चिन्न सक्यौ भने लालीगुँरासको रङ
सहिदहरू जलाइएको मसानघाटमा
मगमगाइरहेको पाउनेछौ देश
वीरहरू लडेको किल्ला वरिपरी
फुलिरहेको भेटाउनेछौ देश

त्यसो त –
बुद्घका आँखामा टल्किएको देश
बिपीको सपनामा रङ्गिएको छ देश
महाकवि देवकोटाको हृदयमा कोरिएको छ देश
गोपाल योञ्जनको बाँसुरीमा गुञ्जिरहेछ देश

सबैभन्दा बढी
आमाको मनमा समेटिएको हुन्छ देश
एक पटक आमाको ढुकढुकी छाम
त्यहीँ भेटिन्छ देश
जसले आमालाई बुझेको छ
उसैले चिनेको हुन्छ देश।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.