घामको आशामा


आमा
फेरि पनि
पोक्चीको घाँघर र जामाको आशा
कोपिला मै झर्ने हो भने

अनि
तिम्रो मुजेत्रोको सपना
कहिल्यै बिपना नै नबन्ने हो भने
मलाई यो नयाँ बिहानी पनि चाहिदैन आमा

मलाई नयाँ बिहानी पनि चाँहिदैन
मलाई मेरै माटोको कसम
खाडीको बञ्जर भूमीमा
बेदनाको पहाड छिचोल्दै
माईलीका आँसु पुछ्नुको सट्टा
फेरि पनि बेल्चा हान्दै गर्दा
कलेटि परेका मेरा ओठहरुले
नयाँ वर्षको शुभकामना कसरी भन्न सक्छ र आमा ?

नयाँ वर्षको शुभकामना कसरी भन्न सक्छ ?
मलाई शंका छ
यसपाली पनि
जाजरकोटका मेरा ती सपनाहरु
कतै सिटामोल र जीबनजल नपाएर
फेरि पनि ओईलाउने त हैन ?
अनि
बारपाकको मेरो इतिहास
अझै खण्डहर रहि रहने त हैन ?

म चाहन्न
घोडाघोडीको त्यो नृशंशता सगैं
भोलेबाबाका प्रेतहरु
क्षितिजका फाँटहरुमा यत्र तत्र हिँडिरहुन्
अनि नयाँ किरण सँगै फक्रिएका मेरा सपनाहरुमा
हठात डढेलो लागुन्

मलाई डर लागिरहेछ आमा
यहाँ कतै न्यायको दियो निभ्ने त हैन ।
आमा
यदि त्यसै हो भने
मलाई नयाँ बर्षको मधुमाश चाहिदैन आमा
तिमीले देख्यौ नै होला
हिजै मात्र पल्लार साने
बाकसमा थुनिएर घर फर्किएको छ
फर्कनुनै थियो, फर्कियो
भलै मुलुकलाई थोरै मात्र भए पनि
बिप्रेषण थमाएरै फर्कियो
हामीलाई भन्थ्यो
उसलाई
आफ्नी जाहानलाई एउटा नयाँ फरिया र
छोरी जमकलीलाई एक जोर गुन्युचोलो दिने रहर थियो ।

उ र उसका आकांक्षाहरु
सधैं सपना नै बन्ने हो भने
अनि
मैले बगाउने पसिनाले
मेरै माटो सिंचित गर्दैन भने
त्यस्तो नयाँ वर्षले के पो गर्ला र आमा?
फेरि पनि मलाई डर लाग्छ आमा
फेरि पनि मलाई डर लाग्छ आमा
तैपनि,
झुल्के घाम देख्दा मन फुरुङ्ग हुने रहेछ ।
हेर त
हाम्रा कुण्ठित सपनाका बाबजुत पनि
आज फेरि सुदुर पूर्वको डाँडा पारि
फेरि एउटा न्यानो घाम उदाएको जस्तो छ आमा

सम्भावनाको असंख्य चाङ माथि
एउटा प्रेरणाको पुञ्ज जडित
एउटा न्यानो घाम उदाएको छ
त्यसैले म कसरी सधैं निराशाबादी बन्न सक्छु र आमा ?
प्रभातको आभा सगै
अनगिन्ती आकांक्षाहरुका बिचमा पनि
हरियो दुवो फेरि पलाउँदा
बञ्जर भुमिका दर्दहरु समेत
आफै हराई हाल्दा रहेछन् नि आमा

बञ्जर भूमीका दर्दहरु पनि,
आफै हराई हाल्दा रहेछन् आमा ।
तिम्रा कोमल हातहरुले
प्रेम पूर्वक स्पर्श गरे जस्तै।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.