पैचिङका पोथी रुखहरू


पैचिङको वसन्त याम निकै नै छोटो हुन्छ। करिब छ महिनाको चिसोपछि वसन्त लाग्यो कि जस्तो हुन्छ र वसन्तको आभाससँगै आगमनको प्रतीक्षा गरिन्छ र त्यो अनुभव गर्न नपाउँदै केही दिन र हप्तादिन बितेलगत्तै केटीहरूको पहिरनबाटै गर्मीको आभास भइसक्छ। केटीहरूले जाडोमा लगाउने, ओढ्‍ने गर्दै आएका कुनै ब्ल्याङ्केट झैं लाग्ने लामा-लामा बाक्ला-बाक्ला ज्याकेटबाट एक्कासी छोटो माइक्रो टाइपका र पातलो सेमार्इ ट्रान्सपारेन्ट रङ्गीचङ्गी पोशाक पहिरिएर हिँड्‍दा उसै तापक्रम चढ्‍्‍ने नै भयो। तर त्यस बाहेक गृष्म आरम्भको सङ्केत यानि कि पैचिङको तापक्रम पन्ध्र डिग्रि सेल्सियस पुगेको थाहा हुन्छ एक किसिमको सेतो भुवाबाट।

त्यस सेतो भुवालार्इ पहिलो पटक देख्दा हिमकण झैं लाग्नसक्छ। भनीहालुँ, पैचिङमा मार्चसम्म पनि बाक्लै हिँउ पर्नसक्छ। तर त्यो हिँउजस्तै फरर पर्ने नभइ कपासजस्तो उड्‍ने गर्छ त्यो कपासजति बाक्लो भने हुन्न। त्यो भुवा जताततै उडेको देखिन्छ र गर्मी चढ्‍्‍यो भनेर बताउन खोज्छ। मानौं केटीको पहिरन जस्तै त्यो पनि गृष्मसूचक हो। त्यसबाहेक त्यसबाट भने सचेत हुनु जरुरी छ। त्यसले मानिसको श्वासप्रश्वासलगायत स्वास्थ्यमा नराम्रो असर पार्दछ। त्यसै गरी कतिपयलार्इ एलर्जी पनि हुनसक्छ। यसरी मानव स्वास्थ्यलार्इ हानिकारक त्यसले वायुलार्इ पनि प्रदूषित बनाउने नै भयो।

आँखा अनि नाक र मुखबाट घाँटीसम्म र घाँटीपछि। ओहो! यस्तो हानिकारक बस्तुलार्इ पूर्ण रुपमा नष्ट गर्नु पर्ने हो तर त्यति सजिलैसँगै निमित्याउन पनि सकेका छैनन्‍, यहाँ। त्यसलार्इ निमित्याउन अघि यो के रहेछ त जानौं।

गर्मीको आभाससँगै जताततै उडिरहने त्यो सेतो भुवा चिनारको (पोपलर) रुखमा फुल्ने फूलबाट जन्मिन्छ। यस्ता रुखको विशेषता भनेको छिटो हुर्कनु हो। साथै यो चिसो प्रतिरोधी जुन पैचिङको हावापानीअनुसार एकदम नै सुहाउने र त्यसबाहेक उर्वर माटो नभए तापनि हलक्कै बढ्‍नसक्ने यसको अर्को खुबिलिटी यानि कि क्षमता छ। यसै आधारमा पैचिङमा सन्‍ १९६० को दशकमा पैचिङलार्इ हरियाली र सुन्दर शहर बनाउन करिब बाह्र करोड चिनारका रुखहरू रोपेका थिए। एक त पर्यावरणको संरक्षण हुने त्यसमाथि हरियाली शहर, स्वच्छ वायु अनि वन विकास र काठको उत्पादन यस्ता-यस्ता धेरै-धेरै फाइदा हुन्छ, रुख रोपणले। त्यस माथि सय वर्षको आयु र छिटै हुर्कने यस्ता खाले रुख। पैचिङ शहरमा करोडौंको सँख्यामा रोपियो, यस्ता रुख। पैचिङमा मात्रै होइन अन्यत्र अरु शहर र प्रान्तहरूमा पनि रोपिएका छन्‍। त्यसै गरी गोभी मरुभुमिबाट उठ्‍ने बालुवाको आँधीलार्इ निस्तेज पार्न पनि यो रुख रोपिएको हो, भित्री मङ्गोलिया, ख्हपै अनि पैचिङमा।

यसरी रुखबाट फाइदैफाइदा हुँदा पनि वसन्तको अन्तिम घडीमा यस खाले रुखबाट उड्‍ने सेतो भुवाले हर एक प्राणीलार्इ भने अफ्ठ्‍यारोमा पारेको हुन्छ। र यस्ता रुख र फूलमा वसन्तको आगमनसँगै हुने पराग सेचन प्रक्रिया पनि हुन्छ नै तर पनि किन यस्तो ! सेचनकालमा झैं वासन्ती वायुले फूल-पत्र र पराग यत्रतत्र उडाइरहेको त ! तर विज्ञका अनुसार, सेचन प्रक्रिया भइसकेपछि मात्रै सेतो भुवा उड्‍ने गर्दछ। यसको कारण भनेको भाले रुखको दाँजोमा पोथी रुखको सँख्या धेरै हुनु हो। त्यसकारण यसलार्इ वासन्ती वीर्य पनि भन्ने गरिएको छ।

यस रुखका पातहरू चौडा र पतझडी स्वभावका हुन्छन्‍। यसका अनुपत्र पातहरूमा तलतिर झुल्ने फूल फुल्दछन्‍। साथै यस रुखमा फुल्ने फूलको विशेषता भनेको एक कक्षमा अण्डाशयहरू र बाकीमा डिम्बहरू हुनु हो। त्यो झुल्ने फूल नै कोमल भुवा हुन्‍ जसलार्इ अङग्रेजीमा क्याटकिन भनिन्छ।

नारी-पुरुष एक रथका दुर्इ पाङ्‍ग्रा जगत्‍ले नै मानिआएकै हो। नारी-पुरुष समान नै हुन्‍ र समान हक, अधिकारका लागि पहल पनि भएकै छ, भइरहेकै छ र लागू पनि छ। त्यसबाहेक असमानताको विरुद्धमा चर्को आवाज पनि सुन्ने गरेका छौं र समानताका लागि युद्ध पनि जारी नै छ। यसरी लिङ्ग भेद या लिङ्ग असन्तुलन पूर्वकालदेखि नै समाजले भोग्दैआएको एउटा ठूलो समस्या हो। त्यसमाथि छोराको चाहमा गर्भपतन त एउटा कहालीलाग्दो समस्या नै छ। र यहाँ यही लिङ्ग असन्तुलनताका कारणले मानिसको स्वास्थ्यलार्इ हानी पुर्‍याउने समस्याको जन्म भएको हो।

भाले रुखको दाँजोमा पोथी रुखको सँख्या धेरै भएबाट वासन्ती वीर्य अर्थात्‍ सेतो भुवा चारैतिर फैलिएको हो। सात वटा पोथी रुखको दाँजोमा तीन वटा भाले रुखमात्र भइदिँदा यस्तो समस्या भोग्नु परेको हो। पैचिङवासी र यस्तै खाले रुख भएका ठाउँका प्राणीले। जानकारहरू यही भन्छन्‍ – सात तीनको अनुपातमा रोपिएबाट यो समस्या देखिएको हो। ती पोथी रुख जसको संसर्ग हुनसकेन त्यसले आफ्नो अपूर्ण कामेच्छा प्रकट गर्न त्यस्ता भुवा फाल्ने गर्दछन्।

तर पछिल्लो समयमा भुवा कमै उडेको देखिन्छ। हाल त्यस भुवाको निष्पादन घटाउनका लागि रुखमा रसायन ईन्जेक्ट गर्दैआएको छ जसबाट यस पोथी रुखको जेण्डर अर्थात् लिङ्ग नै परिवर्तन हुने गरेको छ। यानि कि पोथी रुखलाई भाले बनाइन्छ। अर्थात् ट्रान्सजेण्डर रुख। हाल पैचिङमा पोथी रुखमात्रै छैनन्। यसैकारण पछिल्लो समयमा भुवा कमै उडेको देखिन्छ भन्छन्, पैचिङवासी।

(अजय अलौकिकको अलौकिक चीनबाट, यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ। लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञको रूपमा कार्यरत छन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.