कथा“अरे तिमी ?” धरै वर्ष सम्पर्कमा नरहेको दिनेशलाई एक्कासि देख्दा नमिता तीनछक परी।
करिब सात वर्षपछि असनको ठेलमठेल गल्लीमा ठेलिँदै भेटिएका थिए दिनेश र नमिता। नमितालाई देख्नासाथ दिनेशको मन सिधै सात वर्ष अगाडि घुम्यो, एन्टिक्लकवाइज।
उसले आफू असनको गल्लीमा भएको बिर्सियो। आँखा अगाडि नमितालाई मात्र देख्यो अनि हेरिरह्यो निरन्तर।
अहो ! नेपालगन्जको मुटु कमाउने जाडो, त्यसमाथि पुस १५ को सिरेटो, साँच्चै कष्टकर हुन्छ त्यहाँको जनजीवन। मुटु काँपिरहेका बेला मिर्मिरेमै सेताम्य भएको सडक हेर्दा लाग्छ, साला यो तुसारोले आँतै चिसिने गरी बाटोमा हिँडिरहेका मनुवालाई जिस्काइरहेको छ। त्यो डरलाग्दो बिहानीमा रिक्सावाला दाइले रिक्सा चलाउने साहस पनि गर्दैन। न त टाँगावालालाई पैसाको लालचले तान्छ। सबैलाई ज्यानै प्यारो त हो।
यस्तो बेला साइकल चलाएर स्कुल जानु पनि मुर्खतै हुने भएकाले टाढा घर हुनेबाहेक धेरैजसो हिँडेरै जान रहर गर्छन्। आँट भएकाहरु साइकल लिएरै जान्छन्। तुँवालोले छेकिदिएपछि धेरै दिनदेखि सूर्यदेवको दर्शनसमेत पाइन छाडेको थियो नेपालगन्जमा। बिहानैदेखि घरबाहिर आगो बालेर ताप्नेहरुको घुइँचै लाग्थ्यो।
यही कष्टकर समयले नजिक बनाएको थियो नमिता र दिनेशलाई।
दिनेश र नमिता बाँकेको खजुरामा रहेको एउटा स्कुलमा सँगै पढ्छन्। एसएलसी तयारीमा रहेका उनीहरु कक्षामा एकदमै मिल्ने साथीका रुपमा चिनिन्छन्। स्कुलमा उनीहरुको साथीत्वलाई लिएर गाइँगुइँ हल्ला नचलेको होइन, तर उनीहरुलाई कुनै वास्ता थिएन। खुलेर कुनै कुरा गर्न नसके पनि दिनेशले नमितालाई मन पराउँथ्यो। रेशमी कपाल, मृगका जस्ता कञ्चन नयन, हिमालमा सेताम्मे टल्किरहने हिउँरुपी दन्त्यलहर, मिलेको शरीर- साँच्चै लोभलाग्दी थिई नमिता, त्यसैले त दिनेशले हृदयको कुनामा सजाएर राखेको थियो।
नमिताको हृदयको कुनामा के थियो, अनभिज्ञ थियो दिनेश।
भर्खर किशोरावस्था पार लगाउँदै गरेको चञ्चले उमेरको असर हो कि साँच्चिकै माया हो कुन्नी, तर दिनेशले दुनियाँ बिर्सिसकेको थियो। स्कुल जाने छोटो बाटो छाडेर नमिताकै घरको बाटो जान्थ्यो अनि गेटनजिकै पुगेर घन्टी बजाउँथ्यो– टिर्लिङ टिर्लिङ। नमिता पनि अमेरिकाकै भिसा लागेजस्तो कुदेर आइपुग्थी गेटमा अनि मख्ख पर्थी दिनेशलाई देखेर।
दिनेश कक्षाको एकदमै जेहेन्दार विद्यार्थी, अब्बल पनि थियो। कक्षामा सधैं प्रथम स्थान मात्र हासिल गर्ने दिनेश हेर्दा त्यति सुन्दर नभए पनि मन एकदमै सफा थियो। साथीहरुलाई परेका बेला जस्तोसुकै सहयोग गर्ने स्वभाव थियो दिनेशको। एकपटक दिनेश र नमिता परीक्षा बेला एउटै बेञ्चमा परेका थिए, नमितालाई सिकाउँदा बेस्मारी रामधुलाई भेटेको थियो दिनेशले, हेडसरको हातबाट।
त्यही दिनबाट नमिताले दिनेशलाई राम्रो मान्न थालेकी थिई। दुनियाँ स्वार्थमै अडेको त छ।
“ओय ! के हेरेको ? जाम हिँड” एकोहोरो भई नमिताको घर अगाडी कुरेर बसेको दिनेश झस्कियो अनि मन्द मुस्कानसहित साइकल अगाडि बढायो।
जसरी मन्द गतिमा साइकल अगाडि बढिरहेको थियो, भित्रभित्र उनीहरुबीचको प्रेमिल भावना पनि विस्तारै बढिरहेको थियो तर त्यो भावना बगेर कुन गन्तव्यसम्म जाने भन्ने अन्यौलता थियो सायद।
साइकल पछाडि बसेर मनमा अनेक कुरा गुन्थी नमिता। सोच्थी “दिनेशको साइकलमा जस्तै जीवनमा पनि सँगै यात्रा गर्न पाएको भए वा...ओ, तर खै दिनेशले के पत्याउला र मलाई ऊ त कक्षामा फस्ट हुने मान्छे, आफूलाई पासै हुन दाँतबाट पसिना आउँछ।”
झ्याप्प साइकल रोकियो, नमिताले मौका छोपिहाली– हुत्तिएजस्तो गरेर पछाडिबाट दिनेशको कम्मरमा समाई, दिनेश पनि अडिरह्यो एकछिन, साइकलबाट झरेन।
दुवैको मनको चाहना एउटै भए पनि कतैबाट चाहना प्रस्फुटन भने भएको थिएन। एसएलसी तयारीमा भएकाले त्यो मन–मनबीचको रस्साकस्सीमा पढाइको रस्साकस्सी पनि मिसिएको थियो।
नेपालगन्जको चिसो मौसम छिचौल्दै कडा मेहनतका साथ दिएको परीक्षामा उनीहरुलाई सफलता मिल्यो। जिन्दगी सधैं एउटै गतिमा कहाँ बग्दो रहेछ र? एकअर्कामा बानी परिसकेका नमिता र दिनेशलाई छुट्टिनुपर्ने परिस्थितिले परिबन्धमा पारिसकेको थियो।
नमिता अब बाँकी पढाइ पूरा गर्न काठमाडौं जानुपर्ने भयो भने दिनेशको हैसियतले उसलाई घर छाड्न दिएन। नमिता जानुभन्दा अगाडि मनको कुरा सुनाउने चाहना गरेकी थिई तर समय नै त्यस्तै भयो, एकाएक राजधानीको यात्रा तय गर्नैपर्ने अवस्था आयो।
यता दिनेशको मनमा सन्नाटा छाएको थियो। नेपालगन्जको कुहिरोमा कतै हराइरहेजस्तो पाउँथ्यो आफूलाई सूर्यदेवजस्तै। आफ्नी नमितालाई सधैं एट्लस साइकलमा राखेर घुमाउने योजना बुनेको थियो मनमनै तर त्यो योजना उसको बाध्यताको भूमरीमा रुमल्लिरहेको थियो।
ऊ नेपालगन्जकै महेन्द्र क्याम्पस भर्ना भयो।
यता नमिताको मन पनि कहाँ शान्त थियो र? पोखिएको भन्दा निकै गह्रुँगो हुँदो रहेछ मनभित्र गुम्सिएको बह, त्यही मनको बहसँगै काठमाडौंको कोलाहलमा हराउन थाली नमिता। निकै सम्झन्थी नमिता दिनेशलाई, तुरुन्त उसको सामुन्ने प्रकट भएर निसास्सिएको मन पोख्न चाहन्थी तर परिस्थिति उसको पक्षमा थिएन। न त कुनै माध्यम नै थियो जोडिन।
“अरे तिमी त जस्ताको तस्तै छौ त, कहाँ हरायौ यत्तिका वर्षसम्म ?” असनको कोलाहल छिचोल्दै ठूलो स्वरले बोली नमिता, झस्कियो दिनेश।
“ए म त के–के सम्झन पुगेछु, के गर्दै छौ तिमी ? तिमीमा पनि खासै बाहिरी परिवर्तन देखिनँ मैले।”
“जाउँ हिँड कफी खान” नमिताले प्रस्ताव गरी।
दिनेशले हातले इशारा गर्यो अनि दुवै जना ठमेलतर्फ हान्निए कफी खान।
“अनि के गर्दै हो आजभोलि यतातिर” कफिको पहिलो चुस्कीसँगै सोधी नमिताले।
“केइ नाईँ, अनिश्चित गन्तव्यतर्फ विना लगामको घोडाजस्तै दौडिरहेको छु बस्।”
अक्कमक्क भई नमिता।
“किन केइ जागिर गर्दैनौ र ?”
“तयारी त गरेको हो, धेरै वर्ष भैसक्यो उपलब्धिशून्य भएको छ, थाकिसकेँ अब त, अनि तिमी के गर्दैछौ नि ?”
“मैले पनि नसोचेको ठाउँमा जागिर खाएँ दिनेश”
“हो र ? (निन्याउरो अनुहार एकाएक तेजीलो बनाउँदै) के मा ?”
“नेपाल प्रहरीमा” मन्द मुस्कानका साथ छाति फुल्याउँदै नमिताले भनी, “असई भा’छु ।”
“ओ ! ल बधाई छ, खुसी लाग्यो, जीवनमा धेरै प्रगति गर्नू।”
यस्तै सामान्य गफगाफ पछि उनीहरु छुट्टिए ।
आज नमिताको मन कता–कता चञ्चल हुन खोजिरहेको छ। लामो समय हराएको कुनै महत्वपूर्ण वस्तु फेला परेजस्तो भएको छ उसलाई। सात वर्षको अन्तरालपछि दिनेशसँगको भेटले साँच्चिकै अचम्मित र प्रफुल्ल छ नमिता। अहिलेसम्मको छटपटीले दिनेशसँगको सामीप्य खोजिरहेको पुष्टि भएको छ आज। नमिताले फेसबुक खोली। नयाँ साथीको रिक्वेष्ट आएको नोटिफिकेसन रहेछ। हेरी। असफल यात्रीको नामबाट दिनेशले चलाएको रहेछ। निमेषभरमै एसेप्ट गरी अनि हेर्न थाली अघाउञ्जेल दिनेशका निर्जीव तस्बिरहरु र हराउन थाली यादमा।
नमिताको भित्री मनले अहिले पनि दिनेशलाई नै चाहिरहेको थियो। वर्षौपछिको मिठो भेटलाई फेरी निरन्तरता दिन चाहन्थ्यो मन तर कसरी?
माध्यम एउटा फेसबुक अकाउण्ट थियो, नमिताले धेरै म्यासेज गरी तर कुनै रिप्लाई आएन। जतिबेला पनि दिनेशको म्यासेज आयो कि आएन भन्ने मात्र खुल्दुली चलिरहन्थ्यो मनमा। दिनहुँ सयौंपटक फेसबुक खोलेर मनको तडपन कम गर्ने प्रयास गर्थी तर दिनेशको नो रिप्लाई। उसको प्रोफाइल हेरेर झन तड्पिन्थ्यो उसको मन।
आखिर कहाँ गयो दिनेश? वर्षौंपछि एकाएक भएको त्यो भेट अनि मबाट यसरी अलप भएर जानु? आखिर के भइरहेको छ ? यो कुराले निकै तनाव दियो नमितालाई अनि भेट हुँदापनि मोबाइल नम्बर नमागेकोमा ठूलो पश्चाताप पनि भैरहेको थियो उसलाई।
पुसको महिना काठमाडौंमा माइनसमै पुग्न थालेको मुटु कमाउने चिसो, गहिरो निन्द्रमा सुतेकी नमिता विस्तारामै पुगेको न्यानो घामको स्पर्शसँगै उठी। आँखा मिच्दै सिरानी छेउमा रहेको मोबाइल समाती र फेसबुक खोली।
दिनेशले एउटा स्टाटस लेखेको थियो, “जाँदैछु टाढा...।”
यत्ति मात्र लेखिएको थियो, नमिता आश्चर्यमा परी। आखिर कहाँ जाँदैछ दिनेश? किन जाँदैछ? के उसलाई मेरो माया रत्तिभर छैन? किन मसँग नजिक हुन चाहेन उसले? के सधैं कक्षामा फस्ट हुने दिनेशले मेरो अनुहारमा पोखिएको ऊप्रतिको माया पढ्न सकेन? आँखाको नानिभित्र सजिएको आफ्नै तस्बिर नियाल्न सकेन? के मैले माया गर्छु भनेर भन्नैपर्ने, मेरो मन बुझ्न सकेन उसले? मेरो भावनासँग मिसिएर प्रस्तुत हुने मेरो व्यवहारलाई बुझ्न सकेन उसले? कि बुझ्ने चेष्टा गरिरहेको छैन?
साँझ ४ बजे अफिसबाट घर पुग्नासाथ नमिताको फेसबुकमा एउटा म्यासेज आयो। हेरी। दिनेशको रहेछ। दौडिँदै आफ्नो बेडरुममा गई अनि खुसी हुँदै म्यासेज पढ्न थाली।
“नमिता तिम्रो आँखाको भावलाई मैले सात वर्ष अगाडिदेखि बुझिरहेको छु, असनमा मसँग भेट हुनासाथ तिम्रो अनुहारमा पोखिएको मप्रतिको प्रेमभाव प्रस्तुत गर्ने शव्दहरुको अभाव छ मसँग, मेरो मनमा गुम्सिएर बसेको तिमीप्रतिको चोखो मायालाई आफू सक्षम भएर एकैपटक रातो गुलाबको फूल समातेर, घुँडा टेकेर तिमीसामु झुक्दै प्रस्तुत गर्ने इच्छा थियो तर विवशताको जन्जिरले मलाई बाँधेर राख्यो, असमर्थ भएँ म। तिमीले देशको टीका लगाएको सुनेर कसम एकदमै खुसी भएको छु, तर मलाई सधैं असफलताले मात्र पछ्याइरह्यो। त्यसैले आज यो देशको माया मुटुमा राखेर खाडीतर्फ भासिँदै छु।”
मोबाइलको स्क्रिनमा आँशुको थोपा तप्प चुहियो, नमिता निन्द्राबाट ब्युँझेजस्तो भई, टोलाइरही एकछिनसम्म।
एकछिनमा दिनेशले एउटा स्टाटस पोष्ट गर्यो, ट्राभलिङ टू साउदी अरब।