उपहार!

कथा


नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्।

चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्।

भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे आपसमा खासै विचार विनियम गर्दैनन्। एउटै टोलमा भएर पनि घरहरू टापुजस्ता छन् र मान्छे अन्जानजस्ता। खासै आवतजावत हुँदैन। ओल्लोपल्लो घरमा बिहेबटुलो हुँदा पनि बोलाउने, सघाउने चलन छैन। बरु भाडाका सहयोगी आउँछन्, काम फत्ते गरेर जान्छन्।

म जुन टेलमा बस्छु, त्यसको बीचैबीच एउछा तेह्र फिटे पक्की बाटो छ। बाटोको दुवैतिर लहरै घरहरू छन्, एकअर्कातिर फर्केका। गेटका सामुन्ने गेट छन्, बार्दलीसामुन्ने बार्दलीहरू। यसरी, त्यो सानो बाटो वरिपरि दुवैतिर गरेर बाइस घरजति होलान्। कोही पूर्वका, कोही पश्चिम पहाडका, दुईचार घर तराईका। खासै अन्तरक्रिया छैन। गाउँकोजस्तो पारस्परिकता केही छैन। जागिरे पुरुष र महिलाहरू बिहानै निस्कन्छन्। साँझ फर्कन्छन्। घर कुरेर बस्ने बूढाबूढी, बाहिर जागिर नखाने गृहिणी, बिरामी र अशक्तहरू घरै बसिरहन्छन्। गाउँ छ, तर कुनै सम्बन्धसूत्र छैन। साँझतिर बाटोतिर निस्कने महिलाहरू अलिअलि मुस्कानको विनिमय गर्छन् एकआपसमा। बस्।

म बसेको ठ्याक्कै अगाडिपट्टि, सडकपारिपट्टि रहेको बस्नेतको घरमा छोराके बिहे आएको गाइँगुइँ चल्यो टोलमा। उदयपुरतिरका बस्नेत रे भन्नेसम्म सुनेको थिएँ। काठमाडौँतिरै बस्ने हेटौडातिरकी केटी मागेको भन्ने पनि सुनियो। टोलैको बिहे, त्यो पनि घरै अगाडिको। निम्तो आउला, सघाउपगाउ पनि गर्नुपर्ला, जन्त–भोज जानै पर्ला, पर्यो भने छुट्टि नै निकालेर बस्नुपर्ला, भान्साका भाँडाकुँडा पनि दिनुपर्ला..यस्ता के-के धेरै कुरा सोचेको थिएँ। तर पर कतै मन्दिरतिर भएछ बिहे, पार्टी प्यालेसतिर गरेछन् भोजभतेर। एकैचोटि बेहुली भित्र्याउँदा पो बिहे सकिएको चाल पायौं हामीले। ओल्लोघर पल्लो घरकाले पनि यसै गरी थाहा पाएछन् बिहे सम्पन्न भएको।

घर मालिकचाहिँ सेनामा रे। ठूलै हुन् — जर्नेल कि के हुन् भन्ने सुनियो। खासै घर नआउने। छरछिमेकमा परिचय नै थिएन भन्दा पनि हुने। उनकी दुलही र सानो छोरो घरमा देखिन्थे। सानो छोरो सरासर नजिकैको डेनिस स्कुल जान्थ्यो, सरासर घर आउँथ्यो। जेठो छोरो काठमाडौंतिर एउटा मेडिकल कम्पनीमा काम गर्दो रहेछ।

चिटिक्क परेका लुगा लाएर, सुटटाई लगाएर, छालाको टिलिक्क टल्कने झोला बोकेर मोटरसाइकल चढेर बिहानै हिँडेको र साँझ अबेर घर आएको हामी देख्थ्यौं। अब उसकी पनि दुलही आएपछि, सासूबुहारी घरमा हुन थाले।

त्यो बिहे सकिएको एक वर्षजति भयो। नयाँ दुलहीले छोरो पाई भन्ने हल्ला चल्यो। न्वारान कैले भयो थाह पाइएन। छ महिनापछि पास्नीका दिन अलिअलि हल्ला चल्यो। टोलछिमेक गएन। हुन त यो डेढवर्षमा टोलका अन्य घरमा पनि सानातिना कार्जे आए, गए। छरछिमेकमा अपवादबाहेक सूचना भएन। ब्रह्मनगरको यस गल्लीको कथा यस्तै नै रहँदै आएको छ।

करिब एक वर्ष पुगेपछि त्यो बालक कौशीमा खेल्न निस्कन थाल्यो। भित्तो समातेर अलिअलि हिँड्ने। तल सडकमा मान्छे हिँडेको देख्दा कराउन थाल्यो। बोलाउन थाल्यो। जबजब ऊ कौशीमा आउँथ्यो र तल हेरेर कराउन थाल्थ्यो। उसकी आमा दुगुरेर आउँथी र भित्रतिर लिएर जान्थी।

समयसँगै यो बालक अगाडि र पछाडि दुवैतिर कौशीमा निस्कन थाल्यो। छरछिमेकसँग आँखा र आवाज बाँड्न थाल्यो। अब उसको लवजमा वाक्यहरू बन्न थालेको सुनिन थाल्यो। ऊ कौशीबाट हामीतिर हेर्थ्यो र कराउँथ्यो, ‘हा, हु।’ अलि पछि पछि ‘ठूलो बाबा’ भनेर बोलाउन थाल्यो। बिरानो घरबाट यति आत्मीय सम्बोधन आउँदा मन पग्लेर आउँथ्यो। भलै त्यो एउटा बच्चाको दूधे ओठको अभिव्यक्ति किन होस्।

पछि पछि त, म घरभित्रै छु, र बाहिर त्यो बच्चाको दूधे बोली सुनेँ भने गर्दै गरेको काम छोडर म दुगुर्दै आँगनमा आउँथे। कयौंपटक म आफ्नो काम छोडेर आँगनमा तानिएको छु।

एक दिन ‘हेप्पी बड्डे कुडु,’ भनेजस्तो केही सुनेँ। बाहिर निस्किएँ। बालक कौशीमा थियो।

‘बाबु, के भनेको? फेरि भन त?’ मैले भनेँ।

‘ठूलो बाबा।’

‘त्यो होइन। अघि भनेको भनन। हेप्पी बड्डे।’

‘हेप्पी बड्डे कुडु।’

हाँसो पनि लाग्यो। मज्जा पनि लाग्यो। अब हामी हरेक दिन यही एउटा वाक्यको विनिमय गर्न थाल्यौं। हामीमात्रै होइन, छरछिमेकका जसले देखे पनि त्यो बालकलाई त्यही भन्न थाले।

हामी उसलाई यसै भनेर जिस्क्याउन थाल्यौं। अनि त ऊ झनै उत्साहित हुन थाल्यो। बार्दलीमा घुमीघुमी, सबैतिरकालाई भन्न थाल्यो, ‘हेप्पी बड्डे कुडु।’

तल गेटमा आएका साधु र भिक्षुहरू देख्नासाथ कराउन थाल्यो, ‘जे चम्बो!’

साइकलमा सामान बेच्न हिँड्ने जसलाई देखे पनि भन्न थाल्यो, ‘बदाम, बदाम।’

हाम्रो टोलमा सबैका लागि माया, आनन्द र मनोरञ्जनको एउटा अजश्र श्रोत बन्यो त्यो बालक, जसको नाम हामी कसैलाई थाहै थिएन।

हुँदै जाँदा त्यो बालक तल आँगनसम्म आउन थाल्यो। उसकी बूढी हजुरआमा पछिपछि दुगुर्थिन्। कहिले यो घरको गेटमा छिर्थ्यो, कहिले त्यो घरमा। उमेरसँगै छिप्पिँदै गरेका उसका गोडाले छरछिमेकमा सम्बन्धहरूको एउटा नयाँ जाल हालिरहेको थियो।

एक महिनाको जाडो बिदा भएपछि मैले घरै बस्ने निधो गरेँ। पुसका प्यारा घाम निस्केपछि टेबल र ल्यापटप लिएर आँगनमा आउने, र त्यहीँ काम गर्ने सुर चलाएँ। त्यहीँ आउँथे बदाम, सुन्तला र स्याउ बेच्नेहरू। रमा पनि त्यहीँ बस्थिन्, लेखपढ गर्थिन्।

दिउँसो एकडेढ बजेपछि सधैं पल्लो घरको कौशीमा बालक देखिन्थ्यो। त्यही सुन्दर अनुहार, र हामीलाई मनै उज्यालो हुने गरी दिन थाल्यो निःशुल्क शुभकामनाः ‘हेप्पी बड्डे कुडु।’

यसैबीच एक दिन रमाले अनार छोडाएकी थिइन् कचौराभरि। त्यो देखाएर उसलाई भनिन्, ‘बाबु आऊ, अनान पापा खाने।’

उसलाई पछ्याउँदै कौशीसम्म आएकी उसकी हजुरआमाले भनिन्, ‘अनार भनेपछि भुतुक्कै हुन्छ। अब मरिकाटे मान्दैन।’

हामी खुसी भयौं। बच्चो फुत्रुक फुत्रुक गर्दै आँगनमा झर्यो र हाम्रो गेटबाहिर दाखिल भयो। मैले गेटको दैलो खोलेँ र ऊ भित्र पस्यो।

रमाले उसका हातमा अनारका केही दाना राखिदिइन्, उसले कपाकप खायो। फेरि राखिदिइन्, फेरि खायो। फेरि राखिदिन के खोजेकी थिइन्, उसकी हजुरआमाले रोकिन् र भनिन्, ‘धेरै भयो भने पेट दुख्छ नि, बिरामी हुन्छ। भो!’

उनले बच्चो जुरुक्कै उचालिन् र लघार्दै घरतिर लगिन्। बच्चो ‘च्याँ’ गरेर रोयो। हामीले त्यो आवाज सुन्न सक्दासम्म सुन्यौं। केहीबेरपछि शून्यमा बिलायो। चकमन्न भयो टोल। हामी थप तिर्खालु भयौं।

भोलिपल्ट फेरि हामी आँगनमा आयौं। बच्चो फेरि कौशीमा आयो। रमालाई देख्नासाथ ‘पापा’ भनेर कराउन थाल्यो। उसकी हजुरआमाले फुल्याउने कोशिस गरिन् तर सकिनन्। बच्चो हाम्रो आँगनमा दाखिल भयो। रमाले केही दाना अङ्गुर दिइन्। बच्चो फर्कियो।

दिउँसो एकपल्ट हाम्रो आँगनमा आउनु बच्चोको दिनचर्या भयो। केही समयपछि मेरो बिदा सकियो र हाम्रो आँगनमा बस्ने सिलसिला बन्द भयो।

तैपनि बच्चो आउँदो रहेछ। उसले कराएको सुनेका बखत रमा बाहिर निस्किँदरहिछन् र केही दिँदिरहिछन्। वास्तवमा उनले उसैका लागि भनेर चकलेटको एउटा प्याकेटै किनेर ल्याएकी रहिछिन्। कुनै दिन उनले बच्चाको आवाज सुनिनन् र गेट खोलिनन् भने ऊ अरु छिमेकीको दौलोतिर जाँदो रहेछ। यसरी उसले आफ्ना बालशुलभ चकचकले एउटा प्रेम संसार बनाउँदोरहेछ।

केही दिनपछाडि उसकी आमा बच्चो लिएर हेटौंडा गइन्। सडकबाट एउटा आवाज हरायो। टोलबासी जबजब सडकमा निस्कन्थे, त्यही बार्दलीतिर हेर्थे। उसकी हजुरआमा बार्दलीमा अचारको बोतल सुकाउन अथवा लुगाफाटा सुकाउन निस्कँदा सोध्थे, ‘कहाँ गयो फुच्चे?’

‘मावल गाको छ, हेटौंडा।’

यस घर र छिमेकीबीच वाक्य फुटेको यही फुच्चेका विषयले हो।

एकदिन यस्तै वार्ताबाट आड पाएर दाइनेतिरकी घरकी दिदीले भनिन्, ‘अँ, कस्तो सुन्ने लागिराछ।’

म सुनिरहेथेँ। रमाले भनिन्, ‘सधैं दुई बजेतिर आइपुग्थ्यो। ठूलोबाबा भन्थ्यो। अन्टी भन्थ्यो। कस्तो न्यास्रो लागिराछ मलाई पनि।’

बायाँतिरकीले उनकै आँगनबाट थपिन्, ‘यहाँ पनि पो आइपुग्थ्यो त कहिलेकाहीँ। कुकुरले बच्चा पाएको छ, हेर्न आइपुग्थ्यो।’

‘हरे शिव! कुकुरका बच्चा देखाउँदै जाने कि जाने भनेर उद्भ गर्छ।’

बच्चो विषय बन्यो, जोडिन थाले छिमेकीका मनहरू। यसै बिषयको आडमा खाना खाए नखाएको, के तरकारी पकाएको, अचार खाने बेला भयो कि भएन, सिन्की निकाल्ने बेला भयो कि भएन, बेलुका ठिमी चोकतिर तरकारी खोज्न कोको जाने, बदाम वालाले फेस्रिएका बदाम दिएर गएछ, मन्दिरमा पूजा छ कोको जाने, हनुमन्तेमा लाश भेटियो रे, कसको रहेछ, पुलिस बिट बस्छ रे भट्टराई चोकमा आदि आदि कुराहरू हुन थाले।

सम्बन्धको हरियाली बिस्तारै फैलन थाल्यो यस टोलमा।

केही दिनपछि हेटौंडाबाट बच्चो फर्कियो। फेरि लागे घाम ब्रह्मनगरको यस सुनसान टोलमा। फेरि उज्यालिए अनुहारहरू। अहिले, त्यो घर पनि बन्दीगृहजस्तो रहेन। बच्चाकै औंलो समातेर हजुरआमा टोलछिमेकमा हिँड्न थालिन्। उसकै बारेमा सही, केही कुरा बोल्न थालिन्। घरहरू जोडिए। मन जोडिए।

केही महिनापछि एक्कासि सुनियो, बच्चोको बाबुको सरुवा पोखरामा भयो रे। सपरिवारै जाने निधो भएछ। घरमा भाइ र बूढी आमामात्रै रहने भएछन्।

जाने दिन एकाबिहानै तयारी गरेर आमा चाहिँले बच्चो चिटिक्क पारिन्। सुटकेस, लुगाफाटा सबै तयार भएपछि आँगनमै ट्याक्सी बोलाएछन् बच्चोका बाबुले। बच्चो च्यापेर आमा तल झरिन् र ट्याक्सी समातिन्। बाबु सुटकेस लिएर झरे र ट्याक्सीमा हाले। फेरि गए, र लुगाफाटा लिएर आए। हजुरआमा कौशीबाट पिलपिल आँसुसहित सुक्सुकाउन थालिन्। कान्छो छोरो अल्मल अल्मल देखियो, आमासँगै।

सबै बसिसकेपछि बिस्तारै ट्याक्सी गुड्यो। टोलका सबैजसो पुरुष र महिलाले मलिन अनुहारले हेरे यो दृश्य। ट्याक्सीले पहिलो कुइनेटो काटिसक्दा उनीहरूका आँसुले गालाको पहिलो डिल काटिसकेका थिए।

ट्याक्सी अदृश्य भएपछि टोलबासी कसैको अनुमति नपर्खी त्यस घरमा गुरुरुरु पसे। केही बेर रुवाबासी सुनियो। बच्चाकी हजुरआमा रोएको तलसम्मै सुनियो। हामी पनि गयौं। कौशीभरि मान्छे जम्मा भएका थिए। उनका आँसु र दुःख बाँड्दै छिमेकीहरू सान्त्वना दिइरहेका थिए। भनिरहेका थिए, ‘नरुनू दिदी। हामी छौं नि।’

उनीहरू ब्रह्मनगर सरेपछि पहिलोपल्ट यसरी छिमेकीहरू सुखदुःख बाँड्न त्यो घरमा पसेका थिए। ‘हामी छौं नि’ भनेका थिए। एकआपसमा  नजोडिएका ती छिमेकीहरू जोडिए। एउटा बच्चो बिदा भएर गयो ब्रह्मनगरबाट, तर एउटा सामाजिक पारस्परिकता उपहार दिएर गयो।

उसैलाई भने यति ठूलो कुराको कुनै हेक्का थिएन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.