याद


दिउँसोसम्म सबै ठिकै थियो। बिहान कलेज गएँ, उतैबाट अफिस।

खाजा खाने बेला साथीहरुबीच मंसिर सकिएर पुस लाग्दा पनि बिहे नभएको कुरा उठ्यो।

‘एक्लै त यो जाडो कसरी काट्ने होला हौ?’ रमणलाई बाँया आँखा झिम्काउँदै श्रृष्टिले भनी।

सबैजना गलल हाँसे।

खाजा खाएर आएपछि हो, मेरो जाँगर हराएको। एकछिन टेबलमै टाउको राखें।
निको हुने छाँटकाँट देखिएन।

डेरा फर्किएँ। दिनभरि घाम नलाग्ने कोठा चिसो थियो। कपडा खोलेर उल्टोसुल्टो पारेर फालें।

दुइटा सिरक खप्टाएर ओछ्यानमा पल्टिएँ।

ढाड दुख्यो। पैतालादेखि तालुसम्म हपकहपक हुन लाग्यो। दुबै हातका नाडी तडकतडक भए।

घरभरि मान्छे थिए। तर मेरो हात समात्ने र निधार सुम्सुम्याइ दिने कोही थिएन।

घरको खुब याद आयो। घरको के भन्नु, तिम्रो याद आयो। तिमी नभएको घर मलाई कहिल्यै घरजस्तो लागेन।

ज्वरोले काँप्न थालेपछि रोक्न खोज्दाखोज्दै कराएँ–आमा।

एकछिनमा तिमी आयौ। तिम्रा खस्रा हत्केलाले मेरो निधार सुम्सुम्याएजस्तो लाग्यो।

हरेक हिउँदमा तिम्रा हत्केला फुट्थे। त्यसलाई पुर्न आलो नौनी दल्थ्यौ।

बिहानबेलुका जुठा भाँडा माझ्दा खरानीमा मिसिन्थ्यो नौनी। फुटेका तिम्रा

हत्केला झन् काला हुन्थे।

सानो छँदा चिसो लाग्ला भनेर स्कुल जाने बेला मेरो तालुमा तोरीको तेल थप्थप्याउँथ्यौं।

तिम्रा हत्केला खुब बिझाउँथे। म भन्थें–सबैका हात तिम्राजस्तै भए भने काइँयो कम्पनी बन्द हुन्छन् होला है आमा।

आज तिनै खस्रा हत्केलाले मेरो निधार सुम्सुम्याएको कल्पना गर्दा पनि अलिक विसेक भयो।

मैले घर छोड्ने बेला तिमीले भनेकी थियौ– तलाईँ लाग्दो हो, म आमाबाट धेरै टाढा पुग्छु।

मेरो जिउ पो यहाँ छ, हंस त तँ जहाँजहाँ जान्छस्, त्यहीँत्यहीँ पुगिहाल्छ नि।

धेरैबेर तिम्रो याद आएपछि मलाई अलि हलुंगो भयो। सायद तिम्रो हंस अझै पनि मेरै वरिपरि रैछ।

ह्या के हुन्छ र, भोलि बिहानै अस्पताल गइहाल्छु नि भन्ने सोच्दा त मलाई तिम्रो यति धेरै याद आयो।

केही वर्षअघि बिरामी परेकी तिमीलाई हेर्न गाउँभरिका मान्छे भेला भएका थिए। तिमी बर्बराउँदै मलाई बोलाउँदै थियौ रे।

ढुकढुकी बन्द हुनुपहिले अब त बाँच्दिन भन्ने महशुस हुँदा साँच्ची तिमीलाई मेरो कति धेरै याद आयो होला?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.