नौ दिनदेखि हेलिकप्टर उडान ठप्प रहेको खुम्बु (सगरमाथा) क्षेत्रमा विवाद सल्टिनेभन्दा झनै बल्झिँदै गइरहेको छ। यसले सगरमाथा क्षेत्रको आकाशमा हेलिकप्टरको उपस्थिति झनै अनिश्चित बनाइदिएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका र वायुसेवा सञ्चालकहरूबीच असमझदारीका कारण ९ दिनयता सगरमाथा क्षेत्रको आकाश रित्तै बनेको हो। त्यहाँ सन् २०२५ को पहिलो दिन जनवरी १ देखि नै हेलिकप्टर उडान ठप्प छ।
यो असमझदारीबाट सगरमाथा राष्ट्रिय निकुञ्ज पछि हटिसकेको छ। पहिले आफूलाई साथ दिएको निकुञ्ज पछाडि हटेपछि रूष्ट बनेको गाउँपालिकाले निकुञ्ज र हेलिकप्टर सञ्चालकहरूप्रति आक्रोश पोखेको छ।
मुलुककै मुख्य पर्यटकीय गन्तव्य मानिने खुम्बु (सगरमाथा) क्षेत्रमा ९-९ दिनसम्म आवागमनको मुख्य साधन ठप्प हुँदा त्यहाँको पर्यटनदेखि दैनिक जीवनमै असर परिरहेको स्थानीय बताउँछन्।
'सबभन्दा ठूलो असर त यहाँको पर्यटन व्यवसायमा परेको छ,' खुम्बु क्षेत्रका पर्यटन व्यवसायी किरण राजभण्डारीले भने, 'केही आपतविपद् पर्दा पनि उद्धार नहुने अवस्था आउनु दुःखद् छ।'
निकुञ्ज र गाउँपालिकाले संयुक्त बैठकमार्फत् सन् २०२५ को सुरूदेखि हेलिकप्टर कम्पनीहरूलाई उद्धार बाहेकका काममा ४ हजार मिटर माथिको सगरमाथा क्षेत्रमा जान रोक लगाउने निर्णय गरेका थिए। विवादको 'ट्रिगर प्वाइन्ट' यही हो।
उक्त निर्णयलाई खुम्बुका स्थानीयले साथ दिँदै हेलिप्याडहरूमा झन्डासहित उपस्थित भएर अवतरण गर्न नदिने घोषणा गरेका थिए।
वायुसेवा सञ्चालक संघले पनि विज्ञप्ति जारी गरेर 'सुरक्षाको प्रत्याभूति नभएसम्म उडान रोक्ने' घोषणा गरेको थियो। त्यसपछि सोलुखुम्बु जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गर्दै हेलिकप्टर उडान र अवतरणमा अवरोध पुर्याउनेलाई कारबाही गर्ने चेतावनी दियो।
लगत्तै सगरमाथा राष्ट्रिय निकुञ्जले सूचना जारी गरेर 'नियमअनुसार अनुमति लिएर र राजस्व बुझाएर' हेलिकप्टर उडाउन भन्यो।
निकुञ्जको यस्तो सूचनापछि हामीले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेलाई मंगलबार सोधेका थियौं, 'सगरमाथाको आकाशमा हेलिकप्टर अब कहिले खुल्छ?'
जबाफमा उनले भनेका थिए, 'गाउँपालिका बैठक बसिरहेको छ। गाउँपालिका पनि खुलाउने निर्णय लिएपछि हेलिकप्टर सेवा सुरू हुन्छ।'
गाउँपालिकाले मंगलबार कुनै निर्णय लिएन। बुधबार पनि बैठक स्थगित भयो। बिहीबार साँझ आएर गाउँपालिकाले कडा भाषाको सार्वजनिक सूचना निकालेर वायुसेवा संघ र सगरमाथा राष्ट्रिय निकुञ्जप्रति रोष मात्र प्रकट गरेको छ।
स्थानीयवासीको 'स्वच्छ र शान्त वातावरणमा बाँच्न पाउने अधिकार' रक्षा गर्नु आफ्नो दायित्व भएकोसमेत गाउँपालिकाले उल्लेख गरेको छ।
गाउँपालिकाले भनेको छ, 'संविधानतः जनताको सबभन्दा नजिक रहेको स्थानीय सरकारसँग समस्त नागरिकको अपेक्षा जोडिनु स्वाभाविक छ। खुम्बु क्षेत्रको प्रमुख पेसा, व्यवसायका रूपमा रहेको पर्यटन, विश्व सम्पदामा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जको गरिमा र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारमाथि प्रतिकूल प्रभाव पारी निश्चित पेसा, व्यवसायीकर्मीहरूलाई मात्र लाभ पुर्याउने गरी गरिने क्रियाकलाप एक जिम्मेवार स्थानीय सरकारका लागि किमार्थ स्वीकार्य हुन सक्दैन।'
गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले हेलिकप्टर उडानमा चरम अव्यवस्था रहेको बताएका छन्।
हेलिकप्टर उडान व्यवस्थित गर्न स्थानीयवासीको पहलमा गाउँपालिकाले चालेको कदममा तुसारापात हुने गरी नागरिक उड्ययन प्राधिकरण, सगरमाथा राष्ट्रिय निकुञ्जनबाट आएको सूचनाले आफूहरू चकित भएको उनले बताए। उनले निकुञ्जको निर्णयप्रति आपत्ति प्रकट गरेका छन्।
कोशी प्रदेशको मुख्य पर्यटन क्षेत्रमा पर्ने खुम्बुमा चर्केको यो द्वन्द्वले प्रदेश सरकारलाई पनि चिन्तित पारेको छ। 'कोशी भ्रमण वर्ष २०८२' मनाउने तयारी गरिरहेको सरकारका लागि यही बेला प्रदेशकै प्रमुख पर्यटन गन्तव्य सगरमाथा क्षेत्रमा नयाँ द्वन्द्व देखापर्दा चिन्ता बढेको कोशीका पर्यटनमन्त्री सदानन्द मण्डलले बताए।
'खुम्बु क्षेत्रमा देखिएको समस्या तत्कालै समाधान गर्नुपर्ने खाँचो छ,' उनले भने, 'मुलुकको मुख्य पर्यटन क्षेत्रमा यस्तो अवस्था लम्बिन नदिन हामी सबै गम्भीर बन्नुपर्छ।'