तपाईंहरू धेरै किसिमका होटलमा बास बस्नुभयो होला, धेरै किसिमका रेस्टुरेन्टमा खाना खानुभयो होला; तर यस्तो होटल र यस्तो रेस्टुरेन्ट सायदै कहिले देख्नुभयो!
नेपालमा त पक्कै देख्नुभएको छैन।
अरू होटलमा तपाईंलाई सर्भिस दिन वा तपाईंसँग खानाको अर्डर लिन मान्छे आउँछ। यो होटलमा मान्छे होइन, मेसिन आउँछ।
होटलको भुइँतलामा रहेको रेस्टुरेन्टदेखि सातौं तलामा रहेको रूमसम्म तपाईंलाई मेसिनले नै सर्भिस दिन्छ।
तपाईंलाई आवश्यक पर्ने धेरैजसो काम मेसिनले नै फत्ते गरिदिन्छ।
मेसिन, अर्थात् रोबोट।
त्यसैले त, यसको नामै हो — होटल रोबोट।
काठमाडौंको सामाखुसीमा रहेको होटल रोबोटको भुइँतलामा क्याफे र रेस्टुरेन्ट छ। रोबोटको सेवा यहीँबाट सुरू हुन्छ।
ग्राहकले अर्डर गरेका खानालाई रोबोटले नै भान्सादेखि टेबलसम्म पुर्याउँछ। र, फेरि भान्सामै फर्कन्छ।
रोबोट होटलको यो दृश्य नेपालको हस्पिट्यालिटी क्षेत्रमा नौलो हो। त्यसैले रोबोटको सेवा हेर्न उद्घाटन नहुँदै ग्राहकहरूको भिड लाग्न सुरू भइसकेको सञ्चालक सुरेशकुमार श्रेष्ठ बताउँछन्।
उनका अनुसार धेरै अभिभावकले आफ्ना केटाकेटीलाई रोबोटले कसरी काम गर्छ भनेर देखाउन यहाँ ल्याउने गरेका छन्।
होटलमा जम्मा ७ वटा रोबोट छन्। तीमध्ये चारवटाले रेस्टुरेन्टको सेवा दिन्छ भने दुइटाले रूमको। एउटाले सरसफाइको काम गर्छ।
होटलको मुख्य आकर्षण बनेका यी सबै रोबोट चीनबाट ल्याइएका हुन्। एउटै रोबोटले चारवटासम्म टेबलको अर्डर लिन सक्छ।
यी रोबोटले कसरी काम गर्छन् त?
सह-सञ्चालक निरञ्जन भट्टराईका अनुसार कुन टेबलको अर्डर लिने हो त्यसैअनुसार भान्साबाटै टेबल नम्बर सेट गरिन्छ।
त्यसपछि रोबोट तोकिएको नम्बरको टेबलमा जान्छ र अर्डर लिन्छ। पछि अर्डरअनुसारको खाना लैजान पनि रोबोटलाई टेबल नम्बर सेट गरेर पठाइन्छ।
रोबोटलाई खाना बोकाएर पठाउँदा कहिलेकाहीँ एक जना कर्मचारी साथै जान्छन्। ती कर्मचारीले रोबोटबाट खानेकुराको प्लेट झिकेर टेबलमा राखिदिन मद्दत गर्छन्। ग्राहकहरू आफैले पनि रोबोटबाट खानेकुराको प्लेट झिक्न सक्छन्।
यसरी खानेकुरा सर्भ गरेपछि रोबोटले 'थ्यांक्यू ... बाई बाई ...' भन्छ।
यो त भयो रोबोटले दिने रेस्टुरेन्टको सेवा। कोठाको सेवा भने अलि फरक छ।
कुनै पाहुनालाई खानेकुरा मगाउनुपर्यो भने उसले सबभन्दा पहिला रिसेप्सनमा कल गर्नुपर्छ। रिसेप्सनले ग्राहकको अर्डर भान्सामा पठाउँछ। खाना तयार भएपछि त्यसलाई रोबोटमा राखिन्छ र जुन रूमबाट अर्डर आएको हो, त्यो नम्बर सेट गरेर खाना पुर्याउन पठाइन्छ।
होटलका हरेक कोठामा सेवा दिन रोबोट लिफ्टबाट तलमाथि गर्छ।
सञ्चालक सुरेशका अनुसार रोबोट भुइँतलामा रहेको भान्साबाट लिफ्ट चढेर पाहुनाको कोठामा जान्छ। ढोकाबाहिर पुगेपछि रोबोटले कोठाभित्र फोन गर्छ।
ग्राहकले रोबोटको सबभन्दा माथि 'कि कार्ड' देखाएर आफ्नो अर्डरको खानेकुरा निकाल्न सक्छ। त्यसपछि रोबोट फेरि आफ्नो गन्तव्यमा फर्कन्छ।
खानेकुरा बोकेर कोठामा जाँदा वा फर्कँदा लिफ्टमा अरू कोही मान्छे छ भने रोबोटले केही समय पर्खेर पनि बस्छ।
'रूम सर्भिसमा रोबोटको प्रयोगलाई धेरै गेस्टहरूले मन पराउनुभएको छ। आफ्नो गोपनीयताका लागि पनि उहाँहरूले यसलाई सुरक्षित मान्नुभएको छ,' सह-सञ्चालक निरञ्जनले भने, 'कोठा सरसफाइ पनि हामी रोबोटबाटै गराउँछौं। छोटो समयमै रोबोट होटलको चर्चा बढेको छ।'
साततले यो होटलमा पहिलो तलामा क्याफे छ भने दोस्रो तलामा लाइभ रूम स्टेज र सेमिनार तथा पार्टी हल छन्।
तेस्रो तलादेखि पाँचौं तलासम्म होटलका कोठा छन्। त्यसपछि छैठौं तलामा साउना, स्टिम, स्वीमिङ पुल र सातौं तलामा स्काइ बार र क्याफे छन्।
यो होटलमा कुल २७ वटा कोठा छन्। कोठालाई सेवा-सुविधाअनुसार वर्गीकरण गरिएको छ। निरञ्जनका अनुसार यहाँ १६ वटा डिलक्स, ७ स्ट्यान्डर्ड र चारवटा स्विट रूम छन्। यी कोठाको मूल्य एक रातको ३ हजार ५ सयदेखि ७ हजार ५ सय रूपैयाँ पर्छ।
'बसपार्क क्षेत्रमा यतिको सुविधासम्पन्न होटल कम छन्,' उनले भने, 'त्यसैले हामीले सबैखाले ग्राहकलाई हेरेर खाना र बस्न किफायती मूल्य राखेका छौं।'
होटलमा माछा थेरापीको सुविधा पनि छ।
यसमा खाली खुट्टा पानीभित्र डुबाएर राखिन्छ। खाली खुट्टा वरिपरि माछाहरू झुम्मिन्छन् र बिस्तारै टोक्छन्। यसले एक किसिमको थेरापीको काम गर्छ। यस्तो थेरापीले शारीरिक शिथिलता हटाउनुका साथै कतिपय रोगसमेत निवारण गर्ने निरञ्जन बताउँछन्।
हस्पिट्यालिटी क्षेत्रमा नौलो प्रविधि भित्र्याउन रोबोट सेवा सुरू गरेको सुरेश र निरञ्जनको भनाइ छ।
आफ्नो होटललाई अरूभन्दा फरक पहिचान दिन पनि यो प्रयास गरेको उनीहरूले बताए।
२०६६ सालबाट व्यवसायमा होमिएका सुरेश र निरञ्जनको दुइटा पानी उद्योग पनि छन्। उनीहरूले पानी उद्योग चलाएको डेढ दशक भयो।
'हामीले धेरै ठाउँमा प्याकेजिङ गरेर पानी पठाउँदै आएका छौं। सबभन्दा धेरै पानी होटलमै खपत हुन्छ,' सुरेशले भने, 'होटलमा पानीको बिक्री देखेर नै हामीले यो क्षेत्रमा लगानीको सम्भाव्यता महसुस गरेका हौं।'
उनीहरूले होटल बनाउने योजनामा काम थालेको चार वर्षअघि हो।
त्यति बेला उनीहरू व्यवसायकै क्रममा चीन पुगेका थिए। त्यहाँ होटलमा रोबोटले विभिन्न किसिमका सर्भिस दिइरहेको देखे। त्यही दृश्यबाट रोमाञ्चित भएर त्यस्तै सेवासहितको होटल खोल्ने हुटहुटी जागेको सञ्चालक सुरेश बताउँछन्।
'यस्तै रोबोट प्रयोग गरेर होटल चलाउन सके नेपालको हस्पिट्यालिटी क्षेत्रमा नयाँ आयाम थपिन्छ भन्ने लाग्यो,' सुरेशले अगाडि भने, 'त्यसपछि हामी दुवै मिलेर संयुक्त लगानीमा होटल खोल्ने सोच बनायौं।'
चीनबाट फर्किएपछि सुरेश र निरञ्जन होटलका लागि उपयुक्त ठाउँको खोजीमा लागे।
सुरेश पहिल्यैदेखि सामाखुसी बस्थे। नयाँ बसपार्क नजिकै भएकाले सामाखुसी क्षेत्रमै होटल खोल्ने उनीहरूले निधो गरे।
उनीहरूले तीन वर्षअघि सामाखुसीमा १० आना जग्गा किने। दुवै जनाले ३५ करोड रूपैयाँ लगानी जुटाएर २०७९ सालमा होटल बनाउन सुरू गरे। गत कात्तिकबाट सञ्चालनमा आएको छ।
'अहिले होटलको सफ्ट लन्च मात्र भएको छ। तैपनि यसको चर्चा र अकुपेन्सीले हामी उत्साहित छौं,' सह-सञ्चालक निरञ्जनले भने।
उनका अनुसार होटलको काम सबै पूरा भइसकेको छ। साउना र स्विमिङ पुलका केही काम बाँकी छन्। ती पनि पूरा भएपछि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी छ।
होटल रोबोटले अहिले २९ जनालाई रोजगारी दिएको छ।
***