भ्रमण वर्ष २०२० को प्रचार/प्रसारको लागि सबै सार्वजनिक यातायातमा प्रचारात्मक स्टिकर टाँसिने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा देशभरका करिब ३ लाख सार्वजनिक यातायातमा स्टिकर टाँसिने पर्यटनमन्त्री योगेश भट्टराइले जानकारी दिए।
‘हामी मंसिर १५ गतेसम्म सबै सार्वजनिक यातायातमा स्टिकर टास्न व्यवसायीलाई आग्रह गर्छाै,’ उनले भने।
भ्रमण वर्ष सफल पार्न यातायात क्षेत्रको ठूलो योगदान हुने उनले बताए।
‘सवारी साधन फोहोर, कोचाकोच र स्टाफहरुको व्यवहार राम्रो भएन भने संसारमा हाम्रो छवि नराम्रो हुन जान्छ। त्यस्ता कुरामा विशेष ध्यान दिन व्यवसायीलाई अनुरोध गर्न चाहान्छु,’ मन्त्री भट्टराईले भने।
भ्रमण वर्षको मूल आयोजक समितिमा यातायात क्षेत्रको पनि प्रतिनिधित्व गराइएको उनले जानकारी दिए।
यो प्रचारात्मक स्टिकर बाध्यात्मक नभई स्वेच्छिक भएको भट्टराइले बताए।
यो अभियान राजधानीबाट सुरु गरेर देशव्यापी बनाउने योजना रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘अहिले हामीले ४ प्रकारका स्टिकर बनाएका छौं। पछि व्यवसायीको मागअनुसार यातायात कम्पनीलाई सुहाउँदो आकारको स्टिकर पनि बनाउँछौ,’ सिटौलाले भने।
यी स्टिकरले गाडीलाई हानी नगर्ने हुँदा निश्चिन्त भएर टास्न व्यवसायीसँग उनले आग्रह गरे।