माधवभक्त माथेमा दुई वर्षअघि, २०७९ फागुनमा सुर्खेत आएका थिए। माथेमा तिनै व्यक्ति हुन्, जसले २०३९ सालमा वीरेन्द्रनगर उपत्यकाको पहिलो गुरूयोजना बनाएका थिए। ३५ वर्षको अन्तरमा माथेमाले वीरेन्द्रनगर टेकेको मौका छोपेर नगरपालिकाले एउटा गोष्ठी आयोजना गरेको थियो।
नगरपालिकाले उनलाई समग्र 'वीरेन्द्रनगरको गुरू' बराबर सम्मान दिएर आसन दिएको थियो।
गोष्ठीमा माथेमाले भनेका थिए – ओहो, वीरेन्द्रनगर त धेरै पो बदलिएछ त!
वीरेन्द्रनगरको स्वरूप त यस्तै थियो, वर्षौं पहिले अवस्था भने फरक थियो। हिजोआज वीरेन्द्रनगर आउने मान्छेको तँछाडमछाड हुन्छ। २०२२ सालअघि यस्तै तँछाडमछाड उपत्यका छाड्नेहरूको थियो। त्यति बेला सुर्खेत उपत्यका औलो रोग संक्रमणको जोखिममा थियो।
औलो महामारीबाट पीडित यहाँका वासिन्दा उपत्यका छाडेर डाँडातिर सर्थे। हिउँदे बाली लगाउन उपत्यका झर्थे। २०२२ सालमा यहाँ औलो उन्मूलन घोषणा भयो। त्यसपछि खेती लगाउन मात्र आउने मानिस स्थायी रूपमा बस्न थाले।
अहिले वीरेन्द्रनगर निकै परिवर्तन भइसकेको छ।
यो स्टोरीमा हामी सुरूदेखिको परिवर्तनबारे भन्ने छैनौं। पछिल्ला सात वर्षयता वीरेन्द्रनगर कस्तो बन्यो, कति परिवर्तन भयो, के कुराले परिवर्तन भयो भन्नेबारे चर्चा गर्नेछौं। कर्णालीको राजधानी बनेयता कस्ता र कति पूर्वाधार बने भन्ने पनि उल्लेख गर्नेछौं।
दक्षिण वा पूर्वी क्षेत्रबाट सुर्खेत पुग्न रत्न राजमार्ग प्रयोग गर्नैपर्छ। रत्न राजमार्ग भनेको बाँकेको कोहलपुर–सुर्खेत सडक खण्ड हो। भेरी नदीमाथिको सबभन्दा पुरानो पुल तरिसकेर ६ किलोमिटर गुडेपछि सुब्बाकुनामा रहेको प्रहरी चेकपोस्ट नजिक पुगिन्छ। सार्वजनिक सवारी साधनमा यात्रा गर्ने हो भने गाडी अनिवार्य रोकिन्छ।
सुब्बाकुना पुग्नु भनेको वीरेन्द्रनगर उपत्यका प्रवेश गर्नु हो।
यही उपत्यकामा सुर्खेतको सदरमुकाम वा कर्णाली प्रदेशको राजधानी बसेको छ। आधा शताब्दी अघिदेखि नै बस्ती बस्न थालेको वीरेन्द्रनगर उपत्यकामा अहिले विशाल संरचना बनेका छन्। केही बन्ने क्रममै छन्।
निर्माणाधीन मंगलगढी-काँक्रेविहार सडकसुब्बाकुनाबाट अघि बढिसकेपछि चार लेनको सडक भेटिन्छ। फुटपाथ व्यवस्थित छैन, तर पहिलेको सानो सडकको तुलनामा अहिले सहज छ। थोरै यात्रापछि मंगलगढी चोक पुगिन्छ। मंगलगढी चोक भनेको वीरेन्द्रनगरको बजार क्षेत्रको प्रतिनिधि चोक हो। कोलाहल हुने मुख्य बजार जाने या त शान्त पर्यटकीय क्षेत्रतिर जाने, यहीँबाट बाटा छुट्टिन्छन्।
मंगलगढीबाट पर्यटकीय क्षेत्रतिर जान दक्षिणतर्फ मोडिनुपर्छ। यो बाटोबाट नेपालको पहिलो संरक्षित वन क्षेत्र काँक्रेविहारसम्म पुगिन्छ। यता नगई सुरूमा बजार क्षेत्र जान चाहे दक्षिण पश्चिमतिरको बाटो मोडिनुपर्छ। बजारभित्रको यो बाटो करिब दुई सय मिटर गुडेर, दायाँतर्फ ठाडो सडकबाट लगभग पाँच सय मिटर सिधा गुडेपछि घण्टाघर देखिनेछ।
घडीमा ६० मिनेट हुने बेलामा पुग्ने संयोग परेछ भने त्यहाँको 'टाइम अलार्म' को मीठो ध्वनी सुन्न पाइनेछ। संयोग परेन भने केही समय वीरेन्द्रनगर उपत्यकामा बस्न र त्यहाँ होहल्ला नभए अर्को घण्टामा ध्वनी अवश्य सुनिनेछ।
घण्टाघर परिसर अहिले पुनर्निर्माण गरेर नयाँ स्वरूपमा लगिँदैछ। पर्खालभित्रको भाग निर्माणाधीन छ, तर बाहिरबाट हेर्दा आकर्षक देखिन्छ। वर्तमान समयमा यो घण्टाघर समय थाहा पाउने माध्यम मात्र बनेको छैन, यहाँको ऐतिहासिक र सांस्कृतिक सम्पदाको एक प्रतीकका रूपमा पनि उभिएको छ।
यो घण्टाघर २०४५ सालमा चीन सरकारको सहयोगमा वीरेन्द्रनगर उपत्यकाको मध्यभागमा बनाइएको थियो। त्यो बेला स्थानीयले समय थाहा पाउने एउटा प्रमुख माध्यम यही थियो। नजिककाले घडीका सुई हेर्थे, अलि टाढाकाले ध्वनीबाटै कति बज्यो भनेर थाहा पाउँथे। स्थानीयहरूले घण्टाघरलाई 'घडी भवन' पनि भन्थे।
बीचको केही समय यहाँको घडी र ध्वनी दुवै रोकियो। अहिले यसलाई पुरानै लयमा फर्काइएको हो। र, घण्टाघर अहिले प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित हुँदैछ। घण्टाघरको टुप्पोमा चढेर उपत्यका अवलोकन गर्न मिल्ने गरी बनाइएको छ।
![Ghantaghar-Surkhet-1738759102.jpg](https://www.setopati.com/uploads/posts/Ghantaghar-Surkhet-1738759102.jpg)
निर्माणाधीन घण्टाघरघडी भएको भवनबाहेक यसको परिसरलाई नयाँ स्वरूपमा तयार गरिँदैछ। नयाँ पर्खाल छ। भित्री भागमा विश्रामस्थल, पानीको फोहरा लगायत संरचनामा काम भइरहेको छ। योसँगै जोडिएको पश्चिमतर्फको भागलाई पार्किङ र विश्रामस्थलका रूपमा तयार गरिँदैछ। दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयको प्रशासनिक भवन र अरू पूर्वाधार छन्। पश्चिमतर्फ वीरेन्द्रनगर नगरपालिकाको प्रशासनिक भवन छ। नयाँ भवन पनि बन्दैछ।
घण्टाघर र नगरपालिका कार्यालयका बीच खुला मैदान छ जहाँ सांस्कृतिक कार्यक्रम भइरहेका हुन्छन्। उत्तरतर्फ मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू, विभिन्न सरकारी कार्यालयहरू छन्।
घण्टाघर परिसर पुनर्निर्माण पूरा भइसक्दा 'गजब' देखिने स्थानीयहरू बताउँछन्।
अब यहाँको चर्चित ठाउँ काँक्रेविहारबारे चर्चा गरौं।
अहिले काँक्रेविहार जान पहिलेको जस्तो असहज छैन। मंगलगढी चोकदेखि काँक्रेविहारसम्म दुई किलोमिटर सडक दुई लेन बन्दैछ। यो काम अन्तिम चरणमा पुगिसकेको छ।
काँक्रेविहार प्रमुख पुरातात्विक स्थलमध्ये एक हो। बौद्ध धर्मसँग सम्बन्धित पुरातात्विक भवन र विहार भएको काँक्रेविहार क्षेत्रमा अहिले परिवर्तन भएको चाहिँ मन्दिर हो। साढे २१ मिटर उचाइको यो मन्दिर पुनः शिखर शैलीमा निर्माण गरिएको छ। गेटलगायत मन्दिर वरपरका अरू भग्नावशेष संरचनालाई पनि पुरानै रूपमा फर्काइएको छ।
पहिले शिखर शैलीमै रहेको यो मन्दिर १८९० सालको भूकम्पले भत्किएको मान्यता छ। यसको आधिकारिक प्रमाण भने छैन। पुनर्निर्माण अघिसम्म, झन्डै दुई सय वर्ष मन्दिर लगायत संरचना भग्नावशेष अवस्थामा थिए। पुरातत्व विभागले २०५७ सालदेखि भग्नावशेष उत्खनन थालेको थियो। उत्खननपछि मन्दिरको शैली र पुरातात्विक महत्त्व देखेर पुनर्निर्माण थालिएको थियो।
२०६१ सालदेखि पुनर्निर्माण थालिए पनि समयमा काम भएन। २०७२ सालदेखि फेरि पुनर्निर्माण सुरू भयो। आठ करोड रूपैयाँभन्दा बढी लागतमा मन्दिर पुनर्निर्माणको काम २०७७ सालमा सकियो।
पुनर्निर्माणपछि काँक्रेविहार मन्दिरको गजुर उपत्यकाका अरू भागबाट पनि देख्न सकिन्छ। काँक्रेविहार भित्रै पुगेर अवलोकन गर्न शुल्क तिर्नुपर्छ।
काँक्रेविहार मन्दिरघण्टाघर र काँक्रेबिहारपछि अब वीरेन्द्रनगरमा देखिएका अरू परिवर्तनको चर्चा गरौं।
वीरेन्द्रनगर प्रवेश गरेपछि चार लेनको सडक भेटिन्छ। यो सडक वीरेन्द्रनगर उपत्यकाभित्र मात्र साढे १० किलोमिटर छ। उपत्यकाको पूर्व र पश्चिम भाग जोड्ने यो सडकले उत्तर दक्षिण भागलाई दुई भागमा बाँडेको छ। उत्तर भाग बजार, आवास, सरकारी अड्डा क्षेत्र पर्छ। दक्षिण भाग खेतीयोग्य जमिन हो। अचेल दक्षिण भाग पनि निजी संरचनाले भरिँदै गएको छ।
सडकका हिसाबले वीरेन्द्रनगर पछिल्ला सात वर्षमा निकै परिवर्तन भएको छ। पहिले भएकै सडक स्तरोन्नति गरेर सहज बनाइएको छ। परिवर्तित सडक संरचनामध्येको एक काँक्रेविहार जोड्ने सडक पनि हो।
दुई वर्षअघि मुख्य बजार क्षेत्रको करिब एक किलोमिटर सडक अव्यवस्थित थियो। फुटपाथ थिएन, पसलेले ओगटेर जथाभावी आफ्ना सामान प्रदर्शन गरिरहेका हुन्थे। खाल्डाहरू गनेर साध्य थिएन।
अहिले दुई लेनको चिल्लो सडक बनेको छ। फुटपाथ बनेको छ। पार्किङ ठाउँ व्यवस्थित बनेको छ।
यही बीच बजार सडकको मध्यभागमा पर्ने वीरेन्द्रचोकबाट मोडिएर दक्षिण पश्चिमतर्फको बाटो सरासर जाँदा वपनि सडक पूर्वाधारले परिवर्तन गरेको वीरेन्द्रनगर झल्किनेछ। यो क्षेत्रलाई अहिले भानुपार्क भनेर चिनिन्छ। अझ धेरैको मुखमा झुन्डिने नाम चाहिँ 'बिएनपी डाँडा' हो। दुई लेन चिल्लो सडक, सडकका दुवै छेउमा राष्ट्रिय झण्डाको लस्कर र बीचमा हरियाली छ। बिहान र बेलुका यहाँ आन्तरिक पर्यटकको भिड नै हुन्छ।
बीच बजारका मात्र होइन, वीरेन्द्रनगरका भित्री सडक पनि व्यवस्थित रूपमा स्तरोन्नति गरिएको छ। व्यावसायिक क्षेत्रका सबैजसो सडकमा फुटपाथ बनाइएको छ। जेब्रा-क्रसिङ लगायत ट्राफिक रेखांकन गरिएको छ।
कर्णाली प्रदेशको राजधानी बनिसकेपछि यहाँका सडक स्तरोन्नति गर्न बजेट लगानी भइरहेकै छ। संघ, प्रदेश र सम्बन्धित स्थानीय सरकारले यहाँका सडक स्तरोन्नतिमा विशेष जोड दिएका छन्।
बुलबुले उद्याननगरपालिका मेयर मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर उपत्यकाभित्रका मुख्य सडक सहरी मापदण्ड अनुसार स्तरोन्नति गरिसकिएको छ। पहिलेको गुरूयोजनामा रहेका भित्री सडकहरू स्तरोन्नतिको अन्तिम चरणमा रहेको उनले बताइन्।
'धेरैजसो सडक बनिसकेका छन्। अब चैतसम्म बाँकी सडकको ठेक्का भइसक्छ,' ढकालले भनिन्, 'त्यस बेला ठेक्कामा परेका सडकको काम सकिएसँगै यसअघिको गुरूयोजनामा भएका उपत्यकाका सबै सडक विस्तार भइसक्छन्।'
अहिले स्तरोन्नति गरेर व्यवस्थित बनेकामध्ये भैरवस्थान क्षेत्रका प्रदेश अस्पताल जोड्ने र आसपासका, इत्राम क्षेत्रका मन्त्रालय, सरकारी कार्यालय जोड्ने सडक, आवास क्षेत्रका भित्री सडक, क्याम्पस रोड, रंगशाला परिसरका, उपत्यका छेउको सानो सुर्खेत जोड्ने सडक, चक्रपथको केही खण्ड, मूलपानी–चक्रपथ जोड्ने सडक लगायत छन्। केही सडक स्तरोन्नतिको काम चलिरहेको छ।
केही समयपछि वीरेन्द्रनगरमा खुला पार्किङ क्षेत्र, प्रदर्शनी स्थल, खुला थिएटर पनि देख्न सकिनेछ। नगरपालिकाले पार्किङका लागि ठेक्का गरिसकेको छ। अरू पूर्वाधार डिजाइन तयार पारेर अघि बढाउन थालेको छ।
वीरेन्द्रनगरमा संरचनागत परिवर्तन भएको देख्न सकिने अर्को कुरा हो 'सिटी हल' (सुर्खेत सभागृह)। यो घण्टाघरको पश्चिमतर्फ 'बिएनपी डाँडा' को छेवैमा छ। तीन वर्षअघि बनेर सकिएको यो विशाल सभागृह केही समय सञ्चालनमा थियो। हाल एउटा विवादका कारण बन्द छ। यसको पर्खालभित्रको परिसरमा भने कार्यक्रमहरू भइरहन्छन्।
साढे तीन विघा क्षेत्रफलमा फैलिएको यो सभागृह २६ करोड रूपैयाँ लगानीमा बनेको हो। सभागृहमा ७ सय ६८ जना मानिस अट्ने एउटा हल र सात वटा बैठक कक्ष छन्।
त्यस्तै पछिल्लो समय सामाजिक सञ्जालमा तस्बिर र भिडिओका माध्यमबाट 'भाइरल' भइरहेको वीरेन्द्रनगरको एउटा 'सकारात्मक कन्टेन्ट' हो कर्णाली प्रदेश रंगशाला।
निर्माणको अन्तिम चरणमा रहेको यो रंगशालाले वीरेन्द्रनगरलाई मात्र होइन, कर्णाली प्रदेशलाई नै छुट्टै पहिचान दिएको छ। यसबाट पनि वीरेन्द्रनगर कति परिवर्तन भयो भन्ने देखिन्छ।
राष्ट्रिय खेलकुद परिषदले चैत २३ गतेबाट हुने भनेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर वीरेन्द्रनगरमा कर्णाली प्रदेश रंगशाला बनाइँदै छ। त्यसपछिको दीगो सदुपयोग त छँदैछ। अहिले जहाँ रंगशाला बनेको छ, त्यहाँ यसभन्दा पहिले अव्यवस्थित धुलाम्य खेल मैदान थियो। त्यही ९ विघा जमिन ओगटेर यो विशाल रंगशाला बनेको हो।
कर्णाली प्रदेश रंगशालाडेढ अर्ब रूपैयाँभन्दा बढी लागतमा बनिरहेको रंगशालामा संरचनाको ९९ प्रतिशत काम सकिइसकेको छ। सबै संरचना 'फिफा मापदण्ड' अनुसार भएको बताइएको छ।
रंगशालाभित्र फुटबलसहित १६ वटाभन्दा बढी खेल खेलाउन मिल्छ। त्यस्तै १० हजार जनाले अवलोकन गर्न सक्नेछन्। आठ लेनको ४ सय मिटर ट्र्याक, पौडीका प्रतियोगिताका लागि स्विमिङ पुल, बास्केट बल, भलिबल जस्ता खेलका लागि आउटडोर र इनडोर कोर्ट, कभर्ड हल लगायत बनाइएको छ। यो कभर्डहल हालसम्म नेपालकै ठूलो हो।
भिआइपी र भिभिआइपीका लागि छुट्टै पारापिट र अन्डरग्राउन्ड पार्किङ छ।
यो रंगशाला अब फिनिसिङको चरणमा छ। सुर्खेत आउँदा घुम्नैपर्ने पर्यटकीय संरचनाका रूपमा यो रंगशाला पनि हुनेछ। मुख्य प्रवेशद्वारमा दैलेखको पञ्चदेवल समेटिएको छ। पर्खालको केही भाग 'चाइना ग्रेटवाल' का रूपमा डिजाइन गरिएको छ। यसलाई 'कर्णाली वाल' नाम दिइएको छ।
यी त भए ठूला परिवर्तन। अब साना र व्यावहारिक विकासको कुरा।
सात वर्षपहिले वीरेन्द्रनगरमा कफी खानुपर्यो भने क्याफे खोज्दै भौंतारिनुपर्थ्यो। अझ 'इन्स्ट्यान्ट' बाहेक कफी-मेसिनमा बनेको 'ब्रूड' कफी त सायदै पाइन्थ्यो। त्यस्तै खाजा खान पनि सामान्य खाजाघर र रेस्टुरेन्ट मात्र थिए। अहिले त्यो अवस्था छैन।
सुविधा सम्पन्न, व्यवस्थित हस्पिटालिटी भएका रेस्टुरेन्ट र क्याफे खुलेका छन्। वीरेन्द्रनगरमा पछिल्लो समय भएको प्रमुख व्यावसायिक लगानीमध्ये एक रेस्टुरेन्ट तथा क्याफे क्षेत्र पनि हो। वीरेन्द्रनगरमा अहिलेसम्म कति रेस्टुरेन्ट वा क्याफे खुले र सञ्चालनमा छन् भन्ने यकिन हिसाब त छैन। तर वीरेन्द्रनगरलाई सुविधासम्पन्न सहर बनाउने इँटा भने यी व्यवसायले थपेका छन्।
प्रदेशको राजधानी भएयता वीरेन्द्रनगरमा ठूला होटल पनि थपिएका छन्। अहिले वीरेन्द्रनगर उपत्यकामा दुइटा तारे होटल छन्। त्यसबाहेक सुविधा सम्पन्न होटलको कमी छैन।
रेस्टुरेन्टकै अवधारणा पछ्याउँदै चिया पसलहरू पनि उत्तिकै खुलेका छन्। फराकिला पसलमा चियाको चुस्कीसँगै गफ गरेर समय बिताउन सकिन्छ।
वीरेन्द्रनगरमा सार्वजनिक र व्यावसायिकसँगै आम जीवनमा पनि परिवर्तन आएको छ। जहाजबाट वीरेन्द्रनगर आउनेहरूले यसलाई दृश्यमै हेर्न सक्छन्। काँक्रेविहार जंगलमाथि पुगेपछि जहाज विमानस्थलको धावनमार्गतिर सोझिन्छ। जहाजको बायाँतर्फ बसेर बाहिर नियाल्दा वीरेन्द्रनगर उपत्यका घरहरूले भरिएको देखिन्छ।
सुर्खेत विमानस्थलउपमहानगरपालिकाको लय पछ्याइरहेको वीरेन्द्रनगरमा पछिल्लो तथ्यांक अनुसार अहिले ५३ हजार घर छन्। सात वर्षअघि यसको आधाभन्दा पनि कम थिए। २०७८ को जनगणनाले यहाँ २९ हजार घर भएको देखाउँछ। नगरपालिकाको अध्ययनमा भने ५३ हजार पुगेको छ।
'यहाँको जनसंख्या र निजी संरचना थपिने रफ्तार एकदमै बढी छ,' मेयर ढकालले भनिन्, 'जनगणनाको नतिजा फरक छ। हामीले केही समयअघि जिआइएस नक्सा हेर्दा यहाँ ५३ हजार घर देखिन्छन्।'
अहिलेसम्म वीरेन्द्रनगर उपत्यकामा पाँच तलासम्म मात्र घर बनाउन मिल्ने नियम छ। नगरपालिकाले नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ। मस्यौदा बनाएर छलफल भइरहको छ। मापदण्ड कार्यान्वयन भयो भने पाँचभन्दा बढी तला भएका घर बन्नेछन्। निजीबाहेकका सरकारी वा सार्वजनिक संरचना बन्ने क्रम पनि वीरेन्द्रनगर उपत्यकामा जारी छ।
यहाँको बसपार्क पनि धेरै व्यवस्थित भएको छ।
सुब्बाकुना प्रवेश गरिसकेपछि ६ किलोमिटर पश्चिम पुगेपछि दक्षिणतर्फ गेट भेटिन्छ। गेट नजिक गाडीका हुल उत्तिकै हुन्छन्। वीरेन्द्रनगरको सिटी बसपार्क यही हो जसले तीन वर्ष अघिसम्मको अस्तव्यस्त बसपार्कको अस्तित्व मेटाइदिएको छ।
२०७५ सालमा बनेको यो बसपार्क सञ्चालन भने २०७७ सालबाट भएको हो। झन्डै सात करोड रूपैयाँ लगानीमा बनेको यो बसपार्क ४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँ साना, ठूलासहित १२० वटा बस अटाउँछन्।
कर्णाली प्रदेश अस्पताल