दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुँदैछ।
पोखरामा भएको नवौं प्रतियोगिताबाट सुर्खेतमा दसौं प्रतियोगिता आयोजना गर्ने गरी कर्णालीलाई झन्डा हस्तान्तरण गरिएको थियो। झद्द्डा हस्तान्तरणका क्रममा २०८१ मंसिर २ देखि ९ गते प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो।
तर आवश्यक तयारी नपुगेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मिति सारेको छ। मंसिर २१ गतेको राखेपको ११८ औं बोर्ड बैठकले नयाँ मिति तय गरेको हो। यही वर्ष चैत २३ गतेदेखि ३० गतेसम्म तय भएको छ जसअनुसार अब प्रतियोगिता सुरू हुन ११० दिन बाँकी छ।
कर्णाली प्रदेशमा प्रतियोगिता गर्न वीरेन्द्रनगरको निर्माणाधीन प्रदेश रंगशाला नै प्रमुख संरचना हो। खेल पूर्वाधारका हिसाबले कमजोर यो प्रदेशमा प्रतियोगितालाई लक्षित गर्दै रंगशाला बनाउन थालिएको हो। सँगै अन्य केही खेलकुदका पूर्वाधार बनिरहेका छन्।
प्रदेश रंगशालामा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल हुनेछन्। प्रदेशका अरू जिल्लामा सुविधा-सम्पन्न पूर्वाधार नभएकाले धेरैजसो खेल वीरेन्द्रनगरमै खेलाइने छन्। साना संरचनामा खेल्न मिल्नेहरू वीरेन्द्रनगर आसपासका केही क्षेत्रमा खेलाइनेछ। केही खेल लुम्बिनीको बाँकेमा गराउने सम्भावना छ।
'बसाइ व्यवस्थापनका हिसाबले कतिपय खेल माथिल्ला जिल्ला खेलाउँदा सहज हुन्थ्यो भन्ने त हो। तर सडक र खेल पूर्वाधारका हिसाबले सम्भावना देखिँदैन,' कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले भने, 'सबैजसो खेल खेल्न मिल्नेगरि रंगशाला बनिरहेको छ। यसले प्रतियोगितालाई सफल बनाउन मद्दत पुर्याउँछ।'
कर्णाली प्रदेश गौरवको आयोजनाका रूपमा २०७८ मंसिर २० गते शिलान्यास गरिएको रंगशाला भ्याटसहित एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रूपैयाँमा ठेक्का भएको थियो।
२०७८ कात्तिक २७ गते प्रदेश सरकारसँग सम्झौता गरी नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित 'एमएसिजिएसएल जोइन्ट भेन्चर' ले रंगशाला निर्माणको जिम्मा लिएको थियो। २०८१ वैशाख ११ गतेभित्र आयोजना सम्पन्न गर्ने सम्झौता थियो। काम नसकिएपछि असोजसम्म म्याद थपिएको थियो। त्यसपछि फेरि दोस्रोपटक म्याद थप भएको हो।
सञ्ज्यालका अनुसार हालसम्म ९९ यहाँको ९९ प्रतिशत काम सकिएको छ।
'अब खेल खेल्न आवश्यक केही सामग्री जडान गर्नुपर्छ,' उनले भने, 'सानातिना काम मात्र बाँकी हुन्। ठूलो काम भनेको छाना छाउने र एथलेटिक्स ट्र्याक बनाउन काम हो। छानाको काम एक सातामा सकिन्छ। ट्र्याक बनाउन भने केही समय लाग्ला। अब प्रतियोगिता मितिभन्दा अगावै रंगशाला पूर्ण रूपमा तयार हुन्छ।'
एथलेटिक्स ट्र्याक तयार भएपछि मार्किङ गर्न अर्को जनशक्ति बोलाउनुपर्ने भएकाले यही मितिमा सकिन्छ भन्ने चाहिँ यकिन नभएको उनले बताए।
कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले पनि रंगशालाको ९९ प्रतिशत काम सकिएको दाबी गरे।
दुई अंकको स्वर्ण पदक कर्णालीले जित्ने लक्ष्यका साथ प्रदेशका दसवटै जिल्लामा खेल पूर्वाधार मर्मत र नयाँ निर्माणका काम भइरहेको पनि उनले बताए।
'सुर्खेतको प्रदेश रंगशालाबाहेक जिल्लामा पूर्वाधारको काम पूरा भएको छ,' उनले भने, 'प्रदेशभर २४ वटासम्म खेल खेलाउन सकिने गरी पूर्वाधार तयारी अवस्थामा छ।'
परिषदका अनुसार निर्माणाधीन प्रदेश रंगशालामा १२ वटा खेल खेलाउन सकिनेछ। यहाँ दुइटा कभर्डहल, एथलेटिक्स ट्र्याक, फुटबल मैदान, दुइटा आउटडोर भलिबल कोर्ट, बास्केटबल र ह्यान्डबलका लागि कोर्ट, स्विमिङ पुल, सटरसहितको कम्पाउन्ड र पार्किङ छ। यस्तै क्रिकेट मैदान, इन्डोर क्रिकेट हल, कबड्डी, खोखो मैदान छ।
फिफाको मापदण्डअनुसार एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान छ। सो मैदानमा १० हजार दर्शक बस्ने प्याराफिटको छाना लगाइनेछ। मैदानमा पानी परेको खण्डमा २०-२५ मिनेटभित्र सुक्ने गरी अत्याधुनिक प्रविधि जडान गरिएको छ। एक हजार पाँच सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्डहल निर्माणको काम पनि केही समयभित्र सकिने परिषदले जनाएको छ।
रंगशालाभित्र खेलाडीका लागि चेन्जिङ कक्ष, वेटिङ कक्ष, आराम कक्ष, फिजियो कक्ष र मेडिकल कक्ष पनि छ।
एथलेटिक्सका लागि चार सय मिटर ट्र्याक बनाएर आईएएफ मापदण्डबाट प्रमाणित गराइने परिषदले जनाएको छ। जसमा हाइजम्प, लङजम्प लगायत सम्पूर्ण विधाका प्रतियोगिता गर्न सकिनेछ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्लागत रूपमा पनि केही संरचना निर्माण भएको परिषदका उपाध्यक्ष हमालले बताए।
उनका अनुसार हुम्लामा हक्की मैदान, मुगुको रारामा कबड्डी मैदान, सुर्खेतको कालिञ्चोकमा क्रिकेट र रग्बी मैदान, वीरेन्द्रनगरकै चन्द्रगंगा मावि र गुरुङ चोकमा खेलमैदान, जुम्लामा रहेको खेल मैदानको प्याराफिट, सुर्खेतको वीरेन्द्रनगर-५ स्थित चिसापानीमा फुटबल मैदान, कालीकोट, दैलेख र रुकुमपश्चिममा कभर्डहल निर्माण तथा मैदान थालिएको थियो। यीमध्ये अधिकांशको काम सकिएको र केही पूर्वाधारको काम अन्तिम चरणमा रहेको हमालले बताए।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै वीरेन्द्रनगरमा सडक पूर्वाधारको स्तरोन्नति पनि भइरहेको छ। निर्माणाधीन रंगशाला आसपासका सडकलाई फुटपाथसहित चौडा बनाउन थालिएको छ। यीमध्ये पनि अधिकांश काम सकिइसकेका छन्।
सडक पूर्वाधार स्तरोन्नतिका लागि विनियोजित एक करोड रुपैयाँमा रंगशाला आसपासका सडक मर्मत र कालोपत्र गर्ने काम जारी रहेको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताइन्। उनका अनुसार दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरका सडकलाई आगामी चैतसम्म खाल्डारहित बनाउन लागिएको हो।
नगरपालिकाले रंगशालाको दक्षिण र पूर्वपट्टी तीनवटा सडक विस्तार गरी कालोपत्र गर्ने काम जारी राखेको छ।
'हामीले वीरेन्द्रनगरको सडक पूर्वाधारलाई व्यवस्थित, आकर्षक र सफा बनाउने अभियान नै थालेका छौं। दसौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा रंगशाला वरपरका जीर्ण सडक आकर्षक बनिसक्छन्,' मेयर ढकालले भनिन्, 'सडकमा बत्ती जडानदेखि फुटपाथ रंगरोगन गर्ने पनि योजना छ।'