भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ २०७६ वैशाख ३ गते 'ब्रेक थ्रु' भएको थियो। राष्ट्रिय गौरवको यो आयोजना तोकिएकै मितिमा पूरा हुने अपेक्षा गरिएको थियो।
सुर्खेतको भेरीगंगास्थित बबईतर्फको हात्तिखालदेखि भेरीतर्फको चिप्लेसम्मको १२.२ किलोमिटर सुरूङ टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरेर खनिएको थियो। नेपालमा अत्याधुनिक टिबिएम प्रयोग भएको यो नै पहिलो आयोजना हो।
सुरूङ निर्माण गर्ने चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले सम्झौता मिति अगावै काम सकेको थियो। २०७४ कात्तिक २० गतेदेखि सुरूङको काम सुरू गरेको निर्माण कम्पनीसँग २०७६ चैत १५ सम्म काम सक्ने सम्झौता थियो। तर कम्पनीले एक वर्षअघि नै सरकारलाई सुरूङ हस्तान्तरण गरेको थियो।
तर त्यसपछिका अरू प्रमुख संरचना निर्माणमा अपेक्षा अनुसार गति बढेन। सुरूङपछिको महत्त्वपूर्ण संरचना बाँध बनाउने काम अहिलेसम्म आधा पनि भएको छैन। आयोजना अन्तर्गतकै विद्युत उत्पादन गृहका लागि भर्खर जग खन्ने काम सुरू भएको छ।
भेरीको पानी बबई नदीमा खसालेर बर्दिया र बाँके जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिचाइँ उपलब्ध गराउने उद्देश्यका साथ अघि सारिएको यो आयोजनाको काम २०७९ भित्र सक्नुपर्ने थियो। तर अझै कम्तीमा दुई वर्ष लाग्ने अनुमान छ।
आयोजना समयमै पूरा नहुनुमा मुख्य चार कारण छन्।
पहिलो, यो आयोजना निर्माण प्रक्रिया नै ढिलो सुरू भएको थियो। २०७० सालमा सुरू हुनुपर्ने काम विरोधले अघि बढ्न सकेन। २०७२ सालमा बल्ल निर्माण कम्पनीसँगको सम्झौताले अन्तिम रूप लियो। त्यसपछि पनि झन्डै एक वर्ष सुरूङ खन्ने काम सुरू नै भएन।
सुरूङको काम गरेको कोभेकलाई ठेक्का पर्नुअघि अनुभव नभएको कम्पनीलाई जिम्मा दिन लागेको भन्दै विरोध भएपछि समयमै सम्झौता हुन सकेन। यसबीच तीनपटक बोलपत्र आह्वान गरियो। सुरूका दुइटा बोलपत्र स्थगित भए। २०७१ सालमा बोलपत्रमा कोभेक छनौट भयो। अनुभवहीन निर्माण कम्पनी छानेको भन्दै फेरि उजुरी पर्यो।
कोभेकसँग 'टनेल बोरिङ मेसिन' प्रविधिमा काम गरेको अनुभव छैन भन्ने उजुरीकर्ताको दाबी थियो। आयोजना विवादमा तानिएपछि कार्यान्वयनमा अन्योल भयो। अन्तिममा २०७२ सालमा सरकारले कोभेकसँगै सम्झौता गरेको थियो। भनेको बेलामै सुरू भएको भए २०७५ साल मध्यसम्म सुरूङ बनिसक्थ्यो। अनि बाँध निर्माणको ठेक्का हुन्थ्यो।
सुरूङपछि मात्र बाँध बनाउन थाल्नु भेरी-बबई डाइभर्सन आयोजना लम्बिनुका दोस्रो कारण हो।
आयोजनाका लागि निर्माण गरिने सुरूङ सफल हुने वा नहुने भन्ने दुबिधाका कारण सुरूङ 'ब्रेक थ्रु' भइसकेपछि मात्र बाँध निर्माणका लागि ठेक्का भएको थियो।
भेरी-बबई डाइभर्सन आयोजनाका प्रमुख रणबहादुर बमले विविध कारणवश आयोजना लम्बिएको बताए।
'नयाँ प्रविधि भित्र्याइएको र एक ठाउँमा जमिनको सतह कम भएकाले सुरूङ नै सफल हुन्छ कि हुन्न भन्ने भयो,' बमले भने, 'यस्तै विभिन्न कारणले ढिलाइ भएको हो।'
तेस्रो कारण कोरोना महामारी र लकडाउनका कारण काम रोकिनु हो। प्रमुख बमका अनुसार यसले गर्दा आयोजनाको काम करिब दुई वर्षपछि धकेलिएको हो।
कोरोनाअघि बाँध लगायतका काम गर्ने गरी ग्वाङडोङ युयानटियान रमण जेभी र आयोजनाबीच सम्झौता भएको थियो। २०७६ साउन ३० गते चार वर्षभित्र काम सक्ने सम्झौता थियो। तर कोरोनाका कारण निरन्तर काम हुन सकेन र दुईपटक म्याद थप भयो। पछिल्लो पटक थपिएको म्याद अनुसार २०८२ असोज १ गतेभित्र काम पूरा गर्ने उल्लेख छ।
आयोजना लम्बिनुको चौथो कारण यसमा काम गरिरहेको विदेशी कम्पनी कालोसूचीमा पर्नु हो। केही वर्ष अघिसम्म भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा परामर्शदाताका रूपमा काम गरिरहेको इरानी कम्पनी कालोसूचीमा पर्दा आयोजनाले सम्झौता रद्द गर्नुपरेको थियो। यो कम्पनीले आयोजनासँग तीन वर्ष काम गरेको थियो।
२०७६ असोजमा इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनियरिङ (एमजिसिई) सँगको सम्झौता २०७९ माघमा रद्द भएको थियो। तत्कालीन समयमा अमेरिकाले इरानलाई आतंकवादको सूचीमा राख्दै आफ्नो कोष विभाग अन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालय मार्फत् एमजिसिईलाई कालोसूचीमा राख्यो। सो कम्पनीको खाता कुनै पनि बैंकले नखोलिदिएपछि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आयोजनाले सम्झौता रद्द गरेको थियो।
यसले गर्दा आयोजनाको काम एक वर्षपछि धकेलिएको प्रमुख बमले बताए।
'कम्पनी मार्फत् काम गरिरहेका कर्मचारीलाई तलब खुवाउनै नमिल्ने अवस्था आयो। यसले पनि आयोजनाको कामलाई निरन्तरता दिने कुरामा प्रभाव पार्यो,' उनले भने, 'यो विषयले आयोजनालाई करिब एक वर्ष पछि धकेलेको देखिन्छ।'
३३ अर्ब १९ करोड ६६ लाख रूपैयाँ लागत अनुमानको यो आयोजनाको काम समग्रमा ६५.९ प्रतिशत पूरा भएको प्रमुख बमले जानकारी दिए।
उनका अनुसार बाँधतर्फ बनाउनुपर्ने ६ वटा ढोकामध्ये दुइको काम अन्तिम चरणमा पुगेको छ।
'यी दुइटा ढोका बनेपछि पानी ढल्काएर अरू चारवटा ढोका बनाउने काम सुरू गर्छौं,' उनले भने।
बाँध र विद्युत गृह निर्माण क्षेत्रका केही काम अहिले पनि ग्वाङडोङ युयानटीयान रमण जेभीले गरिरहेको छ। इरानी कम्पनीसँगको सम्झौता रद्दपछि नेपाल विद्युत प्राधिकरणको 'एनइए इञ्जिनियरिङ' ले परामर्शदाताका रूपमा काम गरिरहेको छ।
चिप्लेमा बाँधको कामबाहेक बबईतर्फको हात्तिखालमा विद्युत गृह बनाउन सुरू भएको छ। पुस पहिलो साताभित्र विद्युत गृहको जग खनेर सकिने आयोजना प्रमुख बमले बताए। विद्युत गृहका लागि आवश्यक पाइप बिछ्याउन ब्लक खन्न थालिएको छ। यो वर्षभित्र पाइप जोडेर सक्ने उनले बताए।
विद्युत गृह निर्माणका लागि ग्वाङडोङसँगै अरू दुइटा चिनियाँ कम्पनीले काम गरिरहेका छन्। भौतिक संरचनाको काम ग्वाङडोङले र बाँकी उत्पादनसम्मका काम अरू कम्पनीले गर्ने प्रमुख बमले जानकारी दिए।
भेरी नदीबाट सुरूङमार्फत बबई नदीमा खसालिने पानी उपयोग गरेर बबई नदी छेउमा विद्युत उत्पादन गरिनेछ। यसबाट बाह्रै महिना ४६.८ मेगावाट विद्युत उत्पादन हुन्छ। विद्युत गृहमा तीनवटा टबाईन जडान गरिनेछ। एउटा बिग्रिए अर्को सञ्चालन हुने गरी डिजाइन गरिएको पनि उनले जानकारी दिए।
'हालसम्म समग्र आयोजनाको काम ६५ प्रतिशत सकिएको छ। अबको दुई वर्षमा सक्काउने योजना छ,' प्रमुख बमले भने, 'विद्युत पनि उत्पादन गरी राष्ट्रिय ग्रिडमा पठाउने योजना छ।'
यहाँबाट उत्पादन हुने ४६.८ मेघावाट विद्युत वार्षिक ४०० गिगावाट आवरका दरले प्रसारण हुनेगरी कोहलपुर-सुर्खेत १३३ केभिए प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा पठाइनेछ। कोहलपुर-सुर्खेत प्रसारण लाइन आयोजनले पनि डाइभर्सन आयोजनाबाट उत्पादित विद्युत लक्षित गरी डबल सर्किट प्रसारण लाइन बनाइरहेको छ।
आयोजनाको अर्को भाग 'भेरी करिडोर विकास आयोजना' अन्तर्गत भूमिगत सिँचाइ निर्माण, सिँचाइ कुलो निर्माण, प्रभावित स्थानीय बासिन्दाको पुनःस्थापना, तटबन्धन लगायत काम गरिनेछ।