नेपाली युवाले बनाए ‘परी’


दरबारमार्गस्थित नेपाल एसबीआई बैंकले भर्खरै खोलेको इनटच् काउण्टरको गेट भित्र पस्दा पछाडिबाट कोही महिला आवाजले बोलाएको आभास भयो।

फर्केर हेर्दा उनले आफ्नो परिचय दिदैँ भनिन्, ‘हाई, आई एम परी, वाट् डु यु वान्ट् टु डु टुडे?’

प्रश्नकर्ताको शरीरको बनोट कुनै नारीकोझैं भए पनि उनी कुनै महिला भने थिइनन्। त्यो त एक रोबर्ट थियो, जसको नाम राखिएको थियो ‘परी’।
नेपालका बैंक, मल, होटलजस्ता कुनै पनि स्थानमा यसअघि कतै नदेखिएको नौलौ मेसिनले त्यस किसिमको सहयोग गर्न खोज्दा जो कसैलाई अचम्म लाग्न सक्छ।

बैंकको वरिपरि हेर्दा पाँच जनाको एक हुल युवाहरु बसिरहेका थिए जो ‘परी’ को निर्माता रहेछन्।

पुलचोक क्याम्पसबाट इलेक्ट्रोनिक्स कम्युनिकेसनमा ग्रयाजुएसन सकाएका पाँच जना युवाहरु भैरहवाका वसिम अक्रम खान, चितवनका दिपकमल भुसाल, गोरखाका सागर श्रेष्ठ, काठमाडौंका निरज बस्नेत, र रबिन गिरी तथा लण्डनबाट एमबीए सकाएर स्वदेश फर्किएका विनय राउत र काठमाडौं विश्वविद्यालयका अनिश श्रेष्ठको समूह मिलेर खोलेको कम्पनी ‘पाइला टेक्नोलोजी’मा आबद्ध यी छ जनाले परीको निर्माण गरेका हुन्।

परीमा आवाज भरेकी हुन्, उनीहरुकै सहपाठी जोत्सना मरासिनीले।

के काम गर्छे त परीले?
निर्माता समूह मध्येका सागर श्रेष्ठका अनुसार परीले नेपाल एसबीआई बैंकको उक्त शाखामा आउने ग्रााहकको स्वागत गर्नुको साथै कुन प्रयोजनका निम्ति बैंक आउनु भएको भनी प्रश्न गर्छे।

त्यसपछि ग्राहकको सम्भावित प्रयोजनहरु सो रोर्बट अर्थात परीमा जडान गरिएको एउटा सानो डिस्प्लेमा देखापर्छ। सो डिस्प्लेमा ग्राहकले इच्छाएको प्रयोजनको अप्सनमा टच गरेमा परीले त्यसका लागि के गर्ने भनी श्रव्य तथा दृश्य दुवै माध्यमबाट जानकारी दिन्छे।

ग्राहकहरुले कस्तो बैंकिङ कार्य गर्न खोजेका हुन्, त्यसैअनुरुप सो कार्य शाखामा रहेको कुन मेसिनबाट हुन्छ भन्ने जानकारी परीले प्रदान गर्छे।
त्यस्तै, परीले कार्य सकेर फर्केका ग्राहकलाई धन्यवाद समेत दिने गरेको गर्छे।

श्रेष्ठले रोबर्ट तयार पार्ने गृहकार्य गर्दा मानव आकृतिको रुप दिन धेरैचोटी कागजी स्केच तयार गरेका थिए। त्यसक्रममा माटोको सहायताले विभिन्न डिजाइनमा ढालिएको र अन्ततः आजको परीको बनोट तयार भएको सुनाए।

परीले सहजरुपमा काम गर्नका लागि स्क्रिनलाई निर्देश गर्न दुई कम्युटरहरुको प्रयोग गरिएको छ। हात र टाउकोमा जडान गरिएको मोटरलाई चलायमान गराउन र त्यसपश्चात कमाण्ड गर्न माइक्रो कन्ट्रोलर समावेश गरिएको छ।

परीको टाउको दुई डिग्री र हात भने एक डिग्री यताउती चल्न सक्छ। उसमा एउटा सेन्सर जडान गरिएको छ जसले कोही व्यक्ति ऊ अगाडि आएको बोध गराउँछ। त्यसलाई ‘डोर सेन्सर’ र ‘मोसन सेन्सरले’ सघाउँछन्।

परीको उचाई ३.५ फिट तथा वजन ८.२ केजी छ। शरीरलाई एसबीआई बैंकले प्रयोग गर्ने गाढा सेतो र निलो रङले रोगन गरिएको छ।
विद्युतबाट चल्ने परीको हात तथा पछाडिको भागमा यसका निर्माताहरुको संस्था पाइला टेक्नोलोजीको नाम छ। भने छातीको भागमा सानो गोलाकार भित्र नेपाल लेखिएको छ।

परी नाम नै किन राखिएको हो भन्ने बारेमा प्रस्ट पार्दै उनले भने, ‘संसारमा प्रायः रोबर्टको बनोट पुरुषको शरिरका आधारमा बनाइएका छन्। यसको विरोधको सांकेतिक रुप तथा नेपाली समाजमा परी नाम हरेक युवाको कल्पनाको संसारमा सजाएको सुन्दर युवतीको रुप हो। त्यसैले हामीले तयार पार्नुभन्दा पूर्वकल्पना गरेको त्यो सुन्दर रोर्बटलाई हामीले पनि परी नाम दिएका हौँ।’

उनले ‘परी’ देशकै पहिलो व्यवसायिक प्रयोजनका निम्ति बनेको रोर्बट भएको दाबी गरे।

कसरी बन्यो रोर्बट ?
सूमहका अर्का सदस्य रबिन गिरीले रोर्बट निर्माण गर्ने कार्यमा लाग्नु पछाडिको आफ्नो अनुभव सुनाउँदै भने, ‘विगतमा क्याम्पसमा विभिन्न समयमा आयोजना हुने प्रदर्शनीहरुमा हामीले सफ्टवेयरहरु, म्याप रिड गर्ने ह्विल चेयर, वस्तु चिन्न सक्ने तथा मान्छेको भाषा छुट्याउन सक्ने रोबर्ट बनाएका थियौँ’, उनले भने, ‘त्यतिमात्र नभएर साउथ एसियन प्यासिफिक क्षेत्रभित्र पर्ने राष्ट्रहरुका इन्जिनियरिङ विद्यार्थीहरुबीच हरेक वर्ष हुने रोबोटिक्स प्रतिस्पर्धामा भाग लिएर केही अवार्ड समेत जितेका थियौँ। यसले आफूहरुलाई रोबटको क्षेत्रमा केही काम गर्न सक्छौँ भन्ने दृढ विश्वास थियो।’

‘यसै क्रममा गत बैशाखमा भृकुटीमण्डपमा आयोजना भएको एक मेलामा उनीहरुले बनाएको ट्यांकी खाली नहुँदै मोटर आफैं चलाइदिने तथा पानी भरिएपछि मोटर आफैं बन्द हुने, ‘अटोमेटिक धारा’ र उद्योगहरुमा प्रयोग हुने सबैखाले मोटरहरुको स्पिड नियन्त्रण गर्ने ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ’ (भिएफडी) प्रदशनीमा राख्यौँ।’

‘त्यसै मेलामा एसबीआई बैंकका कर्मचारीसँग भेट भएको तथा विगतको अनुभव र पछिल्लो कार्यबाट हामीले केहि गर्न सक्छौँ भन्ने भरोसाका साथ बैंकले सो रोर्बट बनाउने प्रस्ताव गरेको थियो’, गिरीले भने।

सोही प्रस्ताव अनुरुप रोबर्ट तयार गरेको गिरीको प्रतिक्रिया छ।

विश्वले रोबर्टको विकासमा छलाङ मारिसक्दा पनि हामी जहाँको त्यहीँ रहेको भन्दै आफूहरुले सिकेको ज्ञान र जुटाएको अनुभव रोबर्टको निर्माणमा प्रयोग गर्दै जाने योजनाको सुरुवात ‘परी’ भएको जिकिर गरे।

उनले भने, ‘परी हामी स्वयं रोर्बट बनाउन सक्छौं भनेर प्रमाणको डेमो मात्र हो। यो आरम्भ मात्र हो। गर्न सकिने अझ धेरै कुरा त बाँकी नै छ।’
उनीहरुको सोच अनुसार काम भए विश्वस्तरको अर्को रोबर्ट अबको आठ महिनाभित्र तयार हुनेछ जसमा स्वचालित प्रविधि जडान गरिएको हुन्छ।

यसरी बन्ने रोबर्टले प्रश्नकर्ताको भाषा बुझ्नुकासाथै उसले गर्न चाहेको कार्यलाई श्रव्य माध्यमबाट समेत मागदर्शन गर्नेछ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’को माध्यमबाट त्यस रोर्बटले आफूभन्दा कुन वस्तु वा व्यक्ति कति दुरीको अन्तरमा छ भनेर छुट्याउनुका साथै त्यसबाट छलिएर समेत हिँड्न सक्नेछ। सो रोबर्ट मल, बैंक, रेष्टुरेन्टमा प्रयोग गर्न सकिने उनले जनाए।

गिरीले हरेक विद्यार्थीले आफूले सिकेको ज्ञान कुनै न कुनै माध्यमबाट देशको उन्नतिमा खर्च गर्नुपर्ने भन्दै आफूहरुले पनि आर्जेको सीपबाट प्रविधिको विकासमा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्नेमा तल्लिन रहेको दाबी गरे।

उनले आफूहरु कसैको मुख ताकेर नबस्ने बरु उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने पक्षमा रहेको जिकिर गरे।
‘हामी सबैमा सरकारले यसो गर्देन भन्ने गुनासोले डेरा जमाएका छ, तर हामीले देशका लागि के गर्‍यौं त भन्ने कहिले सोचेका छौँ?’ उनले प्रश्न गरे।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.