एनसेलले १५ सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउदैँ

एनसेलले १५ सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउदैँ


निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अबको सात महिना भित्रमा देशको १५ प्रतिशत जनसंख्यालाई फोरजी सेवामा पहुँच दिने जनाएको छ । कम्पनीले सरकारबाट चौथो पुस्ताको फोरजी सेवा संचालनका लागि अनुमति पाएपछि आक्रामकरुपमा सेवा विस्तारको योजना सार्वजनिक गर्दै सो कुरा बताएको हो ।

सात महिना भित्र अर्थात २०१७ को अन्त्य सम्ममा देशका १५ प्रमुख सहरहरुमा फोरजीे सेवा संचालनमा ल्याउने एनसेलले जनाएको छ । कम्पनीका अनुसार, २०१८ भित्र ४० सहरहरुमा सेवा विस्तारका लागि टेस्ट लगायत अन्य आन्तरिक आवश्यक कामहरु भईरहेको छ । प्रविधि तटस्थता अन्र्तगत रहेर संचालनमा ल्याइएको फोरजी सेवामा उपभोक्ताले उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा लिन सक्छन् ।

पहिलो चरण अन्र्तगत एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुरु गरिसकेको छ र असार १७ गतेबाट पोखरामा यो सेवा संचालनमा ल्याउने जनाएको छ । फोरजी सेवाबाट ग्राहकले तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न, अनलाईन खेलहरु खेल्न लगायतका कामहरु गर्न सक्नेछन् ।

यद्यपि हाल फोरजी सेवा प्रदान गरिरेहका दुवै सेवा प्रदायकहरु एनसेल र नेपाल टेलिकमकोे डाटा सेवाकाे गति भने अन्य देशको फोरजी सेवाको गतिको आधारमा कम रहेको छ । यस कारण कम्पनीहरुले थोरै फ्रिक्वेन्सीमा सेवा प्रवाह गर्नु रहेको नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु बताउछन् ।

अहिले दुवै कम्पनीले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अन्र्तगत ५÷५ मेगाहर्ज फ्रिक्वेन्सीबाट मात्र फोरजी चलाई रहेका छन् । १८०० मेगाहर्ज ब्याण्डमा टेलिकमले १५ मेगाहर्ज र एनसेलले ११ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

प्राधिकरणले देशका सबै जिल्ला सदरमुकाम जोड्नका निमित्त अप्टिकल फाइबर प्रोजेक्ट लागू गरिरेहको छ । यस अनुसार आगामी आर्थिक वर्षको बजेटले दुई वर्षभित्र ब्रोडव्याण्ड सेवा विस्तारका लागि सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा अप्टिकल फाइबरले जोड्ने घोषणा गरेको छ र वडास्तर सम्म ब्रोडव्याण्ड सेवा विस्तार गरिने बताएको छ । त्यस्तै ब्रोडव्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.