वेब समिट कतार २०२६मा नेपाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी टिङ-टिङले उपस्थिति जनाएको छ।
कतारको दोहामा गत फेब्रुअरी ४ मा सम्पन्न भएको चार दिने उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने टिङ-टिङ एकमात्र स्टार्टअप कम्पनी बनेको हो।
विश्वभरका प्रविधि विशेषज्ञ, लगानीकर्ता र नवप्रवर्तनकारी कम्पनीहरू सहभागी समिटमा १२० देशका १,६०० भन्दा बढी स्टार्टअपहरू सहभागी थिए।
नेपालमै निर्मित आफ्नै 'रिरी' इन्जिन र स्थानीय भाषालाई सूक्ष्म रूपमा बुझ्ने अत्याधुनिक प्रणालीका कारण कम्पनीले विश्व मञ्चमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो।
सम्मेलनमा टिङ-टिङकी डाइरेक्टर अफ इन्जिनियरिङ, एन्जेलिका साहले कम्पनीको तर्फबाट प्रस्तुति दिएकी थिइन्।
‘हामी नेपालमा निर्मित, विश्वका लागि भन्ने मूल मन्त्रका साथ अघि बढेका छौं। नेपालका ठूला बैंक, इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरूको सञ्चार प्रणालीमा सफलतापूर्वक प्रयोग भई 'ब्याटल टेस्टेड' भइसकेको हाम्रो प्रविधिले अब विश्व बजारमा पनि ठूला समस्याहरू समाधान गर्न सक्छ,’ उनले भनेकी थिइन्।
टिङ टिङ एउटा एआई-पावर बिजनेस कम्युनिकेसन सुइट हो। यसले संस्थाहरूलाई ठूलो परिमाणमा सञ्चार र बुझाइ निर्माण गर्न सघाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले भ्वाइस, टेक्स्ट, टेलिफोन वा सामाजिक सञ्जाल जस्ता सबै सञ्चार माध्यमलाई एउटै इन्टेलिजेन्ट प्रणालीमा एकीकृत गर्छ।