नेपाल टेलिकमका एनटी फाइबर प्रविधिअन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डेटा सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्।
टेलिकमले सोमबार (मंसिर २५) देखि लागू हुनेगरी एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबिपिएस स्पिडको डेटा सेवा उपलब्ध गराउने भएको छ।
यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरी अनुरोध गर्न सकिनेछ ।
त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत् पनि यो सुविधा लिन सकिने टेलिकमको भनाइ छ। एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ।
एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सक्ने टेलिकमको भनाइ छ।