‘फेज आउट’ हुने भनिएको एडिएसएलमा ग्राहक थपिँदै


नेपाल टेलिकमको ‘फेज आउट’ हुने भनिएको एडिएसएल प्रविधिमा ग्राहकको आकर्षण भने बढेको छ।

साउनदेखि कात्तिकसम्मको चार महिने अवधिमा मात्र टेलिकमका १० हजार एडिएसएल ग्राहक थपिएका छन्।

दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्ट अनुसार गत असार मसान्तसम्म एडिएसएलका ग्राहक १ लाख ८१ हजार ५ सय ८२ थिए। तर कात्तिक मसान्तसम्म सो संख्या १ लाख ९१ हजार ५ सय ८५ पुगेको छ।

नेपाल टेलिकमले गत साउन १६ गतेदेखि ‘अनलिमिटेड एडिएसएल प्याकेज’ अन्तर्गत १ हजार रुपैयाँमा १ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउन थालेको थियो। त्यसअघि करसहित न्यूनतम १ हजार १७ रुपैयाँमा २५६ केबीपीएस गतिको एडिएसएल उपलब्ध थियो।

साथै भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको थियो। पहिले २१ जीबी डाटाको लागि एक हजार ९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटालाई तीन सय रुपैंयाँमा उपलब्ध हुने बनाइएको छ।

त्यसैगरी २५ जीबी डाटाको पाँच सय तथा ४० जीबीको सात सय तोकिएको छ। यी डाटाको गति पनि १ एमबीपीएस सम्म छ।

एडीएसएलका ग्राहकको संख्या साउन मसान्तसम्म १ लाख ८५ हजार ४० र भदौ मसान्तसम्म १ लाख ८५ हजार १ सय ४६ पुगेको थियो। यो संख्या असोज मसान्तमा १ लाख ८९ हजार ६२ पुगेको थियो। हाल ६ लाख ७९ हजार ५ सय ८९ ल्यान्डलाइन टेलिफोन वितरण भएका छन्।

ल्यान्डलाइन टेलिफोनमा पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपीमा आधारित उपकरणबाट प्रतिस्थापन गरिएपछि सबै लाइनमार्फत एडीएसएल उपलब्ध गराउन सम्भव भएको छ। ग्राहकको यो सेवाप्रतिको आकर्षण बढेको पाइएको छ।

गत २०७४ असार २३ गते ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जबाट सो कार्यको प्रारम्भ गरिएको थियो। पहिले आवश्यक पोर्ट नहुँदा सबै लाइनमा एडिएसएल दिन नसकिने सम्भावना पनि हुन्थ्यो। तर अब नयाँ प्रविधिमार्फत प्रतिस्थापन गरिएकाले विभिन्न एक्सचेन्जहरुबाट ग्राहकको माग अनुसार एडिएसएल लाइन उपलब्ध गराउन समेत सम्भव भएको छ।

यी सबैका कारण एडिएसएल प्रति ग्राहकको आकर्षण बढिरहेको छ। यद्यपि सडक विस्तारका क्रममा नेपाल टेलिकमका विभिन्न संरचनामा पुगेको क्षतिका कारण ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न र मर्मत सम्भार कार्यमा बाधा पुगेको छ।

घरमा नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन छ भने एडिएसएल इन्टरनेट प्रयोग गर्न सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.