वैदेशिक रोजगारमा गएकाले पुनः श्रम स्विकृति विदेशबाटै पाउने

वैदेशिक रोजगारमा गएकाले पुनः श्रम स्विकृति विदेशबाटै पाउने


श्रम तथा रोजगार मन्त्रालयले विदेशमा कार्यरत नेपाली कामदारहरुले विदेशस्थित नेपाली नियोगबाटै पुनः श्रम स्विकृति लिन सक्नेसहितको व्यवस्था गर्न वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको हो । श्रम मन्त्री फरमूल्लाह मन्सुरले वैदेशिक रोजगारमा देखिएका समस्या न्यूनकरण गर्दै लैजाने नीति अनुसार वैदेशिक रोजगार ऐन २०६४ को संशोधन प्रक्रिया यथाशक्य छिटो अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी मन्त्रालयका १३ बँुदे आगामी कार्यभार मध्ये वैदेशिक रोजगार ऐन मुख्य कार्यभार भएको पनि स्पष्ट पारे। मन्त्री मन्सुरले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन विद्युतीय संचार क्षेत्रको प्रभावकारिता बढाउने पनि उल्लेख गरे।

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक कामदारको आम्दानीलाई उत्पादनमूलक काममा लगाउने गरी अनिवार्य बैंक खाताको व्यवस्था गर्ने योजना समेत बनाएको छ । त्यसै गरी वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन योगदान गर्ने संचारकर्मीहरुलाई आगामी आर्थिक वर्षबाट पुरस्कार गर्ने व्यवस्था पनि गरिएको छ । सरकारले बैदेशिक रोजगारबाट फर्केर नेपालमा उद्योग संचालन गरेकाहरुलाई सम्मान गर्दै लैजाने नीति पनि अख्तियार गरेको छ ।

सरकारले औद्योगिक श्रमिकलाई लक्षित गरी श्रमिक अस्पतालको निर्माण गर्ने योजना पनि बनाएको छ । मन्त्री मन्सुरले सामाजिक सुरक्षा कोष विधेयक र श्रम विधेयक छिटो पारित गर्ने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.