नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले यो आर्थिक वर्षमा पनि परम्परागत ढंगकै बजेट आउने आशंका व्यक्त गरेकी छन्।
शनिबार दाङमा तुलसीपुर उद्योग वाणिज्य संघको ३० औं साधारण सभालाई सम्बोधन गर्दै राणाले मुलुकको संमृद्धिका लागि बजेटमा ठूला आयोजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा दलका नेताहरुले कार्यकर्ताका माग पुरा गर्न साना साना योजनाहरुमा छरेर बजेट आउसक्ने बताएकी हुन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा अपेक्षाकृत रुपमा आशा जगाउन नसकेको उनले बताइन्।
‘दुई ठूला दलहरु मिलेर बनाएको सरकारबाट जुन अपेक्षा थियो त्यो अनुसार अर्थतन्त्रको विकास हुन सकेको देखिएन,’ उनले भनिन्, ‘नेताहरु कुर्सी बचाउने खेलामा लाग्दा अपेक्षा अनुसार आर्थिक विकास हुन सकेन।'
देशको उत्पादन घटेको र बजार साँघुरिँदै गएको हुँदा यही स्थिति कायमै रहे विश्व बैंकले प्रक्षेपण गरेको ४.२ प्रतिशत आर्थिक बृद्धिदर पूरा हुन्छ भन्नेमा संशय पैदा भएको उनले बताइन्।
आर्थिक समृद्धिका लागि कृषी , पर्यटन, उद्योगका साथै पछिल्लो समय विकसित भएको आइटी क्षेत्रको विकासमा बजेटले दिनुपर्ने जति महत्व दिन नसकेको उनले बताइन्।
आइटीको राम्रो सम्भावना देखिएकाले प्रत्येक प्रदेशमा आइटी सम्बन्धी विश्वविद्यालय खोल्नका लागि राज्यले बजेटमा व्यवस्था गर्नुपर्ने उनले सुझाइन्। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि राज्यका आफ्नै ध्वजाबाहक विमान नहुँदा पर्यटन पर्बद्धनका साथै विदेशबाट हुने उडानहरुमा घाटा ब्यहोर्दै आएको बताइन्।
विदेशी विमान अवतरण हुँदा लाग्ने कर मात्रै असुलेर राज्य समृद्ध हुन नसक्ने बताउँदै उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि राज्यले आफ्नै ध्वजाबाहक विमान खरिदमा ध्यान दिनु पर्नेमा त्यस्तो हुन नसकेको बताइन्।
‘देशले तत्काले ८/९ वटा ध्वजाबाहक विमान किन्न आवश्यक छ,’ उनले भनिन् ‘ आफ्नै ध्वजाबाहक विमान नहुँदा दिल्लीबाट आउँदामात्रै असी हजारसम्म भाडा तिर्नु पर्ने बाध्यता छ । यसरी देश कसरी उँभो लाग्छ।’
मुलुकको समृद्धिका लागि युवा पलायन रोक्न आवश्यक रहेको पनि उनले बताइन्।
मुलुकको आफ्नै उत्पादन खस्किएको हुँदा त्यसको प्रबर्द्धनका लागि सल्यान, रोल्पा, रकुम जस्ता ठाउँहरुमा पाइन टिमुर, अदुवा, सुन्तला जस्ता फलफूलहरुको प्रशोधन गरी विदेश पठाउन बजेट बोल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताइन्।
‘कुनै पनि ठाउँको विशेष कृषी उप्पादनलाई प्रोत्साहन गर्न राज्यले स्थानीय किसानलाई अनुदान दिनु पर्ने हो,’ उनले भनिन् ‘ यो पालिको बजेट पनि त्यस्तो आशा जगाउने खालको आउने सम्भावन देखिएन।’
त्यस्तै उनले राष्ट्रको संमृद्धिको आधार महिला उद्यमशीलतामा जोड दिन जरुरी रहे पनि त्यो अनुसार हुन नसकेको बताइन्।
‘महिला उद्यमशीलताले समृद्धि मात्रै हैन महिला सशक्तिकरणमा पनि महत्वपूर्ण टेवा पुग्छ,’ उनले भनिन्, 'व्यापार , घर गृहस्थी र पशु चौपायालाई हेरचाह गर्ने महिला दिदी बहिनीहरु घरमै हुनुहुन्छ र तपाँइहरु ढुक्क हुनुहुन्छ । त्यही अनुरुप राज्यले महिला सशक्तिकरणमा बजेट छुट्याउन जरुरी छ।’
निजी क्षेत्रले पर्यटन विकास, आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको भए पनि इतिहासमै व्यवसायी अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले राज्यले व्यवसायीलाई उत्साही बनाउने बजेट ल्याउन सक्नुपर्ने बताइन्।
५० प्रतिशत उत्पादन घटेको, युवा पलायन नरोकिएको र त्यसले उपभोक्ता घटेको, त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी संख्या घटेको हुँदा युवा पलायन रोक्न राज्यले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने उनले बताएकी छन्।
तुलसीपुर उद्योग वाणिज्य संघं साधारण सभाका बक्ताहरुलाई के बिषयमा बोल्ने भनेर पहिलै शिर्षक र समय निर्धारण गरेको थियो।
निजी क्षेत्र र स्थानीय सरकार बीचको सम्बन्ध नङ र मासुको सम्बन्ध कायम नहुँदासम्म कुनैपनि ठाउँको विकास तथा समृद्धि सम्भव हुन नसक्ने तुलसीपुर उपमहागनरका मेयर टीकाराम खड्काले बताए।
निजी क्षेत्र नागरिक सरकार भएको भन्दै उनले पर्यटन, यातायात, ढल, सरसफाइ, पुल निर्माणमा स्थानीय सरकार र निजी क्षेत्रका बीचमा साझेदार हुन जरुरी रहेको बताए ।
निजी क्षेत्र राज्यको मेरुदण्ड रहेको हुँदा स्थानीय सरकार निजी क्षेत्र संग पब्लिक पाटनरसिप मोडलमा काम गर्न लालायित रहेको उनको भनाइ थियो।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको बताए।
‘नीति तथा कार्यक्रम खुट्टी हेरि पत्याए भन्ने ढंगले प्रस्तुत भएको छ,’ उनले भने ‘ कोराना पछि घटेको ब्यापार उकास्न राहात लगाएका व्यवस्था हुनु पर्नेमा त्यस्तो कुनै व्यवस्था नगर्नुले आउने बजेटबाट कुनै उत्साह जगाउला भन्ने छैन।’
व्यवसायीहरूका लागि इतिहासकै कठिन काल अहिले आफूले देखेको, साना र मझौला व्यवसायीको अवस्था दयनीय भएको समयमा त्यो उकास्नका लागि बैंकको तरलतालाई लगानीमा लैजानु पर्नेमा नीति तथा कार्यक्रममा त्यस्को कुनै व्यवस्था नगरिएको भन्दै आलोचना गरेका थिए।
‘ निजी क्षेत्रलाई चलायमान बनाउने बजेट आएन,’ उनले भने ‘यसले ठूलो लगानी विदेशीले जोखिम बढाएको छ।’
अरब लगायतका देशको घर जग्गा कारोबारमा नेपालीको अर्बौं रकम लागनी रहेको र त्यो क्रम झनै बढेर जाने सम्भावना रहेको हुँदा राज्यले त्यो रोक्न बजेटमा सम्बोधन हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए।
नेपालको अर्थतन्त्र निरन्तर ओरालो लागेको भन्दै कर्णिकारले त्यो नियन्त्रणका लागि राज्यले समयै प्रयास नथाले भयावह अवस्था आउन सक्ने बताए।
शेयर मार्केट ओरालो लाग्दै गएको र कमर्सियल बैंकहरु पनि यस्तै अवस्था कायमै रहे डुब्न सक्ने खतरा रहेको हुँदा त्यो रोक्नेगरी बजेट आउन नसकेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भ्यूजका लागि सामाजिक सञ्जालमा बिज्ञापन दिने वा गर्ने कुरा बढेको हुँदा त्यो तत्काल रोक्न राज्यले ध्यान दिनुपर्ने बताए । त्यसले मेन स्ट्रिम मिडिया मारमा परेको उनले बताए।
कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कुष्णप्रशाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी , शाखाका पूर्वअध्यक्ष दुर्गालाल केसी लगाएतले सम्बोधन गरेका थिए।
कार्यक्रममा पत्रकारका साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने राप्ती बबई सामुदायिक क्याम्पसका विभिन्न विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो।