चालु आर्थिक वर्ष २०८१/८२ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृतिमा उल्लेख्य वृद्धि देखिएको छ।
उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा मात्रै झन्डै ५८ अर्ब रूपैयाँ बराबरको एफडिआई स्वीकृति दिइएको छ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा यो रकम करिब २८ अर्ब रूपैयाँले बढी हो। गत वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख रूपैयाँ बराबरको एफडिआई स्वीकृत भएको थियो।
उद्योग विभागका अनुसार चैत मसान्तसम्म एफडिआईमध्ये ५५ अर्ब ७ करोड रूपैयाँ अप्रुभल रुटमार्फत र २ अर्ब ८९ करोड रूपैयाँ अटोमेटिक रुटमार्फत स्वीकृत भएको हो।
त्यसमध्ये मात्र चैत महिनामा १३ अर्ब १७ करोड रूपैयाँ बराबरको एफडिआई स्वीकृत भएको छ, जुन गत वर्ष चैतको ९६ करोड रूपैयाँको तुलनामा झन्डै १४ गुणा बढी हो।
चालु वर्षको ९ महिनामा ४८० वटा उद्योग दर्ता भएका छन्। यसमध्ये चैत महिनामा मात्रै ५३ वटा उद्योग थपिएका छन्।
स्वीकृत एफडिआईको प्रवृत्ति हेर्दा लगानी साना उद्योगमा बढी केन्द्रित देखिन्छ।
चैत मसान्तसम्म दर्ता भएका कुल उद्योगमध्ये ४६८ साना प्रकृतिका छन्। मध्यमस्तरका उद्योग ८ र ठूला उद्योग केबल ४ मात्रै दर्ता भएका छन्।
विशेषतः चैत महिनामा दर्ता भएका सबै उद्योग साना छन्।
एफडिआई पाउने उद्योगमध्ये पर्यटन र सूचना प्रविधि क्षेत्र प्रमुख छन्।
पर्यटनसँग सम्बन्धित १८९ र आइटीसँग सम्बन्धित १८५ उद्योग दर्ता भएका छन्। सेवा क्षेत्रमा ६३ र उत्पादन क्षेत्रमा ३४ उद्योग दर्ता भएका छन्। कृषिमा ७, ऊर्जा र पूर्वाधारमा एक–एक उद्योग दर्ता भएको छ।
एफडिआई रकमको दृष्टिले सेवा क्षेत्र सबैभन्दा अगाडि छ। सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा १८ अर्ब ३८ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
यद्यपि आइटी क्षेत्रमा उद्योगको संख्या बढी भए पनि लगानीको प्रतिबद्धता भने केबल १ अर्ब ११ करोड रूपैयाँमा सीमित देखिएको छ।