नेपालमा शंकास्पद कारोबारको दर्ता बढेको छ। वित्तीय जानकारी इकाइको २०८०/८१ को प्रतिवेदनले यस्तो देखाएको हो।
बैंक, सहकारी, सेयर ब्रोकर लगायत सूचक संस्थाहरूले शंकास्पद कारोबारहरू वित्तीय जानकारी इकाइमा सम्प्रेषण गर्छन्।
यस वर्ष ती संस्थाहरूले ७ हजार ३३३ वटा शंकास्पद कारोबार दर्ता गराएका छन्। आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या पाँच हजार ९३५ थियो।
सूचक संस्थाहरूले सम्प्रेषण गरेका शंकास्पद कारोबारमध्ये एक हजार ६३२ वटाको विश्लेषण भएको थियो। यसमध्ये ८ सय ८९ वटा कारोबार थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा पठाइएको छ। सात सय ४६ वटा कारोबारमा भने थप जानकारी आएमा भविष्यमा पुनः विश्लेषणका लागि अभिलेख राखिएको छ।
थप अनुसन्धानका लागि पठाइएका ८ सय ८९ वटा कारोबारमध्ये नेपाल प्रहरीमा ६ सय १५ वटा पठाइएका छन्। त्यस्तै राजस्व अनुसन्धान विभागमा एक सय ९७ वटा र सम्पत्ति शुद्धीकरण विभागमा ६० वटा कारोबारको विवरण पठाइएको छ।
बाँकी अन्य कारोबारको जानकारी सम्बन्धित विभिन्न निकायमा पठाइएको छ।
बैंक, सहकारी, सेयर ब्रोकर लगायतका सूचक संस्थाहरूले शंकास्पद कारोबार बाहेक १० लाखभन्दा रूपैयाँ भन्दा बढी रकमको कारोबारको पनि रिपोर्टिङ गर्छन्।
सो रिपोर्टिङ अनुसार यस वर्ष १० लाख रूपैयाँ भन्दा बढीको कारोबार संख्या थोरै घटेर १६ लाख ९७ हजार वटा भएको छ। आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार वटा भएको थियो।