अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्टका सबै कार्यक्रम रोक्न नपर्ने जानकारी गराएको छ।
यसअघि ९० दिनको पुनर्मूल्यांकन समय राखेर अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो।
एमसिसी कार्यान्वयन गर्ने निकाय एमसिए नेपालका अनुसार शुक्रबार मात्रै अमेरिकी सरकारले सबै काम रोक्न नपर्ने गरी पत्र पठाएको जानकारी गराएको छ।
एमसिए नेपालले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारद्वारा एमसिसी नेपाल कम्प्याक्टका केही कार्यक्रम अगाडि बढाउन अनुमति प्राप्त भएको जानकारी गराएको छ।
'अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ,' एमसिए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
तर, कुन कुन कार्यक्रम अघि बढ्ने र कुन कुन कार्यक्रम रोकिने भन्ने विषयमा स्पष्ट नखुलाइएको एमसिए नेपालका एक अधिकारीले बताएका छन्।
'के कार्यक्रम रोकिने र के कार्यक्रम गर्ने भन्ने विषयमा स्पष्ट भने गरिएको छैन,' एमसिए नेपालका एक अधिकारीले भने, 'सबै काम रोक्न पर्दैन भन्ने आशयको पत्र आएको छ। यस विषयमा हामीले अझै पर्याप्त छलफल गर्नुपर्ने हुन्छ। तर, पूनर्मूल्यांकनको निर्णय नआएसम्म नियमित काम अघि बढाउन उसले संकेत गरेको बुझेका छौँ,' ती अधिकारीले भने।
एमसिसीले जारी गरेको विज्ञप्तिमा भने खरिद कार्य र कार्यालय सञ्चालन सम्बन्धी काम पर्ने बताइएको छ।
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि एमसिसीका सवालमा अमेरिकी प्रशासनले दोस्रो पटक पत्र पठाएको हो।
फागुन २ गते अमेरिकी सरकारले इमेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेश भएको जानकारी गराएको थियो।
तर, एमसिए नेपालले अघिल्लो बिहीबार मात्रै सडक मर्मतसम्भार सम्बन्धी टेण्डर आह्वान गरेको थियो।
एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख गरिएको छ।
एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।
एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।