केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी होबिन्द्र बोगटीले अहिलेको भर्चुअल दुनियाँको कारण चुनौती थपिएको बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभको तेस्रो सत्र सुरक्षा चुनौती विषयक संवादमा बोल्दै उनले अहिले आइटीसँग नजिक भएका युवा पुस्ता अनलाइन स्क्याम र क्रिप्टो कारोबारमा संलग्न रहेको बताएका हुन्।
'केही समयअघि हामीले ठूलो अपरेसन गरेका थियौं। तीनजना युवाहरू थिए। उनीहरूले पैसा गन्न अल्छि लाग्छ भनेर घरमा मेसिन राखेका थिए। हामीले मेसिनसहित उनीहरूलाई पक्राउ गरेका थियौं,' उनले भने।
खासगरी १९ वर्षदेखि २२ वर्षका युवाहरू स्क्याममा र भर्चुअल करेन्सीमा लागेको पाइएको उनले बताए।
क्रिप्टो कारोबार वैधानिक छैन तर पनि त्यसमा युवाहरू किन आकर्षित भइरहेका छन् ध्यान दिनुपर्ने देखिएको उनले बताए।
'नेपाललाई आधार बनाएर काम भइरहेको छ। दुबई, भारत, बंगलादेश लगायत देशबाट हाम्रा युवाहरूको प्रयोग भइरहेको छ। उता जनशक्ति महँगो पर्ने यहाँ सस्तो शुल्कमा काम लगाउन सकिने हुँदा यस्तो देखिएको हो,' उनले भने।
उनका अनुसार ४५ दिनअघि सिआइबीले अपरेसन गर्दा ५३ जनालाई पक्राउ गरेको थियो। त्यसमा ४९ जना नेपाली र २ जना भारतीय थिए। चिनियाँ र फिलिपिनो एक/एक जना थिए।
आइटी बुझेका युवाहरू छिटो पैसा कमाउने मनसायले यसमा लागिरहेको उनले बताए।
'वास्तवमा बेरोजगारीको समस्याले पनि हुन सक्छ। यसको कानुनी दायरा के हो गर्न पाइन्छ, पाइँदैन भन्ने विषयको जानकारी हुन नसकेकाले पनि हाम्रा युवाहरू क्रिप्टोमा आबद्ध भएका हुन सक्छन्,' उनले भने।