नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का सिइओ निलेशमान प्रधानले नेपालकै आफ्नै नेसनल कार्ड छिट्टै आउने बताएका छन्।
सेतोपाटीले आयोजना गरेको 'फिनटेक कन्क्लेभ' अन्तर्गत 'डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर्स' विषयक दोस्रो सत्रमा बोल्दै उनले एनसिएचएलले नेसनल स्विचको काम समेत गरिरहेको जानकारी दिए।
'हामीले नेपालकै आफ्नै कार्ड ल्याउने र नेसनल स्विचको काम पनि गरिरहेका छौं,' प्रधानले भने।
उनका अनुसार एनसिएचएल मार्फत हाल साना कारोबारदेखि ठूला रियल टाइम कारोबारसम्म डिजिटल भुक्तानी सेवा प्रदान भइरहेको छ। अहिले वार्षिक १६० खर्ब रूपैयाँ बराबरको भुक्तानी तथा दैनिक २० देखि ३० अर्ब रूपैयाँको कारोबार भइरहेको उनले जानकारी गराए।
प्रधानले डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन राष्ट्रिय कार्ड प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
एनसिएचएलले अन्तर्देशीय विद्युतीय भुक्तानी कारोबारको लागि विभिन्न मुलुकसँग सहकार्य गरिरहेका प्रधानले जानकारी गराए।
'कतिपय मुलुकका नागरिकले यहाँ भुक्तानी गर्न सकिरहेका छन्। हामीले दोस्रो चरणमा कार्डमा आधारित पूर्वाधारमा काम गरिरहेका छौं। नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम लिएर आउँदैछौं,' उनले भने।
नेसनल कार्ड स्विचमा यसको कार्ड जारी गर्ने र कार्डबाट हुने भुक्तानी स्वीकार गर्ने प्रणाली दुवै यहाँकै संस्थाहरूको हुनेछ। '
उनले डोमेस्टिक कार्ड स्किम कार्ड स्विचको प्रणालीमा चल्ने र यस्तो कार्ड बैंक वा भुक्तानी सेवा प्रदायकलगायतले जारी गर्न तथा स्वीकार गर्न सक्ने गरेर बनाएको बताए।