प्रधानमन्त्री केपीशर्मा ओलीका आर्थिक/विकास सल्लाहकार डा.युवराज खतिवडाले नेपाल विकसित नहुँदै बुढ्यौली जनसंख्याको देश हुने खतरा भएको बताएका छन्।
सोमबार काठमाडौंमा सुरू भएको श्रम तथा रोजगार सम्मेलन २०८१ मा बोल्दै खतिवडाले बुढ्यौली हुनुभन्दा अगाडिको जनशक्ति सदुपयोग गरेर देशको विकासमा लगाउनुपर्ने बताए।
अहिले सिपयुक्त र शिक्षित जनशक्तिको उत्पादन भइरहेको र उनीहरूलाई देशमा टिकाउने वातावरण बनाउन आवश्यक रहेको औंल्याए।
'अहिले ८० प्रतिशतभन्दा धेरै विद्यार्थी साधारण शिक्षामा छन्। २० प्रतिशत प्राविधिक शिक्षामा छन्। यसले उत्पादकत्व वृद्धिमा ह्रास ल्याउने देखिन्छ। शिक्षालाई जीवन उपयोगी बनाउन सकिएन भने बेरोजगारी समस्या आउँछ,' उनले भने।
विद्यालयको शिक्षा प्रणालीमै सुधार गर्नुपर्ने उनले बताए।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केकालाई पनि देशमा बस्ने वातावरण बनाउनुपर्ने देखिएको उल्लेख गरे। फेरि फर्केर जानुपर्ने बाध्यताको अन्त्य गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
'अहिलेको अवस्थामा श्रमिकको पारिश्रमिक पनि समयसापेक्ष बनाउन आवश्यक छ,' उनले भने।